सातै प्रदेशमा ‘फरक’ विद्यालय

गणेश राई

काठमाडौँ — अपांगता भएका बालबालिकाका लागि सातै प्रदेशमा विशेष आवासीय विद्यालय बन्ने भएका छन् । नमुना भवन बनाउन शिक्षा मन्त्रालयले झापाको सरस्वती मावि, धनुषाको सार्वजनिक मावि, काभ्रेको आदर्श बाल विकास, गोरखाको मनकामना बहिरा मावि, दाङको बाल मन्दिर आधारभूत विद्यालय, सुर्खेतको सिद्ध बहिरा विद्यालय र कैलालीको राष्ट्रिय माविलाई छानेको छ । 

अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ले परिभाषा गरेका १० किसिमका अपांगता भएका व्यक्तिलाई लक्षित गरी यस्ता विद्यालय बनाउन लागिएको हो । विद्यालय बनेपछि शारीरिक अपांगताका साथै हेराइ, बोलाइ, सुनाइसम्बन्धी समस्या भएका बालबालिकाले पनि सहज अध्ययनको अवसर पाउने छन् । मानसिक वा मनोसामाजिक, बौद्धिक अपांगता, अनुवंशीय रक्तस्राव (हेमोफिलिया), अटिज्मसम्बन्धी र बहुअपांगता भएकाहरूका लागि पनि उपयुक्त हुने गरी विद्यालय बनाइने छन् ।

विद्यालयले बनाएको गुरुयोजना स्थानीय तहबाट स्वीकृत भएपछि यो कार्यक्रम सुरु हुनेछ । छनोटमा परेका विद्यालयलाई सरकारले अघिल्लो वर्ष एक/एक करोड रुपैयाँ दिएको छ भने यो वर्ष पनि त्यति नै विनियोजन गरेको छ । स्थानीय नगरपालिका र गाउँपालिकाको समन्वयमा अत्याधुनिक भवन बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण प्रक्रिया अघि बढेको छ । कम्तीमा ७ करोड रुपैयाँ लागतको भवन निर्माण हुनेछ ।

प्रत्येक विद्यालयले दुई सय विद्यार्थीका निम्ति आवास (छात्रावास), पढ्ने विद्यालय भवन बनाउनुपर्नेछ । न्यूनतम १० कोठाको दुईतले भवन हुनेछ । त्यसका अतिरिक्त चार ब्लक रहनेछन् । ती ब्लकमा परामर्श कक्ष, डार्क रुम (अँध्यारो कक्ष), साउन्ड प्रुफ रुम (आवाज नसुनिने कक्ष) समेत रहनेछन् ।

प्रदेश–१ स्थित झापाको दमकमा रहेको सरस्वती माविमा हाल साधारण, प्राविधिक र विशेष किसिमको पठनपाठन हुँदै आएको छ । बाल कक्षादेखि १२ कक्षासम्म पढाइने यो विद्यालयमा १७ जना दृष्टिविहीनसहित १ हजार २ सय ६५ जना पढ्छन् । प्रधानाध्यापक गणेशकुमार पौडेलका अनुसार केन्द्रबाट एक करोड रुपैयाँ बजेट विद्यालयको खातामा आइसकेको छ ।

प्रदेश–२ मा पर्ने धनुषाको मिथिला नगरपालिका–९ बेगाडाबरस्थित सार्वजनिक नमुना माविअन्तर्गत विशेष शिक्षा भवनको केही महिनाअघि शिलान्यास भइसकेको छ । ‘शिक्षा मन्त्रालयबाट प्रशिक्षण लिइसके पनि कार्यविधि पाइसकेका छैनौं,’ दुई करोड रुपैयाँ बजेट विद्यालयको नाममा निकासा भएको उल्लेख गर्दै प्रधानाध्यापक विश्वनाथ महतोले भने, ‘डीपीआर बनेपछि भवन निर्माण प्रक्रिया अघि बढाउँछौं ।’

प्रदेश–३ स्थित काभ्रेको बनेपा नगरपालिका–९ मा रहेको आदर्श बाल विकासमा बौद्धिक अपांगता, शारीरिक, बहिरा, दृष्टि समस्या, डाउन सिन्ड्रोम भएका ४२ विद्यार्थी आवासीय रूपमा नियमित पढ्छन् । प्रधानाध्यापक मैया वैद्यका अनुसार १६ जना परामर्श र दुई जना गृहभेट कार्यक्रमअन्तर्गत छन् । ‘शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशनअनुसार भौतिक निर्माणमा अघि बढ्छौं,’ प्रधानाध्यापक वैद्यले भनिन् ।

