कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महराविरुद्ध थुनछेक बहस सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध आइतबारबाट जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको छ । थुनछेक आदेशले मुद्दाको किनारा नलागुन्जेल आरोपितलाई थुनामा राख्ने, धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा आदेश दिनेछ । जाहेरीदेखि बयान र प्रमाणको विश्लेषण गरी इजलासले आदेश दिनेछ ।

महराविरुद्ध थुनछेक बहस सुरु

महरासँगको बयान शुक्रबार सकिएको थियो । उनले जिल्ला अदालतका एक नम्बर न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा बयान दिएका थिए । महराले आफू नयाँ बानेश्वर २६ को कोठानजिकै गएको स्वीकारेको अदालत स्रोतले बताएको थियो । कोठाबाहिर गए पनि उनले कोठाभित्र नपसेको र पीडितलाई पनि नभेटेको दाबी गरेका थिए ।


साढे ७ वर्षको कैद मागदाबी गरिएको मुद्दामा अदालतले पुर्पक्ष थुनामा राख्ने आदेश दिन सक्छ । तर आरोपितविरुद्धको प्रमाण गम्भीर नभएमा अदालतले धरौटी वा साधारण तारेखमा समेत छाड्ने आदेश दिन सक्छ ।


निरन्तर सुनुवाइको निवेदन परेकाले थुनछेक आदेशलगत्तै मुद्दाको सुनुवाइसमेत हुन सक्नेछ । संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारी ‘नयाँ बानेश्वर २६’ (सरकारी वकिलको कार्यालयले राखेको कोड नाम) माथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।


जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साढे ७ वर्ष कैद मागदाबीसहित महराविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो ।

प्रकाशित : कार्तिक १७, २०७६ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?