बंगलादेशका राष्ट्रपति कात्तिक २६ मा आउने

कान्तिपुर संवाददाता

काठमाडौँ — बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चारदिने भ्रमणका लागि कात्तिक २६ मा नेपाल आउने भएका छन् । बंगलादेशको उच्च कूटनीतिक स्रोतबाट प्राप्त जानकारीअनुसार भ्रमणको मिति तय भइसके पनि दुवै देशले सार्वजनिक गरेका छैनन् ।

बंगलादेशका राष्ट्रपति कात्तिक २६ मा आउने

हमिदको भ्रमणबारे सबैभन्दा पहिले बंगलादेशका विदेश सचिव साहिदुल हगले कात्तिक ९ मा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । बंगलादेशको अंग्रेजी दैनिक ‘द डेली स्टार’ का अनुसार विदेश सचिव हगले केही समयअघि अजरबैजानको बाकुमा सम्पन्न असंलग्न अभियानको १८ औं शिखर सम्मेलनलगत्तै गरिएको पत्रकार सम्मेलनमा हमिदले नेपाल भ्रमण गर्ने जानकारी दिएका हुन् ।


हमिदको नेपाल भ्रमणक्रममा दुई पक्षबीच बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) बीच हुने भनिएको मोटर भेहिकल सम्झौता र ऊर्जा व्यापार सम्झौता (पीटीए) हुने सम्भावना छ ।


सचिव हगले राष्ट्रपति हमिदको नेपाल भ्रमणका दौरान ती विषयमा सकारात्मक छलफल हुने बताएका छन् । उनले बीबीआईएनअन्तर्गत रहेर हुने भनिएको मोटर भेहिकल सम्झौताबाट भुटान पछि हटे पनि बाँकी तीन देश मिलेर अघि बढ्न सकिने बताएका थिए ।


नेपाल–भारत–भुटान र बंगलादेशबीच सीधा बस सेवा सञ्चालन गर्ने भनिए पनि भुटानले नमानेकाले हालसम्म उक्त काम अघि बढ्न सकेको छैन । अहिले नेपाल र भारतबीच मात्र सिधा बस सेवा सञ्चालनमा छ ।

प्रकाशित : कार्तिक १६, २०७६ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?