स्वास्थ्य चौकीमै सुत्केरीको मृत्यु- समाचार - कान्तिपुर समाचार

स्वास्थ्य चौकीमै सुत्केरीको मृत्यु

संगीता तिमिल्सेना 

बाजुरा — त्रिवेणी नगरपालिकास्थित छतारा स्वास्थ्य चौकीमा एक जना सुत्केरीको ज्यान गएको छ । सुत्केरी भएको ६ घण्टापछि छतारा स्वास्थ्य चौकीमा ३७ वर्षीया रेजीया नेपालीको मृत्यु भएको स्वास्थ्यकर्मी सुमित्रा पाध्यायले बताइन् ।

प्रतिकात्मक तस्बिर ।

त्रिवेणी नगरपालिका १ छतारा विशाल बजार बस्ने रेजीया नेपाली चौथो सन्तान जन्माउन स्वास्थ्य चौकी पुगेकी थिइन् । सन्तान पाएको ६ घण्टापछि बेहोस भएर मृत्यु भएको पाध्यायको भनाई छ ।


‘रेजीयाले घरबाट स्वास्थ्य संस्था ल्याएको २ मिनेटमै बच्चा जन्माएकी थिइन् । अवस्था सामान्य नै थियो । ११ बजेर २ मिनेटमा स्टेचरमा राखेर आफन्तले स्वास्थ्य चौकी पुर्‍याएका हुन् । बेडमा लिन नपाउँदै बच्चा जन्माएकी थिइन् । साढे चार बजेसम्म अवस्था राम्रै थियो, बिहान ५ बजेपछि एकाएक बेहोस भएर ज्यान गएको हो’ स्वास्थ्यकर्मी पाध्यायले भनिन् ।


जिल्लाबाट यस अघि ५ जना सुत्केरीको हेलिकप्टरबाटै उद्दार गरेर ज्यान बचाइएको थियो । नियमित स्वास्थ्य जाँच नगर्ने र स्वास्थ्यकर्मीको परामर्श नलिने गरेकै कारण जिल्लामा सुत्केरीले अकालमै ज्यान गुमाउन बाध्य छन् ।


स्वास्थ्य संस्था नजिक नहुँदा र सबै ठाउँसम्म सडकको पहुँच नहुँदा पनि नियमित गर्भजाँच र सुत्केरी गराउन समस्या हुने गरेको छ ।

प्रकाशित : कार्तिक १६, २०७६ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्

२५ औँ जलवायु सम्मेलन म्याड्रिडमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — जलवायु परिवर्तनसम्बन्धि राष्ट्रसंघीय सम्मेलन (कोप २५) स्पेनको राजधानी म्याड्रिडमा हुने भएको छ । चिली सरकारले विसम परिस्थितीका कारण आफूले सान्टियागोमा सम्मेलन गर्न नसक्ने घोषणा गरेपछि राष्ट्रसंघीय जलवायु परिवर्तनसम्वन्धि खाका महासन्धि (यूएनएफसीसीसी) सचिवालयको ब्युरो बैठकले स्पेनमा गर्ने निर्णय गरेको हो । 

यूएनएफसीसीसीकी कार्यकारी सचिव प्याट्रीसिया स्पीनोसाले कोप २५ मंसिर १६ देखि २७ (डिसेम्बर २–१३) सम्म स्पेनको राजधानी म्याड्रिडमा हुने निर्णय भएको उल्लेख गरेकी छन् । ‘सम्मेलन म्याड्रिडमा आयोजना गर्ने ब्युरोको बैठकले निर्णय गरेको छ’ कार्यकारी सचिवलले ट्वीट गरेकी छन्, ‘यो घोषणा गर्न पाएकामा खुसी छौं ।’ यूएनएफसीसीसीमा विश्वका १९७ पक्ष मुलुक छन् । नेपालमा वन तथा वातावरण मन्त्रालय फोकल मन्त्रालय हो ।

उक्त सम्मेलन आयोजना गर्न पाएकोमा स्पेनले पनि खुसी व्यक्त गरेको छ । स्पेनकी ‘इकोलोजी ट्रान्जिक्सन’मन्त्री टेरेसा रिबेराले पनि सम्मेलन आयोजना गर्न पाउनुलाई अवसरका रुपमा लिएको भन्दै ट्वीट गरेकी छन् । सम्मेलनमा विश्वका २ सय देशबाट राष्ट्र प्रमुख, मन्त्री, सरकारी प्रतिनिधि, जलवायु परिवर्तनका जानकार, संचारकर्मी र सरोकारवाला गरी २५ हजार भन्दा बढी सहभागी हुनेछन् ।

दक्षिण अमेरिकी मुलुक चिलीले कोप २५ को सम्पूर्ण तयारी गरिसकेपनि मुलुकमा केही दिनदेखि जारी आन्दोलनका कारण आफू उक्त सम्मेलन गर्न असमर्थ रहेको त्यहाँका राष्ट्रपति सेबस्तेन पिनेराले घोषणा गरेका थिए ।

जलवायुसम्बन्धि राष्ट्रसंघीय सम्मेलन हरेक वर्षको डिसेम्बरमा हुँदै आएको छ । गत वर्ष पोल्याण्डमा भएको २४ औं सम्मेलनले चिलीमा २५ औं सम्मेलन गर्ने घोषणा गरेको थियो ।

यो पनि पढ्नुहोस्:

प्रकाशित : कार्तिक १६, २०७६ १५:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×