१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

उपनिर्वाचन : प्रमुख दलहरू उम्मेदवार छनोटमा व्यस्त

नेकपा, कांग्रेस र समाजवादीले आइतबार टुंगो लगाउने
कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारूढ नेकपा र समाजवादी तथा प्रमुख प्रतिपक्षी कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको टुंगो आइतबार लगाउने तयारी गरेका छन् । राजपाले भने दुई–तीन दिनभित्र उम्मेदवार टुंगो लगाउने जनाएको छ ।

उपनिर्वाचन : प्रमुख दलहरू उम्मेदवार छनोटमा व्यस्त

नेकपा सचिवालयको शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे मात्रै चर्चा भएकाले उम्मेदवारबारे छलफल गर्न आइतबार बैठक बोलाइएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले मातहतका पार्टी कमिटीबाट सिफारिस भएर आएका सम्भावित उम्मेदवारको सूची अध्ययन भइरहेको बताए । उनका अनुसार शनिबार प्रधानमन्त्रीको अनुपस्थितिमा केहीबेर उम्मेदवार सिफारिसबारे नेताहरूबीच सामान्य छलफल मात्रै भएको थियो ।


बैठकमा प्रधानमन्त्री ओली एक घण्टा ढिलो सहभागी भएका थिए । उनी एक घण्टा बसेर बैठकबाट निस्केका थिए ।


‘क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीले गरेका सिफारिसबारे अध्ययन भइरहेको छ,’ बैठकपछि सञ्चारकर्मीसँग श्रेष्ठले भने, ‘आज (शनिबार) समय अभावले निर्णय हुन सकेन । आइतबारको बैठकबाट उम्मेदवार टुंगो लगाउनेछौं ।’ सचिवालय बैठकले कास्कीको प्रतिनिधिसभा, बागलुङ, दाङ र भक्तपुरको प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्नेछ ।


कांग्रेसले आइतबारै उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ । उम्मेदवार छनोटका लागि केन्द्रीय कार्यसमिति बैठकले पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरिसकेको छ । पदाधिकारी बैठक शनिबारै बस्ने भनिए पनि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितका नेता राजधानीबाहिर रहेकाले हुन नसकेको कांग्रेसले जनाएको छ ।


आइतबार बिहानदेखि पदाधिकारी बैठक बसेर उम्मेदवार टुंगो लगाउने तयारी भइरहेको जानकारी एक नेताले दिए । बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार टुंगो लगाउनेछ । स्थानीय तहको निर्वाचनका लागि भने क्षेत्रीय कमिटीले उम्मेदवार तय गरिसकेका छन् ।


उम्मेदवार छनोट गर्नकै लागि समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको बैठक आइतबार बिहान बस्दै छ । प्रचार विभाग प्रमुख प्रशान्त सिंहका अनुसार पार्टीका तल्ला निकायले गरेको सिफारिसका आधारमा केन्द्रीय कार्यकारिणी बैठकले निर्णय लिनेछ । ‘भोलि (आइतबार) नै निर्णय हुने सम्भावना छ,’ उनले भने, ‘त्यसका लागि बिहान ८ बजेदेखि बैठक बस्दै छ ।’


राजपाको भने तल्ला तहबाट सूची आउनै बाँकी छ । राजपा महासचिव केशव झाले पार्टीका नेता तथा कार्यकर्ता छठ पर्वमा व्यस्त भएकाले तल्ला तहबाट उम्मेदवारको सूची आउन ढिलाइ भएको बताए । राजपाले यसअघि कात्तिक १३ सम्म उम्मेदवार सिफारिस गरी पठाउन परिपत्र गरेको थियो । ‘दुई/तीन दिनमै उम्मेदवार छनोट गर्छौं,’ उनले भने । अध्यक्षमण्डलको बैठक कात्तिक १९ गते बस्ने राजपाले जनाएको छ ।

प्रकाशित : कार्तिक १६, २०७६ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?