२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

‘अरूका लागि लड्छौं, आफ्नै समस्या लुकाउँछौं’

रूपा गहतराज

(नेपालगन्ज) — मुस्लिम महिलाका क्षेत्रमा वकालत गर्दै आएकी रुबी खानको धेरैले प्रशंसा गर्छन् तर उनकै परिवार उनको कामबाट खुसी छैन । उनी रातविरात हिँड्दा परिवार चिन्तामा पर्छ । आफ्नै परिवार र समुदायमा लामो संघर्ष गरेर उनले अधिकारकर्मीको परिचय बनाएकी छन् । 

मुस्लिम महिलाका अधिकारका कुरा उठाएकै कारण आफ्नै समाजबाट त्रास र आक्रमण खेप्नुपरेको रुबीको भनाइ छ । उनी मुस्लिम महिला समाजकी केन्द्रीय सदस्य हुन् । अन्यायमा परेका महिलालाई न्याय दिलाउन हिँडेका अधिकारकर्मी महिला आफैं हिंसामा पर्दै आएको रुबीले बताइन् । ‘पीडितको न्यायका लागि लड्दा पीडकबाट अधिकारकर्मी नै असुरक्षित हुनुपरेको छ,’ उनले भनिन्, ‘अन्यायमा परेकालाई न्याय दिन सजिलो छैन ।’ कतिपय घटनामा प्रहरी प्रशासन नै संवेदनशील नहुँदा हिंसामा परेकाहरूले न्याय नपाएको उनको भनाइ छ ।


खजुरा गाउँपालिका, सीतापुर एलगाउँकी ४० वर्षीया सीता विकलाई पनि सामुदायिक संस्थामा नेतृत्व गर्न सहज थिएन । घरपरिवारको दबाबबीच निरन्तर अघि बढेर अहिले आफ्नो छुट्टै परिचय बनाएकी छन् । ‘गाउँमा आएका सानादेखि ठूला विवाद आफैं मिलाउनुपर्छ,’ उनले भनिन्, ‘गाली र ताली दुवै खानुपर्छ ।’ बिहानदेखि साँझसम्म घरबाहिर रहनुपर्ने र कामअनुसार आम्दानी नहुँदा परिवारमा समस्या उत्पन्न हुने गरेको उनको भोगाइ छ ।


एकल महिलाका पक्षमा वकालत गर्दै आएकी मानव अधिकारका लागि एकल महिला समूहकी केन्द्रीय उपाध्यक्ष शोभा बीसीलाई पनि आफ्नै परिवारमा संघर्ष गर्नुपरेको छ । कुनै बेला उनलाई परिवारले घरमै बस्न दबाब दिएको थियो । ‘परिवारकै विश्वास जित्न धेरै समय लाग्यो,’ उनले भनिन्, ‘परिवारले घरमै बस्न भने पनि ससुराको मप्रतिको विश्वासले घरबाहिर निस्कन पाएँ र एकल महिलाको अधिकारका लागि लड्दै छु ।’ उनका अनुसार समाजमा अधिकारकर्मी भनेर परिचित भए पनि घरमा दोहोरो जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था छ । अधिकारकर्मी सपना भट्टराईले महिला भएर समाजसेवी बन्नु निकै चुनौतीपूर्ण भएको अनुभव सुनाइन् । ‘पहिला घर, आमा, श्रीमतीको जिम्मेवारी पूरा गर्नुपर्छ । अनि मात्र अन्य महिलाको न्यायका लागि हिँड्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘घरको सम्पूर्ण काम सकेर निस्किनुपर्छ । यति गर्दा पनि कहिलेकाहीँ भनाइ खानुपर्छ ।’


राझाकी उषा भण्डारी राजनीतिकर्मी हुन् । हिंसामा परेका महिलाको पक्षमा वकालत र बहस पनि गर्छिन् तर त्यही हिंसा आफूमाथि आइपरे निरूपण गर्न अप्ठ्यारो हुने उनले बताइन् । ‘अरूका हिंसा सुन्छौं,’ उनले भनिन्, ‘तर आफूलाई परेको हिंसा कसैलाई भन्न सक्दैनौं ।’ अधिकार र न्यायका लागि कामले नपुगेर अरूको विश्वाससमेत जित्नुपर्ने अवस्था रहेको उनले सुनाइन् ।


मैमुना सिद्दिकी भारतको उत्तरप्रदेश, गोरखपुरबाट २८ वर्षअघि नेपालगन्जमा बुहारी भएर भित्रिएकी थिइन् । पुर्ख्यौली घर दाङ भए पनि नयाँ समाजसँग घुलमिल हुन उनलाई त्यति सहज भने थिएन । महिलामाथि विभेद, असमानता कायम रहेको समाजमा उनलाई भने परिवारले सधैं अगाडि बढ्न सहयोग गरिरह्यो । नेपालगन्ज उपमहानगरपालिका–३, एकलैनीमा बस्ने उनी मुस्लिम महिला अधिकारबारे वकालत गर्दै अहिले समुदायकै अगुवा बनेकी छन् । समाजशास्त्रमा बीएड र उर्दूमा एमए उत्तीर्ण मैमुनालाई पारिवारिक र आर्थिक अवस्थाका कारण काम गर्नुपर्ने बाध्यता र रहर दुवै थियो । छोरी–बुहारीलाई घरबाहिर निस्कन नदिने समाजमा उनले पनि केही समय सासूका अगाडि पाइला चाल्न सकिनन् । तर बिस्तारै सामाजिक अभियानमा जोडिँदै घरपरिवारको विश्वास जित्दै गइन् । ‘पहिला त महिला, त्यसमाथि मुस्लिम, समाजलाई सम्झाउन र सुधार्न निकै गाह्रो भयो,’ उनले भनिन्, ‘त्यसैले मैले समुदायका धर्मगुरुलाई नै अगाडि सार्नुपर्‍यो ।’ मुस्लिम समुदायमा धर्मगुरुले नै प्रवचन दिएपछि चेतनास्तर उकासिएको उनको अनुभव छ ।


महिला रक्षक सञ्जालकी अध्यक्ष तथा पत्रकार अक्षरी पोखरेल महिला आफैं सचेत हुने भएकाले अधिकारकर्मीहरू हिंसामा कम पर्ने बताउँछिन् । ‘समाज सेवामा हिँड्ने महिलाले पुरुषको तुलनामा धेरै समस्या भोग्नुपर्छ नै,’ उनले भनिन्, ‘आफ्ना समस्या बाहिर भन्दा इज्जत जान्छ भन्ने संस्कार अझै छ ।’ त्यसले पनि अधिकारका क्षेत्रमा क्रियाशील महिलालाई अप्ठ्यारो रहेको उनले बताइन् ।



प्रकाशित : कार्तिक १७, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?