‘एनआरसी नेपाली लक्षित होइन’- समाचार - कान्तिपुर समाचार

‘एनआरसी नेपाली लक्षित होइन’

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — नरेन्द्र मोदी सरकारका प्रभावशाली मन्त्री अमित शाहले पूर्वोत्तर राज्य आसाममा लागू गरिएको राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) दशकौंदेखि भारतमा बस्दै आएका नेपालीभाषीप्रति लक्षित नभएको बताएका छन् । गृहमन्त्री शाहले बिहीबार भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँगको भेटमा भारतमा नेपालीभाषी कानुनी रूपमै बस्न पाउने बताए । ‘एनआरसी नेपाली लक्षित होइन, चिन्ता गर्नुपर्दैन,’ उनले भने । 

भारतको गृह मन्त्रालयमा करिब आधा घन्टा शिष्टाचार भेटवार्ता भएको थियो । गत जेठमा मोदी सरकारमा गृह मन्त्रालय सम्हालेका शाहसँग राजदूत आचार्यको यो पहिलो औपचारिक भेट हो । राजदूत आचार्यले मन्त्री शाहसँग भारतमा रहेका नेपालीको सुरक्षा, एनआरसी र दुई देशबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको बताए । ‘एनआरसी, जम्मु–कश्मीरमा रहेका नेपालीको सुरक्षालगायतका विषयमा सकारात्मक छलफल भयो,’ राजदूत आचार्यले कान्तिपुरसँग भने । सार्वजनिक रूपमै एनआरसीको पूर्ण कार्यान्वयनको पैरवी गर्दै आएका मन्त्री शाहको उक्त भनाइले भारतमा रहेका नेपालीभाषीलाई थोरै भए पनि राहत दिएको छ । एनआरसीका कारण दशकौंदेखि भारतमा बस्दै आएका नेपाली मूलका नागरिकलाई चिन्तित बनाउँदै आएको थियो ।


गत ३१ अगस्टमा जारी गरिएको एनआरसीको अन्तिम सूचीमा करिब १९ लाख मानिस छुटेका थिए । आसामका वास्तविक भारतीय नागरिकको पहिचान गर्न एनआरसी लागू गरिएको हो । एनआरसीको प्रावधानमा कुनै पनि व्यक्ति वा उसको पुर्खा २४ मार्च १९७१ को मध्यरातभन्दा पछि आसाममा बसोबास गर्दै आएको भए विदेशी ठहिरने व्यवस्था छ । यही प्रावधानअन्तर्गत नै करिब १९ लाख आसामी एनआरसीमा नअटाएका हुन् । त्यसमध्ये करिब एक लाख नेपाली मूलका आसामी रहेको बताइएको छ । केन्द्र सरकारको निर्देशिकाले एनआरसीमा छुटेकालाई ‘फरेनर्स ट्रिब्युनल’ मा अपिल गर्ने मौका भने दिएको छ र उक्त ट्रिब्युनलको निर्णय भने अन्तिम हुने बताइएको छ ।


पछिल्लो समय एनआरसी क्रमश: राजनीतिक मुद्दा बन्दै गएकाले भारतका अन्य राज्यमा रहेका प्रवासी नेपालीले पनि चासो र चिन्ता व्यक्त गर्दै आएका छन् । उनीहरूले नेपाल सरकारका तर्फबाट दूतावासलाई एनआरसीका सम्बन्धमा भारतीय पक्षमा प्रस्ट धारणा माग्नसमेत अनुरोध गर्दै आएका थिए ।


राजदूत आचार्यले जम्मु–कश्मीर र भारतका अन्य भागमा रहेका नेपालीको सुरक्षाका सम्बन्धमा पनि शाहसमक्ष चासो व्यक्त गरेका थिए । भारतले ५ अगस्टमा जम्मु–कश्मीरले उपभोग गर्दै आएको संविधानको धारा ३७० र धारा ३५ (क) खारेज गरेयता त्यहाँको अवस्था अन्योलपूर्ण रहँदै आएको छ । जसले त्यहाँ रहेका नेपालीको सुरक्षालाई लिएर चासो र चिन्ता व्यक्त हुँदै आएको थियो । पछिल्लो समय जम्मु–कश्मीरमा भएका मुस्लिम लडाकुहरूबाट भएका हिंसात्मक आक्रमणपछि नेपालीको सुरक्षालाई लिएर चिन्ता थप बढाएको छ । जम्मु–कश्मीरमा रहेका नेपालीको संख्या यकिन नभए पनि भारतस्थित प्रवासी संगठनहरूले मौसमी मजदुरी गर्न आउनेलाई समेत हिसाब गर्दा करिब असी हजार हाराहारी रहेको दाबी गर्दै आएका छन् । राजदूत आचार्यसँगको भेटमा मन्त्री शाहले नेपालीको सुरक्षाका लागि भारत सरकारले कुनै कमी नगर्ने उल्लेख गर्दै कुनै घटना विशेष भए ध्यानाकर्षण गराउन आग्रह गरेका थिए ।

भेटमा आचार्य र शाह दुवैले उच्चस्तरको सम्पर्कलाई निरन्तरता दिनुपर्ने र त्यसबाट सम्बन्ध सुदृढ हुन मद्दत पुग्नुका साथै नेतृत्व तहमा विश्वास बढ्ने धारणासमेत राखेका थिए । राजदूत आचार्यले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीलाई यसअघि नै पठाइसकिएको नेपाल भ्रमणको औपचारिक निम्तोको स्मरणसमेत गराएका थिए ।

प्रकाशित : कार्तिक १७, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्

बिरामी छोरा भेट्न ऋण गरेर मलेसियाबाट

प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — गत भदौ दोस्रो सातातिरको कुरा हो । गोठमा बाख्रालाई घाँस हाल्दै गर्दा दिउँसो बर्दियाको राजापुर नगरपालिकास्थित फत्तेपुरकी गीता काफ्लेलाई छोरा शेखरको स्कुलबाट फोन आयो । छोरालाई आकस्मिक ज्वरो आएर क्लिनिक लगिएको रहेछ । हतारहतार गरी उनी छोरालाई राखिएको राजापुरस्थित डा. वैद्यनाथ झाको क्लिनिक पुगिन् । 

तत्कालै ज्वरो निको हुने छाँट देखिएन । लगातार ६ दिनसम्म क्लिनिकमै राखेर उपचार गराइन् । कम हुनुपर्नेमा ज्वरो झनै बल्झियो । गीताले अर्का स्थानीय डा. देवेन्द्र काफ्लेलाई छोराको रिपोर्ट देखाइन् । उनले गीतालाई नेपालगन्ज गइहाल्न सुझाए । सोहीअनुसार छोरा लिई गीता नेपालगन्ज मेडिकल कलेज गइन् । त्यहाँ जाँचबुझपछि मात्रै छोराको रोग पत्ता लाग्यो । डाक्टरहरूले ‘मिर्गौलामा समस्या देखिएको’ भन्दै छोरालाई काठमाडौं कि लखनऊ लैजान सुझाएपछि उनी झस्किइन् ।

‘लखनऊ जाने आँट थिएन, हामी काठमाडौं आयौं,’ भाइटीकाका दिन कीर्तिपुरमा भेटिएकी गीताले भनिन्, ‘त्यसपछि छोरो लिएर म सरासर काठमाडौंको ग्रान्डी अस्पताल पुगें ।’ १४ दिनसम्म ग्रान्डी बसेर छोराको उपचार गराइन् । छोराको डायलाइसिस गर्नुपर्ने भयो । हरेक पटक ३ हजार ९ सय तिरेर डायलाइसिस गर्नुपर्थ्यो । ‘सरकारले नि:शुल्क डायलाइसिस सुविधा हुन्छ त भनेको छ,’ गीताले भनिन्, ‘तर ग्रान्डीका कर्मचारीलाई जति पटक सोधे पनि सरकारी कोटा सकिसकेको बताउँथे ।’ तैपनि छोरा शेखर स्वस्थ हुन सकेनन् । डाक्टरले भनिदिए, ‘शेखरका दुवै मिर्गौला बिग्रिएका छन् ।’