गण्डकी प्रदेशको गोरखामा रहेको मनकामना माविमा आवासीय सुविधासहित ११९ बहिरा विद्यार्थी अध्ययनरत छन् । एक करोड बजेट विद्यालय खातामा आइसकेको र नगरपालिकाले मूल्यांकन गरेपछि डीपीआर बन्ने विद्यालयले जनाएको छ । दाङको बाल मन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीले प्रदेश–५ कै नमुना विशेष विद्यालय बताउने गुरुयोजना बन्दै गरेको बताए । ‘नक्सा निर्माणका निम्ति इन्जिनियरलाई जिम्मा दिएका छौं,’ उनले भने, ‘नक्सा बनेलगत्तै नगरपालिकासँग स्विकृति लिएर टेन्डर प्रक्रिया अघि बढाउनेछौं ।’

साधारण र विशेष गरी २ सय ११ विद्यार्थीमध्ये २४ जना बौद्धिक अपांगता भएका विद्यार्थी आवासीय सुविधासहित अध्ययनरत छन् ।

कर्णाली प्रदेशको वीरेन्द्रनगर नगरपालिका–८ खजुरास्थित सिद्ध बहिरा विद्यालयमा कक्षा ८ सम्म पठनपाठन हुँदै आएको छ । प्रधानाध्यापक चन्द्रबहादुर कार्कीका अनुसार यहाँ १६ जिल्लाका ८५ विद्यार्थी आवासीय सुविधासहित पढ्दै आएका छन् ।

सुदूपश्चिम प्रदेशको कैलालीस्थित घोडाघोडी नगरपालिका–१ को राष्ट्रिय माविमा साधारण र विशेष पठनपाठन हुँदै आएको छ । यहाँ सुस्त मनस्थितिका २२ जनासहित एक हजार चार सय विद्यार्थी कक्षा १२ सम्म पढ्छन् । नगरपालिकाले विशेष चासो राखेकाले अब चाँडै नयाँ संरचनाको डीपीआर तयार गर्ने प्रधानाध्यापक रामछबिला चौधरीले बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साबिक शिक्षा विभाग) ले विशेष विद्यालय निर्माणको संयोजन गर्दै आएको छ । ‘मन्त्रालयको नीतिअनुसार विशेष विद्यालय निर्माण कार्यको प्राज्ञिक र भौतिक योजना विद्यालय व्यवस्थापन समितिले गर्नुपर्छ,’ सबै विद्यालयलाई दुई करोड रुपैयाँ बजेट उपलब्ध गराएको उल्लेख गर्दै केन्द्रका समावेशी शिक्षा शाखाका निर्देशक टंकप्रसाद गौतमले भने, ‘कार्य जिम्मेवारीबारे प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय सरकार प्रमुखलगायतलाई बुझाउनुपर्ने परिस्थिति आएकाले केही ढिलाइ भएको छ ।’

अपांगतामैत्री भौतिक संरचना निर्माण, आवासीय सुविधासहितको शैक्षिक प्रवर्द्धन कार्ययोजना नयाँ अवधारणा हो । यसअघि मन्त्रालयले विद्यालयको भौतिक पूर्वाधार निर्माणका निम्ति भवनको नक्सा, लागत रकम उपलब्ध गराउँथ्यो । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ मा ‘विशेष शिक्षा’ भन्नाले दृष्टिविहीन, बहिरा, अटिज्म, बौद्धिक अपांगता, सुस्त श्रवण वा अति अशक्त शारीरिक अपांगता भएका वा यस्तै प्रकृतिका अवस्थाका बालबालिकालाई छुट्टै समूहमा राखी विशेष प्रकार र निश्चित माध्यमबाट दिइने शिक्षा सम्झनुपर्छ भनिएको छ ।

प्रकाशित : कार्तिक १७, २०७६ ०७:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फरर चिनियाँ भाषा

गणेश राई

‘सी एए हाओ । ज्यान दाउ निन् जन गाउ सिङ् ।’ (सी हजुरबुवा नमस्ते । हजुरसँग भेट्न पाउँदा धेरै खुसी लाग्यो ।)ओमन आई निन् ।(हामी तपाईंलाई माया गर्छौं ।)सेसे निन् लाय निबोआर ।(धन्यवाद छ, नेपाल आउनुभएकोमा ।)

