छठ पर्वको दोस्रो महत्वपूर्ण दिनमा साँझपख घरघरै ‘खरना’ पुजा

जितेन्द्र साह

(विराटनगर) — चार दिनसम्म मनाइने सूर्य आराधनाको महापर्व छठको दोस्रो दिन शुक्रबार घरघरै उमंगकासाथ ‘खरना’ पुजाको तयारी हुँदैछ । ब्रतालुले पहिलो दिन बिहीबार विहान नुहाएर शाकाहारी भोजन ग्रहण गरी ब्रत सुरु गरेका हुन् । यो विधिलाई ‘अरबाअरबाइन’ वा ‘नहा खा’ भनिन्छ ।

छठ पर्वको दोस्रो महत्वपूर्ण दिनमा साँझपख घरघरै ‘खरना’ पुजा

यसपछि पूर्णरुपले उपवासमा रहेका ब्रतालुले दोस्रो दिन शुक्रबार परिवारजन एवं छरछिमेकको मद्दतले साँझ नहुँदै खिरपुरी तयार पार्नेछन् । तराई–मधेसतिर यो पर्वकैलागि पहिलादेखि बनाइएको माटोको छुट्टै चुल्होमा मुख्य उपासक महिलाको अगुवाइमा सम्पूर्ण पुजा सामग्री पकाइन्छ ।


यसकालागि बिहानैदेखि भाडाकुडा र घरआँगनको सरसफाइ सुरु हुन्छ । पुजाकालागि ब्रतालुले घरको सबैभन्दा शान्त कोठालाई लिपपोत गर्छन् । त्यसपछि भूइमा केराको पात फिजाएर त्यसमाथि खिरपुरी र केरा राख्छन् । धुपदीप बालेर चन्द्र, सूर्य एवं भगवान सूर्यकै भगवती रुप मानिने छठी माताको मौन पुजा गर्छन् । कोलाहलले आराधनामा बाधा पुग्ने आस्थाका कारणले ब्रतालुले ढोका थुनेरै विधि गर्छन् । देवीदेवतासँग गरेको कामनालाई उनले गोप्य नै राख्छिन् ।


बाहिर घरको आँगन, बरन्डामा र खाटमा बसेर परिवारजन, छरछिमेक एवं पाहुना पुजा समाप्तिको पर्खाइमा हुन्छन् । आफ्नो घरमा छठ नहुने विवाहित छोरीचेली पनि यतिखेर माइत आइपुगेका हुन्छन् । टाढाटाढाका आफन्तजन एवं मित्रजनलाई ब्रतालु परिवारले निम्तो गर्ने चलन छ ।


खरना भनिने यो पुजा विधि सम्पन्न भएपछि ब्रतालुले सबैभन्दा पहिले प्रसाद ग्रहण गर्छन् । वरिपरि उपस्थित सबैलाई थोरथोर बाँडछन् । छठ पुजाको तेस्रो मुख्य दिन अगाडिको यो एक महत्वपूर्ण धार्मिक विधि हो । यसमा साँझपख पकाइएकै ताजा प्रसाद तुरुन्तै खान पाइने हुनाले यसको अझ बढि महत्व छ ।


यो पुजापछि ब्रतालुको कठिन निर्जला उपवास सुरु हुन्छ । सूर्यदेवको पुजाकालागि शनिबार बेलुकी र आइतबार विहान सपरिवार घरबाट आफूलाई पायक पर्ने जलासय किनार पुग्छन् । स्थानीय भाषामा यसलाई क्रमशः सझिया घाट र भोरका घाट भनिन्छ ।


लोक आस्थाको यो पर्वको तेस्रो दिन शनिबार साँझ एवं चौथो दिन आइतबार बिहान झकिझकाउ पारिएको जलाशय किनारमा सम्पूर्ण पवित्र सामग्रीसहित ब्रतालु, परिवारजन एवं दर्शनार्थीले सूर्यदेवलाई अर्घ्य दिन्छन् । विहानीको अघर््यको लगतै छठी मैयाँको महिमाको कथा वाचनसहित चार दिने धार्मिक अनुष्ठान सकिन्छ ।

पर्वको अन्तिम दुई दिन नदी, खोला, पोखरी एवं नहर किनारमा तिहारझैं दृश्य हुन्छ ।


अर्घ्य दिने, ब्रतालुको आशीष लिने एवं पुजा समापनपछि ठेकुवा, भुसवा एवं गेडागुडी मिश्रित प्रसाद माग्न आएकाको घाटमा घुइचो लाग्छ । विपन्नदेखि सम्पन्न वर्गले असीम श्रद्धाकासाथ प्रसाद माग्ने, ब्रतालुले बाँडने एवं मुख्य उपासकको पाउ छोएर आशीष लिने क्रम घाटदेखि घरसम्म चलि नै रहन्छ ।


प्रकाशित : कार्तिक १५, २०७६ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?