१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

झस्किरहन्छन् द्वन्द्वपीडित

‘दाउरा काटेर ज्यान पाल्ने गरिब किसानलाई मारेर कसले के पायो खै ? गोली हान्नेलाई कारबाही भए मृतकको आत्माले शान्ति पाउँथ्यो ।’
दुर्गालाल केसी

(दाङ) — चौरजहारी नगरपालिका–११ खोलागाउँ रुकुम पश्चिमका गोपालप्रसाद शर्माका दुवै आँखा बन्द छन् । खोलागाउँ गाविसका अध्यक्ष भइसकेका शर्माका आँखा २०५५ साउन ११ गतेसम्म ठीक थिए । त्यस दिन राति आएको तत्कालीन विद्रोही माओवादीको समूहले उनलाई मरणासन्न हुने गरी पिट्यो र अन्त्यमा आँखामा तेजाब हालिदियो । त्यसपछि उनले संसार देख्न छाडे ।

झस्किरहन्छन् द्वन्द्वपीडित

कांग्रेसका तत्कालीन महासमिति सदस्य तथा खोलागाउँका पूर्वगाविस अध्यक्ष भएका कारण उनलाई माओवादीले आक्रमण गरेका थिए । शर्मा बेहोस भएर लडेपछि माओवादीहरू घरबाहिर बम पड्काएर भागे । उनलाई भोलिपल्ट जहाजबाट काठमाडौं शिक्षण अस्पताल लगियो । ‘सात दिनपछि होस आउँदा म छाँगाबाट खसेझैं भएँ । मैले कतै केही देखिनँ । सबैतिर अन्धकार थियो,’ उनले भने, ‘नौ महिना उपचार गर्दा पनि आँखाको ज्योति नआउने पक्का भयो । त्यसपछि मलाई सबथोक सकिए जस्तो लाग्यो ।’


द्वन्द्वकालमा गाउँ जाने अवस्था भएन । उनले बाँकेको कोहलपुरमा विस्थापित जीवन बिताए । अहिले पनि १ हजार ७ सय वर्गमिटर जग्गा कब्जामा रहेको शर्मा बताउँछन् । उनी अहिले कहिले कोहलपुर, कहिले रुकुम घुमफिर गर्छन् । श्रीमती विष्णु शर्मा उनको सहारा भएकी छन् । ‘आफैं हिँड्डुल गर्न सक्ने अवस्था छैन । मैले हात समाएर हिँडाइरहेकी छु,’ विष्णुले भनिन्, ‘२१ वर्षदेखि यसैगरी जीवन चलेको छ । केही गल्तीबिना यत्रो सजाय भोग्नुपर्‍यो ।’


सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी दिए पनि त्यसमा केही सुनुवाइ हुन नसकेकामा शर्मा दु:खी छन् । ‘हामीलाई खेलौना बनाइयो । अहिलेसम्म हाम्रो आवाज कसैले सुनेको छैन । हामीले आँखा गुमायौं, यातना भोग्यौं, घरबारविहीन भयौं,’ उनले भने, ‘तर हामीलाई न्याय दिन कोही तयार भएन । हाम्रो समस्या बुझिदिने कोही भएन । अहिले दैनिक जीवन चलाउनसमेत समस्या छ ।’


सल्यान, कालिमाटीका भूपेन्द्र खत्री बैसाखीको सहारामा हिँड्डुल गर्छन् । उनको बायाँ खुट्टा घुँडादेखि तलतिर छैन । २०५८ माघ १६ गते राति सुतिरहेका बेला माओवादी आए, उनलाई उठाए, श्रीमतीलाई घरको थाममा बाँधे अनि खत्रीलाई लिएर गए । आधा किलोमिटर टाढा पुगेपछि उनलाई सुताए । खुट्टामुनि ढुंगा राखे अनि माथिबाट फलामको घनले थिचे । त्यसपछि उनको बायाँ खुट्टा काट्नुपर्‍यो । कांग्रेसका तर्फबाट कालीमाटी गाविसका पूर्वअध्यक्ष भएका कारण उनलाई कारबाही गरिएको थियो ।


अहिलेसम्म उनलाई त्यो घटनाको घाउ दुखिरहन्छ । ‘निजी खर्चमा खुट्टाको उपचार गरियो । काठमाडौंको बीएन्डबी अस्पतालमा बसेर उपचार गर्दा लाखौं रुपैयाँ खर्च भयो । तर कसैले हेरेन,’ उनले भने, ‘हामी गाउँघरमा दु:ख गरी बसिरहेका निर्दोष मानिसलाई यत्रो सजाय दिइयो । हाम्रो जीवन बर्बाद भयो तर कुनै पनि सरकारले हाम्रो समस्या सुन्न चाहेन ।’ घटना पुरानो हुँदै गए पनि घाउ बल्झिइरहने गरेको उनले बताए । ‘युद्धको घाउ कहिल्यै निको हुँदैन । बेलाबेला बल्झिरहन्छ,’ खत्रीले भने, ‘हामीलाई अपांग बनाउने दोषीलाई कारबाही नहुँदासम्म मनले शान्ति पाउँदैन ।’