मीठो बोली सुनेर चिनियाँ राष्ट्रपति सी चिनपिङ टक्क अडिए र बालबालिकातर्फ फर्किएर दायाँ हात हल्लाए । अनि चिनियाँ भाषामै भने, ‘तिमीहरूलाई भेटेर खुसी लाग्यो ।’
रातो कार्पेट ओछ्याइएको बाटोको बायाँतर्फ लहरै बालबालिका उभिएका थिए । नेपालको राष्ट्रिय पोसाक पहिरिएका उनीहरूले नेपाली र चिनियाँ राष्ट्रिय झन्डा फहराइरहेका थिए । नेपालको दुईदिने भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी फर्कंदा अघिल्लो आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा चिनियाँ भाषा बोल्न सक्ने ६९ जना बालबालिका पनि सहभागी थिए । अघिल्लो दिन पनि यी बालबालिकाले उसैगरी चिनियाँ भाषामा राष्ट्रपति सीलाई स्वागत गरेका थिए । त्यस क्रममा पनि निकै प्रफुल्लित देखिएका राष्ट्रपति सीले बालबालिकातर्फ हेरेर हाँस्दै हात हल्लाएका थिए ।
चिनियाँ राष्ट्रपतिको स्वागत र बिदाइमा काठमाडौं उपत्यकाका धेरै विद्यालयका हजारौं विद्यार्थी सहभागी भएका थिए । विमानस्थलदेखि सोल्टी होटलसम्म सडक दायाँ–बायाँ उभिएर झन्डा फहराएका थिए । नाचेका थिए, गाएका थिए । विमानस्थलको विशिष्ट कक्ष बाहिरचाहिँ चिनियाँ भाषा बोल्न सक्ने केही विद्यार्थीले नजिकबाट स्वागत र बिदाइ गर्ने मौका पाएका थिए, जो एलआरआई एजुकेसन फाउन्डेसनका विद्यार्थी थिए । पछिल्ला दिनमा एलआरआईलगायत विभिन्न विद्यालयले चिनियाँ भाषा पढाइरहेका छन् । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार नेपालका करिब ५० वटा निजी विद्यालयले चिनियाँ भाषा ऐच्छिक विषयका रूपमा पढाइरहेका छन् । चिनियाँ दूतावासमार्फत् ८६ जनालाई चिनियाँ भाषा पढाउन परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।


‘चीनका राष्ट्रपतिको स्वागत र बिदाइ समारोह सहभागी हुन पाउँदाको क्षण अविस्मरणीय रह्यो,’ एलआरआई कक्षा ५ का कृशभ पन्तले भने, ‘हामी साना बालबालिका भएर पनि त्यत्ति ठूलो देशको प्रमुख मान्छेलाई उहाँकै भाषामा तपार्इंलाई हामी सधैं सम्झिरहन्छौं भन्न पायौं ।’ उनीजस्तै कक्षा ६ की आश्ना भण्डारी, कक्षा ८ का कौस्तुभ पन्त, कक्षा ११ की रेनुका ढकालले पनि राष्ट्रपति सीलाई छेउमै पुगेर स्वागत र बिदाइ गर्ने अवसर पाएकामा खुसी लागेको बताए । एलआरआई एजुकेसन फाउन्डेसनका अध्यक्ष शिवराज पन्तका अनुसार शिक्षा मन्त्रालयले नै चिनियाँ भाषा सिकेका विद्यार्थी खटाउन अनुरोध गरेको थियो । ‘हामीले अवसर चुकाएनौं, ६९ विद्यार्थीलाई पठायौं,’ उनले भने ।
पछिल्ला दिनमा चिनियाँ भाषा सिक्न चाहने विद्यार्थी संख्या पनि बढ्दै गएको छ । एपेक्स लाइफ स्कुल कक्षा २ मा पढिरहेका स्तुत्य ढुंगेल, प्रियांशी पौड्याल, मिगिन राना मगर, जेचन तामाङलगायतले चिनियाँ भाषा सिक्न थालेको भर्खर पाँच महिना पुग्दै छ । तर उनीहरू सहजै भन्न सक्छन्– ‘निहाउ (नमस्कार) १ सेसे (धन्यवाद) १ बुकेकी (तपाईंलाई स्वागत छ) १’ छोटो अवधिमा नै यी कलिला बालबालिकाले यस्ता झन्डै सयवटा जति औपचारिक शब्द जानिसकेका छन् । चिनियाँ जनजीवन र संस्कृति परम्पराका भिडियो हेरेका छन् । चिनियाँले नयाँ वर्षमा नाच्ने ड्रागन नाच नाचेका छन् ।
कक्षाकोठामा पुग्दा चिनियाँ शिक्षिकाद्वय ली र मेई मेई भेटिए, जो बालबालिकालाई आलोपालो अभ्यास गराइरहेका थिए । उनीहरू दुई वर्षदेखि नेपालमा छन् । ‘दुई कक्षाका बालबालिका ६ वर्ष उमेरका हुन्छन्,’ लीले भनिन्, ‘दैनिक व्यवहारमा प्रयोग हुने शब्द सिक्छन् । चिनियाँ सभ्यतामा अभिवादन गर्न सिक्छन् । चिनियाँ संस्कृतिबारे पनि जानकारी लिइरहेका छन् ।’ यहाँ कक्षा २ देखि ७ कक्षासम्मका बालकालिकालाई चिनियाँ भाषा पढाइँदै आएको छ । सात कक्षाका बालबालिका फरर बोल्छन् । ‘मैले तीन वर्षदेखि चाइनिज भाषा पढ्दै आएकी छु,’ कक्षा ७ की कनिष्का खतिवडा भन्छिन्, ‘घरमा नेपाली, स्कुलमा इंग्लिस, चाइनिज र संस्कृत भाषा सिकिरहेका छौं । चाइनिज बोल्न सजिलो, लेख्न गाह्रो छ । सिक्नेको चासोमा भर पर्छ ।’


