२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

पुन: डायलाइसिस गराउन प्रधानमन्त्री आज ग्राण्डी जानसक्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रोपटक डायलाइसिस गर्नका लागि आइतबार धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लैजाने तयारी भएको छ । ग्राण्डी अस्पतालबाट बालुवाटार पुगेको चिकित्सकको टोली उनको रगतको परिक्षण गरेको र परीक्षणको रिपोर्ट आएपछि डायलाइसिस गर्न अस्पताल लगिनसक्ने स्रोतले बताएको छ ।

पुन: डायलाइसिस गराउन प्रधानमन्त्री आज ग्राण्डी जानसक्ने

प्रधानमन्त्री ओलीले हिजै सचिवालय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाका बारे जानकारी दिँदै फेरी पनि डायलाइसिस गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्री आफैंले अब उनीसँग प्रत्यारोपण र नियमित डायलाइसिस मध्ये एउटा गर्नुपर्ने अवस्था आइपरेको बताएका थिए ।


बिहीबार दिउँसो डायलासिस गरेपछि उनको डायलाइसिस भएको छैन । त्यसैले पनि आज उनलाई डायलाइसिस गर्नका लागि ग्राण्डी लाने सम्भावना रहेको स्रोतले बताएको छ । चिकित्सकहरुका अनुसार मिर्गौलाले काम गर्न छोडेको अवस्थामा मिर्गौला प्रत्यारोपण नगरेसम्म हप्ताको तीनपटक डायलाइसिस गर्नुपर्ने हुन्छ ।


प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आज प्रधानमन्त्रीकै आग्रहमा मन्त्रिपरिषद बैठकका साथै अन्य बैठकहरु पनि बालुवाटारमा नै बस्ने गरी बोलाइएको छ । तर, ओली डायलाइसिसका लागि अस्पताल जाने भएपछि सबै बैठक अनिश्चित भएका छन् ।

यद्यपि आइतबार बिहान ११ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक भने ओली अस्पतालबाट फर्केपछि बस्ने बताइएको छ ।

उनले हिजो नेकपाको सचिवालयको बैठकमा आफ्नो स्वास्थ्य अवस्था बारे अवगत गराएका थिए । सचिवालय बैठकमा उनले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका थिए ।

नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरासामु दुइटा विकल्प मात्रै छन्,’ सत्तारूढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘के गर्ने भन्नेबारे रिपोर्ट हेरिसकेपछि मात्रै भन्न सकिने अवस्था छ । फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन पनि सक्छ, हेरौं ।’ बैठकमा उनले मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जमेकाले ग्रान्डी अस्पतालमा गएर दुईपटक डायलाइसिस गराएको बताएका थिए।


डायलासिस गराउन ४ घण्टा लाग्ने भएकाले मन्त्रिपरिषद् बैठकपछि आजै दिउँसो बस्ने बताइएको छ । तर, त्यसको पूर्णरुपमा टुंगो लागिसकेको छैन । यस्तै आजै बस्ने भनिएको नेकपा सचिवालय बैठक पनि अनिश्चित भएको छ।


यसअघि कार्तिक १३ र १४ गते ग्राण्डीमा भर्ना नै भएर प्रधानमन्त्री ओलीको दुईपटक डायलाइसिस भइसकेको छ ।


१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले राम्ररी काम गर्न छाडेपछि प्रधानमन्त्री ओली गत साउन १८ गते उपचारका लागि सिंगापुर गएका थिए । नेसनल युनिभर्सिटी अस्पताल सिंगापुरमा एक साता बसेर फर्किएका उनले फेरि भदौमा सिंगापुर गएर करिब २ साता उपचार गराएका थिए । त्यतिखेर प्लाज्माफेरिसस पद्धतिबाट शरीरको एन्टीबडी नष्ट गरिएको थियो ।

प्रकाशित : कार्तिक १७, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?