दाङको तुलसीपुर उपमहानगरपालिका–१५ पहरूवाका बलसुन्द्रा चौधरी विगतको घटना सम्झिँदा पनि विक्षिप्त हुन्छन् । ०५९ भदौ २१ गते दिउँसो थारू परम्पराअनुसार गुरुवाको पूजा गरिरहेका बेला सेना आएर नौ जना थारू किसानलाई पक्रियो । सबैलाई बाटोभरि यातना दिँदै लगियो । त्यही क्रममा उनलाई मरणासन्न हुने गरी पिटियो । मर्‍यो भनेर बाटोमै फालियो । ‘पछि होसमा आउँदा हातखुट्टा लागिरहेका थिएनन् । जीउ थर्थरी काँपेको थियो,’ उनले भने, ‘बल्लबल्ल उठेर गाउँसम्म गएँ अनि गाउँमा सुरक्षा नभएपछि भारततिर पसेँ । लामो समयसम्म घर फर्कन सकिनँ ।’


उनीसँगै लगिएका अन्य आठ जना अझै पनि बेपत्ता सूचीमा छन् । उनलाई त्यो घटनाले अहिले पनि तर्साउँछ । घटना सम्झेर बेचैन हुन्छन् । ‘त्यो दिन सम्झियो भने हातखुट्टा लाग्न छोड्छन् । केही कामै गर्न मन लाग्दैन,’ उनले भने, ‘अहिले पनि डर लाग्छ । अरू साथीलाई कसरी कता लगियो होला भन्ने लाग्छ । उनीहरूका घरपरिवार पनि ठूलो पीडामा छन् ।’ खेतीकिसानी गरेर जीविका चलाइरहेका थारू किसानलाई एक ठाउँमा जम्मा भएको भनेर बेपत्ता बनाइएको उनले बताए । ‘हामी आफ्नो संस्कारअनुसार पूजा गरिरहेका थियौं । कुनै अपराध गरेका थिएनौं,’ उनले भने, ‘बिनाकारण हामीलाई समातियो । असह्य यातना दिइयो ।

बेपत्ता पारियो ।’


दाङको दंगीशरण गाउँपालिकास्थित कौवाघारीका छविलाल सार्कीको पीडा पनि हृदयविदारक छ । २०५९ साउन १६ गते बिहान ७ बजेतिर कौवाघारी गाउँका १३ जना सार्की दाजुभाइ हलो, जुवा काट्न खुकुरी, बन्चरो बोकेर दक्षिणपट्टिको राजाकोट जंगलतिर उकालो लागेका थिए । केही उकालो चढेर डाँडामा थकाइ मारिरहेका बेला राजाकोटमा रहेको नेपाली सेनाले चारैतिरबाट घेरा हाल्यो । माओवादी आरोपमा सबैलाई पक्राउ गरी सैनिक क्याम्पमा लग्यो । केहीबेर राखिसकेपछि ५० मिटर ओरालो झारेर लाइन लगाइयो, कपडा खोल्न लगाइयो र गोली हान्ने तयारी भयो । उनी आत्तिएर भीरबाट हाम्फाले । चारैतिर गोली बर्सियो तर पनि उनी भाग्यले बाँचे । अरू १२ जनाको एउटै चिहान भयो ।


त्यसपछि उनी घर बस्न सकेनन् । भारततिर लागे । शान्ति प्रक्रियापछि २०६३ सालमा मात्र उनी घर फर्के । ‘घर बस्न मन लागेन । पुरानो घटनाले झनै सतायो । फेरि भारतमै फर्कें,’ उनले भने, ‘चार वर्ष बसेर मात्र घर फर्कें । गाउँ बस्दा झनै डर लाग्थ्यो । घरमा मनै बसेन ।’ श्रीमती र छोराछोरीले धेरै अनुरोध गरेपछि मात्र उनी घर बस्न थाले । ‘अहिले पनि घटना सम्झिँदा तर्सिन्छु,’ उनले भने, ‘हामी दाउरा काटेर ज्यान पाल्ने गरिब किसानलाई मारेर सरकारले के पायो होला गोली हान्नेलाई कारबाही भए मर्नेको आत्माले शान्ति पाउँथ्यो ।’


जिल्लामा सेनाबाट माओवादीको नाममा सामूहिक रूपमा सर्वसाधारण मारिएका यस्ता धेरै घटना छन् । घोराहीको बेलुवामा ९, तुलसीपुरको फूलबारीमा ६, दंगीशरणको गोल्टाकुरीमा १२ र तुलसीपुरको पहरूवामा आठ जना एकसाथ मारिएका छन् । उनीहरूको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले समेत अध्ययन गरी निर्दोष मारिएको निष्कर्ष निकालिसकेको छ । इन्सेकको तथ्यांकअनुसार द्वन्द्वकालमा राप्तीका पाँच जिल्लामा राज्यबाट १ हजार ६ सय ८ र माओवादीबाट १ सय ६१ जना सर्वसाधारणको हत्या भएको छ । यसैगरी देशभरिबाट ८ हजार २ सय ५८ र माओवादीबाट २ हजार ६ सय ३४ सर्वसाधारणको हत्या भएको छ ।


प्रकाशित : कार्तिक १६, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?