सात कक्षाकै जागृति पन्थीले चाइनिज सिकेको सातै वर्ष भयो । ‘सुरुमा त्यति चासो हुन्नथ्यो,’ उनी सम्झिन्छिन्, ‘म्यामले पपकर्न दिएर अभ्यास गराउनुहुन्थ्यो, अब त ठूला मान्छेसँग पनि बोल्न सक्छु । थोरै लेख्न पनि आउँछ । तर अक्षर लेख्नचाहिँ निक्कै गाह्रो छ ।’ कक्षा ६ की प्रशन्न्या राई सानैमा हजुरबुवा र आमासँग चीन घुम्न गएकाले भाषा सिक्न बढी चासो लिएको बताउँछिन् । ‘संसारकै भाषाहरूमध्ये चाइनिज बोल्ने सबैभन्दा धेरै छन् रे,’ उनले भनिन्, ‘त्यसैले यो भाषा महत्त्वपूर्ण लागेको छ ।’ प्रशन्न्याकै साथी दीपिका खड्काको उस्तै भनाइ छ । ‘चाइनिज धेरैले बोल्छन्, त्यसैले सिक्नुपर्छ भनेर बाबा र ममीले हौसला दिनुहुन्छ,’ उनले भनिन् । प्रिन्सिपल सुवास न्यौपानेका अनुसार एपेक्स स्कुलमा सातामा दुई पिरियड चिनियाँ भाषा सिकाइन्छ ।
कलंकीस्थित एलआरआई स्कुलमा सबैभन्दा व्यवस्थित रूपमा चिनियाँ भाषा सिकाइन्छ । ‘कम्फुसियस क्लास रूम’ समेत छ । नेपालबाट चिनियाँ भाषाका अनलाइन परीक्षासमेत यही ‘कम्फुसियस क्लास रूम’ मा लिइने एलआरआई एजुकेसन फाउन्डेसनका अध्यक्ष पन्तले बताए ।
एउटा कक्षा ७० मिनेटको हुन्छ । त्यसैले पढ्ने बालबालिकाले प्रशस्त सिक्न पाउँछन् । अभ्यास गर्न सक्छन् । कक्षा ३ देखि चाइनिज अक्षर लेख्न सिकाइन्छ । अल्फाबेटहरू चिनाइन्छ । नयाँ विद्यार्थीलाई बानी पार्ने कोसिस गरिन्छ । विगतका कक्षा दोहोर्‍याइन्छ । कसैलाई किताब दिइँदैन । ह्वाइटबोर्डमा लेखेर देखाउने काम हुन्छ । ‘ए–फोर साइज’ को पेपरमा वर्कसिट गराइन्छ । दुई महिनाअघि चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्दा मन्त्री वाङ र नेपाल सरकारबीच ‘स्वयंसेवक भाषा (चिनियाँ) शिक्षक’ उपलब्ध गराउने समझदारी भएको छ । अब सरकारी विद्यालयमा समेत ऐच्छिक विषयका रूपमा चिनियाँ भाषा पढाइ हुनेछ । भर्खरै राष्ट्रपति सीको राजकीय भ्रमणका बेला चीनको ‘कन्फ्युसियस हेडक्वार्टर’ को समन्वयमा त्रिभुवन विश्वविद्यालयमा ‘कन्फ्युसियस इन्स्टिच्युट’ स्थापना गर्ने सम्झौता भएको छ ।


चीनको नियमअनुसार स्नातक हासिल गरेका युवाले तीन वर्ष स्वयंसेवक भएर खटिनुपर्छ । त्यसो हुँदा कुनै पनि क्षेत्रमा सेवा प्रवेश गर्न सजिलो हुन्छ । नेपालमा चिनियाँ भाषा पढाउनका निम्ति त्यस्ता युवालाई खटाइँदै आएको छ ।
नेपालस्थित चिनियाँ राजदूतावास मातहत रहेर उनीहरू स्वयंसेवक शिक्षकका रूपमा खटिने गरेका छन् ।

प्रकाशित : कार्तिक ३, २०७६ १०:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT