कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

शुल्क विवाद : मेडिकल विद्यार्थी आन्दोलित

भैरहवाको युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले शुक्रबारबाट धर्ना सुरू गरेका छन् भने चितवन मेडिकल कलेजका विद्यार्थीले माग पूरा नभए पुन: आन्दोलन चर्काउने बताएका छन्
चितवनले गत वर्षको शुल्क मात्रै समायोजन गर्ने

(भैरहवा) र (चितवन) — विद्यार्थीसँग लिने गरिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका ६ बुँदे माग राख्दै यहाँस्थित युनिभर्सल साइन्सेस अफ मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । माग सम्बोधन गर्नेतर्फ कलेज प्रशासनले चासो नदेखाएकाले आन्दोलनमा उत्रिनुपरेको उनीहरूले बताएका छन् । कलेज प्रशासनले भने विद्यार्थीले माग प्रक्रियागत ढंगले ल्याउन नमानेको र अन्य मेडिकल कलेजका विद्यार्थी जम्मा गरेर आन्दोलनमा उत्रिएको आरोप लगाएको छ ।

शुल्क विवाद : मेडिकल विद्यार्थी आन्दोलित

‘हामीले आफ्ना मागसहितको ज्ञापनपत्र प्रक्रियागत ढंगबाट बुझाउन खोज्दा कलेज प्र्रशासनले बेवास्ता गर्‍यो,’ आन्दोलनरत एक विद्यार्थीले भने, ‘प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएर आएका विद्यार्थीलाई कलेज प्रशासनले मूल गेट बन्द गरेर रातभर बाहिर बस्न बाध्य बनायो ।’ कलेजले ज्ञापनपत्र बुझ्न नमानेकाले प्रजिअलाई बुझाउनुपरेको ती विद्यार्थीले बताए ।


विद्यार्थीले माग पूरा नभए त्रिभुवन विश्वविद्यालयको बुधबारबाट सुरु हुने सम्पूर्ण परीक्षा र शैक्षिक कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन् । उनीहरू शुक्रबारबाट कलेजको मूल गेटअगाडि धर्नामा बसेका छन् । शान्तिपूर्ण धर्नामा रहेकामाथि कलेज प्रशासनले दमन गरेको उनीहरूले बताएका छन् ।


त्रिभुवन विश्वविद्यालयले उपत्यकाबाहिरका मेडिकल कलेजका लागि तोकेको शुल्कभन्दा अतिरिक्त वार्षिक तीन लाखका दरले पाँच वर्षको १५ लाख रुपैयाँ लिँदै आएको र मन्त्रिपरिषद्ले खारेज गरिसके पनि कलेजले फिर्ता गर्न नमानेको आरोप विद्यार्थीको छ ।


परीक्षा शुल्कमा तोकिएभन्दा अतिरिक्त १० हजारसम्म बढी लिने गरिएको र अन्य शुल्क पनि निर्धारण गरिएको भन्दा तीन–चार गुणा बढी लिने गरिएकाले खारेज गरिनुपर्ने, सबै विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको मापदण्डबमोजिमको वार्षिक परीक्षामा समावेश गराइनुपर्ने, मापदण्ड नपुगेका विद्यार्थीलाई पुन: परीक्षाको अवसर दिइनुपर्ने, इन्टर्नसिपमा रहेका विद्यार्थीको पारिश्रमिक वृद्धि गरिनुपर्ने र आन्दोलनलाई आधार बनाएर कलेज प्रशासनले कसैलाई कुनै किसिमको त्रास तथा मानसिक यातना दिन नपाइनेलगायत माग विद्यार्थीले राखेका छन् ।


कलेज प्रशासनले भने अतिरिक्त शुल्क समायोजन तथा फिर्ताको समस्या एउटा कलेजमा मात्रै नभएर मुलुकभरका मेडिकल कलेजको समस्या भएको र त्रिभुवन विश्वविद्यालय तथा सरकारले कायम गरेको मापदण्डलाई कार्यान्वयन गर्न तयार रहेको जनाएको छ ।


त्रिवि मातहतका चितवन र गण्डकी मेडिकल कलेजका बीडीएस र एमबीबीएस प्रथम वर्षका विद्यार्थीले परीक्षा दिन नपाउने भएपछि युनिभर्सलका विद्यार्थीलाई उक्साएर आन्दोलन गराएको दाबी कलेज प्रशासनको छ । कलेजका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार पीएसले आन्दोलनरत विद्यार्थीलाई वार्तामा आउन र ज्ञापनपत्र बुझाउन प्रक्रियागत रूपमा बोलाउँदा विद्यार्थीले नमानेको दाबी गरे । बुधबारदेखि सुरु हुने परीक्षा कुनै हालतमा नरोक्ने जानकारी दिँदै उनले यसबारेमा त्रिभुवन विश्वविद्यालयले अवलम्बन गर्ने नीतिलाई कलेजले कार्यान्वयन गर्ने जनाए ।


सीएमसीले समायोजन गर्ने

चितवन मेडिकल कलेज (सीएमसी) ले स्नातक तह पहिलो वर्षका विद्यार्थीको गत वर्षको मात्रै शुल्क समायोजन गर्ने भएको छ । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन चर्काएपछि कलेज प्रशासनले आगामी शैक्षिक सत्रमा समायोजन गर्ने जनाएको हो ।


सरकारले उपत्यकाबाहिरका मेडिकल कलेजले एमबीबीएसको शुल्क ४२ लाख ४५ हजार रुपैयाँ तोकेको छ । त्योभन्दा ६ लाख रुपैयाँ बढी लिएको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिश न्यौपानेले स्वीकार गरेका छन् । ६ लाखमा अन्य शुल्कहरू कटाएर बाँकी रहने रकम मात्रै समायोजन गर्ने उनले बताए । ‘६ लाख रुपैयाँमा त्रिवि रजिस्ट्रेसन शुल्क पाँच सय, चिकित्सा शिक्षा अध्ययन संस्थानलाई बुझाउनुपर्ने परीक्षा शुल्क २५ सय, नेपाल मेडिकल काउन्सिल दर्ता शुल्क, संस्थागत शुल्क, कम्युनिटी शुल्क, इन्टर्नसिप शुल्क, आन्तरिक परीक्षा शुल्क, छात्राबास शुल्क र खाना शुल्क कटाइने छ,’ भरतपुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उक्त शुल्कहरू कटाउँदा दुई लाख रुपैयाँजति बाँकी रहन्छ, त्यही समायोजन गर्ने हो ।’


शैक्षिक सत्र ०७५/७६ मा स्नातक तहमा भर्ना भएका विद्यार्थीको मात्रै शुल्क समायोजन गर्ने उनले प्रस्ट पारे । ‘अघिल्ला ब्याचहरूको टीयूले लेखेकै अनुसार शुल्क लिएको हुँदा फिर्ता वा समायोजनको कुरा आउँदैन, यो ब्याचमा लिन पाउने शीर्षकहरूको शुल्कको रकम कटाएर अरू रकम आउँदो सत्रको शुल्कमा समायोजन गर्छौं,’ उनले भने ।


आन्दोलनरत विद्यार्थी, अभिभावक र कलेज सञ्चालकबीच असोज ४ गते जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा बढी लिएको शुल्क कात्तिक १८ भित्र फिर्ता वा समायोजन गर्ने सहमति भएको थियो । चितवन जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा पहिलादेखिकै विद्यार्थीको शुल्क फिर्ता गर्ने कुरामा सहमति नभएको उनले बताए । समायोजनको विषय अहिले कलेजले एकतर्फी घोषणा गरेको हो । यसमा विद्यार्थीको पनि सहमति लिइने न्यौपानेको भनाइ छ । विद्यार्थीलाई कुनै तनाव नदिई पढाइ जारी राख्न आफूहरूले तदारुकता देखाएको उनले बताए ।


आन्दोलनरत विद्यार्थी भने कलेज प्रशासनको यो घोषणामा सहमत छैनन् । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले भने, ‘हामीले स्नातक तहका पहिलो र दोस्रो वर्षका विद्यार्थीबाट लिएको शुल्क समायोजन हुनुपर्ने, तेस्रो र चौथो वर्षका विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता हुनुपर्ने माग राखेका हौं । यो मागमा अडिग छौं ।’


वार्तापछि भएको सहमतिअनुसार शुल्क फिर्ता वा समायोजन गर्दा क–कसलाई कति गर्ने भनेर प्रतिवेदन दिन समिति गठन भएको थियो । समितिको प्रतिवेदन तयार भएकै छैन । त्यसैगरी सहमतिपश्चात् तत्काल पठनपाठन सुरु गर्ने भनिए पनि विद्यार्थीले पालना नगरेको र कात्तिक २० गते हुने परीक्षाका लागि कात्तिक ८ भित्र फारम भर्नुपर्नेमा नभरेको आरोप डा. न्यौपानेले लगाए ।


संघर्ष समितिका संयोजक चन्दले विद्यार्थीको माग पूरा गर्न कलेज प्रशासनले आलटाल गरेकाले फेरि आन्दोलन चर्काउने बताए । अघिल्लो पटक झन्डै एक महिना विद्यार्थीले आन्दोलन गरेपछि असोज ४ गते वार्ता भएर सहमति भएको थियो ।


कलेज सञ्चालकले ६ लाख रुपैयाँसम्म बढी शुल्क लिएको स्वीकार गरे पनि विद्यार्थीले अघिल्ला वर्षहरूको समेत जोड्दा १२ देखि २० लाख रुपैयाँसम्म बढी शुल्क लिएको बताउँदै आएका छन् ।


प्रकाशित : कार्तिक १६, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?