यो विपत्तिमा शेखरका बाबु साथमा थिएनन् । रोजगारीका लागि मलेसिया पुगेका बाबु तत्काल घर फिर्न सक्ने अवस्था थिएन । यता उपचारका लागि ग्रान्डी अस्पतालमा उपचारका लागि ८ लाख रुपैयाँ खर्च भइसकेको थियो । ‘त्यसपछि नि:शुल्क डायलाइसिस गर्ने ठाउँ खोज्दै हामी सुमेरु अस्पताल, धापाखेल पुग्यौं,’ गीताले भनिन् । त्यहाँ पनि दुईपटक डायलाइसिस गरेपछि मात्रै नि:शुल्कको पालो आयो ।

छोरो गम्भीर बिरामी परेकोबारे गीताले मलेसियामा रहेका श्रीमान् बद्रीलाई खबर गरिसकेकी थिइन् । बद्रीले पनि छिट्टै छुट्टी मिलाएर आउँछु भनेका थिए । कम्पनीसँग छुट्टी पनि मागे । तर कम्पनीले ३ वर्षको सम्झौता नसकिएसम्म बिदा दिन नमिल्ने बतायो । बद्रीले हार मानेनन्, फेरि अनुरोध गरे । कम्पनी मालिकले नेपालबाट छोराको रिपोर्ट मगाएर हेर्न खोजे । रिपोर्ट हेरेपछि पनि ६ हजार रिंगिट धरौटी राखेर मात्रै कम्पनीले बिदा दियो । बद्रीको मासिक कमाइ १८ सय रिंगिट मात्रै थियो । अनेकतिरबाट ऋण गरेर ६ हजार रिंगिट धरौटी राखी उनी काठमाडौं आइपुगे । ‘आईसीयूमा रहेको छोराको अनुहार पनि देख्न पाउँदिनँ कि भनेर धेरै आत्तिएको थिएँ, बल्लतल्ल घर आएँ, अहिले कम्तीमा छोरासँग बस्न पाएको छु,’ बद्रीले भने ।

उनीहरूको परिवारमा आर्थिक एवं मानसिक संकट चुलिएको छ । एकातिर छोराका दुवै मिर्गौला फेर्नुपर्ने भएको छ । गीताको पनि पाठेघरमा समस्या देखिएको छ । ‘मैले छोरालाई मिर्गौला दिए उसको ज्यान बचाउन सकिएला । तर फेरि गरिखानु कसरी ?’ बद्रीले भने । ‘अहिलेसम्म छोराका लागि मिर्गौला दिने कोही भेटिएको छैन, अर्कोतिर आर्थिक समस्या छँदै छ,’ उनी भन्छन् । डाक्टरले शेखरको बाँकी उपचारका लागि २० लाख रुपैयाँ जम्मा गर्नुस् भनेका रहेछन् । तर उपाय केही छैन ।

उनीहरूसँग साथमा भएको सबै पैसा सकिएको छ । जग्गाजमिन बेचौं भने पनि उनीहरूसँग भएको सात कट्ठा जग्गा र त्यसमा बनेको घरको त्यति मूल्य आउँदैन । साथमा त्यही घरमा ओत लाग्ने परिवारका अरू सदस्य पनि त छन् । घरमा तीन छोरी छन् । साथै हजुरआमाले वृद्धभत्ताबापत पाएर जोगाएको १ लाख रुपैयाँ पनि नातिकै उपचारका लागि दिएकी छन् । ‘अब छोराको जीवन बचाउन सबै हितैषीसँग हात थाप्नुपर्ने भएको छ,’ आमा गीता र बाबु बद्रीले एक स्वरमा भने ।

प्रकाशित : कार्तिक १७, २०७६ ०८:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×