कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

उपकुलपतिमा ७० भन्दा बढीको आवेदन

६ विश्वविद्यालयमा पदाधिकारीका लागि विभिन्न माध्यमबाट दर्ता भएका आवेदनको विवरण संकलन हुँदै 

(काठमाडौं) र (सुर्खेत) — ६ विश्वविद्यालयमा उपकुलपतिसहित पदाधिकारी नियुक्तिका लागि आवेदन दिने म्याद सकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कात्तिक ७ मा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्यको आवेदन मागेको थियो । शुक्रबार म्याद सकिएलगत्तै उपकुलपतिको नाम सिफारिस समिति बैठकले आवेदन रुजु गर्ने निर्णय गरेको छ । विभिन्न माध्यमबाट आवेदन दर्ता भएकाले विवरण संकलन भइनसकेको मन्त्रालयको उच्चशिक्षा शाखाका सहसचिव रामशरण सापकोटाले जानकारी दिए । 

उपकुलपतिमा ७० भन्दा बढीको आवेदन

‘कतिपय आवेदन इमेलबाट आएका छन्, कतिपय मन्त्रालय, मन्त्री, सचिव र महाशाखाको सचिवालयमा दर्ता भएका छन्,’ उनले भने, ‘संकलन गरेर रुजु गर्दै छौं ।’ ६ विश्वविद्यालयमा ७० भन्दा बढीले उपकुलपति बन्न इच्छा देखाएको मन्त्रालयले जनाएको छ । एकै जनाले ६ वटै विश्वविद्यालयको उपकुलपति बन्न आवेदनसमेत दर्ता गराएको स्रोतले बतायो । सुरुमा उपकुलपति नियुक्तिको चर्चामा रहेका कतिपय व्यक्तिले आवेदन दिएका थिएनन् । शिक्षामन्त्रीको सचिवालय र मन्त्रालयका उच्च अधिकारीको आग्रहमा उनीहरूले समेत अन्तिम समयमा निवेदन दिएको स्रोतले जनाएको छ ।


आवेदन दिने म्याद सकिएकाले निवदेन संकलन सुरु भएको सिफारिस समितिकी सदस्य उषा झाले जानकारी दिइन् । ‘निवेदन संकलनसँगै योग्यताको परीक्षण गरेर अघि बढ्छौं,’ उनले भनिन् । सर्च कमिटीले आवेदकका कागजातमाथि अध्ययन गरेपछि उनीहरूको सूची सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ । उपकुलपति नियुक्ति गर्न सम्भावित उम्मेदवारको सूची तयार भएपछि तिनैमध्ये एकलाई नियुक्ति दिइने कमिटीले जनाएको छ । विश्वविद्यालयपिच्छे छुट्टाछुट्टै सूची तयार पार्ने तयारी गरिएको हो ।


मन्त्रालयले पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्यका लागि कात्तिक ७ गते आवेदन दिन आह्वान गरेको थियो । त्यस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि पनि आवेदन माग गरिएको थियो । यी ३ विश्वविद्यालयका लागि इच्छुकले आवेदन दिने म्याद बिहीबार सकिएको हो । पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति हुन चाहनेका लागि मन्त्रालयले कात्तिक ९ मा सार्वजनिक सूचना जारी गरेर आवेदन दिन आह्वान गरेको थियो । यी विश्वविद्यालयका लागि आवेदन दिने सातदिने म्याद शुक्रबारबाट सकिएको सापकोटाले जानकारी दिए ।


उपकुलपति रिक्त ७ विश्वविद्यालयमा पदाधिकारी नियुक्तिका लागि विश्वविद्यालय ऐनअनुसार सिफारिस समिति गठन गरिएको छ । उक्त समितिले त्रिभुवन विश्वविद्यालयका लागि ३ जनाको नाम सिफारिस गर्दै अन्य ६ विश्वविद्यालयका लागि रोस्टर तयार पार्न इच्छुकको आवेदन मागेको हो । शिक्षाविद्हरूले भने सर्च कमिटीले योग्य र सक्षम उम्मेदवार पहिचान गर्न नसकेर आवेदन मागिएको भन्दै असन्तुष्टि जनाएका छन् । योग्य र सक्षमले आवेदन नदिने उनीहरूको तर्क छ । मन्त्रालयले व्यक्तिगत विवरणसहित सम्बन्धित विश्वविद्यालय ऐनको परिधिभित्र रहेर आवेदन दिन आग्रह गरेको थियो ।


