पुल तर्न शुल्क

कञ्चनपुर र कैलालीका विभिन्न नदी र घाटमा वर्षामा डुंगाबाट ओहोरदोहोर गर्नुपर्छ । हिउँदमा साइकल, मोटरसाइकल र पैदल यात्रीका लागि काठको अस्थायी पुल बनाइन्छ । ती पुलबाट वारपार गर्दा १० देखि ३० रूपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ ।
भवानी भट्ट, गणेश चौधरी

(कञ्चनपुर) र (टीकापुर) — पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको कृष्णपुर नगरपालिकाको बाणीदेखि लालझाडी गाउँपालिकाको देखतभुलीसम्म कालोपत्रे सडक छ । कालोपत्रे सकिनेबित्तिक्कै दोदा नदी आउँछ । दोंदापारि रहेको लालझाडी गाउँपालिकाकै जाइँसम्म जान ३० रुपैयाँ तिर्नुपर्छ । नदीमा निर्माण गरिएको काठे पुल प्रयोग गरेबापत उक्त रकम तिर्नुपरेको हो । 

पुल तर्न शुल्क

काठे पुलमा पैदल यात्रु र साना सवारी मात्रै जान्छन् । पैदल यात्रुले पैसा तिर्नुपर्दैन । मोटरसाइकलको ३० र साइकलको १० देखि २० रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ । त्यसले दिनभर ओहोरदोहोर गर्न सकिन्छ । दोस्रो दिन यात्रा गर्नुपरे पुन: पैसा तिर्नुपर्छ । ‘काठे पुल पनि हिउँदमा मात्रै हो, बर्खामा त नाकाबन्दी लागे जस्तै हुन्छ,’ लालझाडी गाउँपालिका २ कसुवाका मोलसिंह रानाले भने, ‘काठे पुल बनेपछि नदी तर्न केही सजिलो भएको छ ।’ उक्त काठे पुल इटाहा बाबा मन्दिर सहयोग समिति लालझाडी जाइँले बनाएको हो । पैसा उठाउन कर्मचारी पनि राखिएको छ ।


देखतभुली र जाइँ जोड्न दोदा नदीमा पुल निर्माणाधीन छ । तर निर्माणमा भइरहेको ढिलाइका कारण यहांका स्थानीय काठे पुलकै भर पर्न बाध्य भएका हुन् । देखतभुलीमा मात्रै होइन, लालझाडीको नन्द गाउँ र बल्मीको बीचमा पनि काठे पुलकै भर छ । यहाँ पनि साइकलको २० र मोटरसाइकलको ३० रुपैयाँ शुल्क लिने गरिएको छ ।


बल्मी र नन्द गाउँ जोड्न पनि दोदा नदीमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । त्यसमा पनि उल्लेख्य प्रगति भएको छैन, जसकारण स्थानीयले काठे पुलकै भर पर्नुपर्ने बाध्यता छ । असोज अन्तिमदेखि जेठसम्म उनीहरूले नदी तर्न काठे पुलको भर पर्नुपर्छ । त्यसपछि काठे पुल पनि बाढीले बगाउँछ । आवतजावत ठप्प हुन्छ ।


लालझाडी गाउँपालिकामा ४ ठाउँमा काठे पुलको सहारामा नदी तर्नुपर्ने बाध्यता छ । यी दुई ठाउँबाहेक नन्दगाउँ र पर्सियाको बीचमा पनि काठे पुल बनाइएको छ । बेलौरी नगरपालिका ५ को भुकन्डा र लालझाडी गाउँपालिकाको कञ्ज जोड्न पनि काठे पुल निर्माण गरिएको छ । उक्त ठाउँमा पनि पक्की पुल निर्माणाधीन अवस्थामै छ । तर निर्माण कम्पनीले तीन वर्षदेखि निर्माण अघि बढाएको छैन ।


