पौडेलले देउवासँग खोजे प्याकेजमा सहमति

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका आन्तरिक विषयमा ‘टालटुले र टुक्रे’ समाधान नभई समष्टिगत सहमतिका लागि सभापति शेरबहादुर देउवासँग लिखित प्रस्ताव राखेका छन् । पार्टीको केन्द्रीय महाधिवेशनको तयारी, वर्षौंदेखि तथर्दवादमा चल्दै आएका भ्रातृसंगठन, शुभेच्छुक तथा जनसम्पर्क समितिका अधिवेशनलगायत पार्टीका संगठनात्मक संरचनासम्बन्धी निर्णय प्याकेजमै हुनुपर्ने उनको प्रस्ताव छ । केन्द्रीय महाधिवेशन सक्दो छिटो गर्नसमेत उनको आग्रह छ ।

पौडेलले देउवासँग खोजे प्याकेजमा सहमति

‘पार्टीको संगठनमा विद्यमान समस्याबारे निष्कर्षमा पुग्नुपर्ने विषय’ भन्दै गत बुधबार देउवालाई उनकै निवास बूढानीलकण्ठमा बुझाएको पत्र पौडेलले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक गरेका छन् ।


देउवाले पार्टीका केन्द्रीय विभाग, नेविसंघलगायत म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशनका लागि तदर्थ समिति गठन गर्ने तयारी गरीरहेका बेला पौडेलले सबै विषयमा एकसाथ सहमति गर्न माग राख्दै देउवालाई लिखित प्रस्ताव बुझाएका हुन् । अवधि सकिएका भ्रातृ संस्थाको अधिवेशन ६ महिनाभित्र गर्ने सुनिश्चित हुनुपर्ने उनको माग छ । यसअघि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अवधि सकिएका भ्रातृ संस्थाको अधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको थियो ।


‘भ्रातृ संस्थाहरुको संरचनागत एकता निश्चित गर्न गठित समितिको प्रतिवेदनअनुसार परिमार्जन गरी भ्रातृ संस्थाको अधिवेशनको मिति तय गरी आवश्यक तयारी तत्काल सुरु गरिहाल्नुपर्ने’ पौडेलले प्रस्तावमा उल्लेख गरेका छन् । कांग्रेसका एक दर्जनभन्दा बढी भ्रातृ संस्थाहरु वर्षौंदेखि अधिवेशन हुन नसकी तदर्थवादमा चल्दै आएका छन् ।


नेविसंघ र तरुण दलसम्बन्धी निर्णय गर्दा एकै ढाँचा तयार गरी समझदारीका आधारमा गठन गर्ने र ६ महिनाभित्र अधिवेशन सम्पन्न हुनुपर्ने पौडेलको प्रस्ताव छ । नेविसंघ गठन गर्दा तदर्थ समिति नभएर महाधिवेशनको तयारी समिति भनेर गठन गर्नुपर्ने उनको माग छ ।


तत्कालीन नैनसिंह महर नेतृत्वको कार्यसमितिलाई हटाएपछि संघ ७ महिनादेखि नेतृत्वविहीन छ । केन्द्रीय कार्यसमिति नहुँदा संघको महाधिवेशनसमेत लम्बिँदै गएको छ ।


संघमा कति सदस्यीय सदस्य हुने, कसरी सहभागी गराउने, पदाधिकारी संख्या कति हुने, वर्तमान विधानअनुसार २२ जिल्ल्मा अधिवेशन भइसकेको अवस्थामा उमेर हदको प्रावधान के हुने जस्ता विषय समझदारीमा आधारमा मात्रै तय हुनुपर्ने पौडेलको जोड छ । ६ महिनाभित्र अधिवेशन हुनुपर्ने मिति अहिल्यै तय गर्नुपर्ने उनको प्रस्ताव छ ।


पार्टी केन्द्रीय कार्यसमितिले हालै संशोधन गरेको विधानमा संघको पदाधिकारी तथा सदस्य बन्न ३२ वर्षमुनिको हुनुपर्ने व्यवस्था छ । यस्तो उमेर हदसम्बन्धी व्यवस्था यसअघि थिएन । उमेर हद लगाउने कि नलगाउने भन्ने विवादले पार्टी नेता विभाजित थिए । पार्टी सभापति देउवाले वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको विरोध हुँदाहुँदै केन्द्रीय कार्यसमितिको बहुमतबाट विधान पारित गराएका थिए । पार्टीको भ्रातृ संस्थाको विधान पार्टी केन्द्रीय कार्यसमितिले अनुमोदन गरेपछि लागू हुने व्यवस्था छ ।


सभापति देउवा आफ्नो पूर्वप्रतिबद्धताबाट पछि हट्दै संघमा तत्काल ३२ वर्ष उमेर हद नलगाउने पक्षमा छन् । तर उनै ३२ वर्षभन्दा माथिका विद्यार्थी नेताको नेतृत्वमा संघको तदर्थ समिति गठन गर्ने तयारीमा अघि बढेपछि पार्टीभित्र विवाद छ । संघभित्र ३२ वर्षे उमेर हद लागू हुनुपर्ने तीव्र दबाब छ ।


पौडेलले केन्द्रीय महाधिवेशनको तयारी चाँडै अघि बढाउन नरहरि आचार्य संयोजकत्वमा १३औं महाधिवेशनका बेला गठित समितिले टुंगाएको क्रियाशील सदस्यताको नामावली सम्बन्धित सबै निर्वाचन क्षेत्रमा उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।


स्थानीय तहमा केन्द्रीय कार्यसमितिले गरेको निर्णयअनुसार बाँकी जिल्लाको समायोजनको काम चाँडै सक्नुपर्ने, विदेशस्थित जनसम्पर्क समितिलाई अधिवेशनका लागि परिपत्र गरी क्रियाशील सदस्यता उपलब्ध गराउनुपर्ने, पार्टी विधानअनुसार नयाँ प्रवेशी सदस्यहरुको क्रियाशील सदस्यता वडाबाटै सिफारिस भएर आउनुपर्नेलगायत माग पनि पौडेलले राखेका छन् ।

प्रकाशित : कार्तिक १५, २०७६ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?