पोखरा, पूर्वाञ्चल, संस्कृत र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य उषा झाको अध्यक्षतामा सर्च कमिटी बनेको छ । सुदूरपश्चिम र मध्यपश्चिममा शिक्षा सचिव महेश दाहाल र अर्थ सचिव राजन खनाल सदस्य छन् । पोखरामा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदी र शिक्षा सचिव हाल सदस्य छन् । पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयको सिफारिस कमिटीमा झा र शिक्षा सचिव दाहाल सदस्य छन् । कृषि विश्वविद्यायको सर्च कमिटीमा दाहाल र अध्यक्ष सुवेदी सदस्य छन् ।


एमयूमा ‘पाहुना’ पदाधिकारी

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) स्थापना भएको ९ वर्ष बित्यो । यसबीच पूरा अवधिका लागि दुई उपकुलपति र दुई रजिस्ट्रार नियुक्त भए । चारै जनालाई सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट काजमा पठाएको थियो । संकायका डिनमा समेत ‘पाहुना’ पदाधिकारीकै बाहुल्य छ ।


‘हाम्रो विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारी हुने योग्यता र क्षमता भएका प्राध्यापक नभएका होइनन्,’ मानविकी तथा सामाजिकशास्त्र संकायका डिन खोपीराम लम्साल भन्छन्, ‘किन हो कुन्नि, बाहिरबाट आउनेको बाहुल्य देखिन्छ ।’ मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐनमा उपकुलपति हुन स्पष्ट योग्यता तोकिएको छैन तर विद्यावारिधि गरेका प्राध्यापक उपकुलपति हुने परम्परा देखिन्छ । अहिले एमयूका चार प्राध्यापकमध्ये केशरसिंह राना र दीपबहादुर रावलले विद्यावारिधि गरेका छन् । ‘सुरुको चरणमा यहाँ योग्यता र अनुभव भएका जनशक्ति अभाव थियो,’ हाल विश्वविद्यालय सेवा आयोगका सदस्य रहेका राना भन्छन्, ‘अब त योग्यता र अनुभवले खारिएका जनशक्ति तयार भइसके, यस्तो अवस्थामा समेत ठग्न खोज्नु दुर्भाग्य हो ।’


एमयूमा हालसम्म निमित्तसमेत गर्दा चार उपकुलपति, तीन रजिस्ट्रार र १५ जना डिन गरी २२ जना पदाधिकारी नियुक्त भएका छन् । तीमध्ये पदाधिकारीमा अवसर पाउने एमयूका ६ जना मात्र छन् । २०७१ सालमा तत्कालीन उपकुलपति पदमलाल देवकोटा आर्थिक अनियमितता आरोपमा निलम्बनमा परेपछि एमयूका कालीप्रसाद पाण्डे निमित्त उपकुलपति भएका थिए । त्यसबाहेक त्रिविकै प्राध्यापकले उपकुलपति सम्हालिरहेका छन् । रजिस्ट्रारमा पनि तीनै जना त्रिविका छन् । ६ वटा संकायमा १५ व्यक्ति डिन नियुक्त भएका छन् । तीमध्ये एमयूका पाँच जना मात्र छन् । अहिलेका निमित्त उपकुलपति मस्तबहादुर गरंजा र निमित्त रजिस्ट्रार यामबहादुर कार्की त्रिविकै छन् । ६ संकायका डिनमध्ये मानविकीका लम्साल र इन्जिनियरिङका अनन्तराज घिमिरे मात्र एमयूका छन् ।


एमयूकै कतिपय प्राध्यापक भने फरक विश्वविद्यालयभन्दा पनि योग्यता, क्षमता र विश्वविद्यालयमा गरेको योगदानका आधारमा मूल्यांकन गरिनुपर्ने बताउँछन् ।


प्रकाशित : कार्तिक १६, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?