केही ठाउँमा व्यक्तिगत र कतिपय ठाउँमा सामूहिक रूपमा काठे पुल निर्माण गरिएको छ । एउटा पुल बनाउन २५ हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । ती पुलबाट दैनिक २०/२५ मोटरसाइकल र त्यतिकै संख्यामा साइकल आउजाउ गर्ने गरेका छन् । ‘१२ हजार खर्च गरेर बाँसको पुल बनाएँ, अहिले दैनिक ३/४ सय रुपैयाँ कमाइ भएको छ,’ नन्द गाउँ बल्मी जोडन दोदा नदीमा काठे पुल निर्माण गरेका स्थानीय चेतराम रानाले भने, ‘माघ/फागुनमा दिनमा ७/८ सय रुपैयाँसम्म आम्दानी हुन्छ ।’


बर्खाका बेला लालझाडीका बासिन्दाले आउजाउ गर्ने एउटै माध्यम कञ्ज र बेलौरी नगरपालिकाको रामनगर जोड्ने झोलुंगे पुल हो । तर गाउँपालिकाको माथिल्लो भेगका बासिन्दाका लागि यो पुलको यात्रा निकै घुमाउरो हुन्छ । बर्खामा काठे पुल बगाएपछि स्थानीयले एक/डेढ घण्टा समय लाग्ने भए पनि झोलुंगे पुलबाट यात्रा गरिरहेका छन् ।


काठे पुलकै भर

कैलालीको भजनी नगरपालिकाको कन्द्रा नदीका विभिन्न घाटमा वर्षामा डुंगाबाट ओहोरदोहोर गर्नुपर्छ । हिउँदमा साइकल, मोटरसाइकल र पैदल यात्रीका लागि काठको अस्थायी पुल बनाइएको छ । ती पुल तर्न यात्रुले पैसा तिर्नुपर्छ ।


स–साना काठका फल्याक ओछ्याइएको पुलमा यात्रुले वारपार गर्दा साइकलको १० रुपैयाँ र मोटरसाइकलको २० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । हिउँदमा पानी घटेपछि अस्थायी पुल बनाएर यात्रुलाई वारपारको सुविधा दिइएको छ । वर्षभरिका लागि घाट ठेक्का दिइएकाले ठेकेदार आफैंले पुल बनाएर रकम उठाउँदै आएका छन् ।


भजनी नगरपालिकाको वडा नम्बर ५ र ७ का बासिन्दा यही अस्थायी पुलबाट हिउँदमा केन्द्रसँग जोडिएका छन् । ‘वर्षभरिका लागि घाट ठेक्का दिइएको छ । ठेकेदारले नै पुल बनाएर यात्रु ओहोरदोहोरको व्यवस्था गरेका हुन्,’ वडा नम्बर ५ का अध्यक्ष केशव बुढाले भने ।


डुंगा तार्दा पनि श्रम एवं डुंगामा लगानी हुने र बिग्रेभत्केको अवस्थामा पनि ठेकेदारले नै बनाउने भएकाले पुल वारपार गर्न रकम संकलन गरिएको उनले बताए । ‘ठेकेदार नबस्ने हो भने बनाएको पुल पनि लैजान बेर लाउँदैनन् मान्छेहरू । पुलको संरक्षणका पनि त्यहाँ कोही बस्न जरुरी छ,’ उनले भने ।


भजनी नगरपालिकामा रहेको कन्द्रा नदीमा ठाउँ–ठाउँमा पुल आवश्यक छ । सबै ठाउँमा एकै पटक बनाउन बजेटका कारण सम्भव छैन । त्यसैले सहज होस् भनेर झोलुंगे पुल बनाउने योजना रहेको उनले बताए ।


भजनी नगरपालिकाका ५, ७ र ९ मा बर्खाका बेला गाडी नजाने भएकाले यहाँका बासिन्दालाई उपचारका लागि अस्पताल जान पनि अप्ठ्यारो रहेको वडाध्यक्ष बुढाले बताए । ‘सिरियस बिरामीलाई अस्पताल पुर्‍याउन निकै धौधौ छ ।’ कन्द्रा नदीका कारण भजनी नगरपालिकाको यी ३ वटा वडा नगरका अरू वडासित सम्पर्क विच्छेदको अवस्थामा छन् ।


प्रकाशित : कार्तिक १७, २०७६ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?