३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बर्दियामा यसरी भयो घटना, झडप रोक्न खोज्नेकै ‘हत्या’

ठाकुरसिंह थारू

(बर्दिया) — सतराम थारू भाइटीकाको साँझ घरमै थिए । कालीगौडीका सन्तराम रोकाय र देवी रोकायको नेतृत्वमा हतियारसहित आएको एक समूहले गाउँका आशाराम चौधरीलगायत सर्वसाधारणमाथि एकाएक आक्रमण गर्‍यो । सहोदर दाजु आशाराममाथि आक्रमण भएको देखेपछि सतराम छुटाउन र झडप रोक्न पुगे । आक्रमणकारीले प्रहार गरेको ढुंगा सतरामका टाउकामा बज्रियो ।

ठाकुरबाबा नगरपालिका ८ भुड्कैया गाउँका ३२ वर्षीय थारू पूर्वकमैया हुन् । उनी पछिल्लो समय मिस्त्री काम गर्दै आएका थिए ।


मंगलबारको उक्त घटनामा उनीसँगै एक दर्जन गाउँले घाइते भए । गम्भीर घाइते सतरामको उपचारका क्रममा भारतको लखनउमा बुधबार मृत्यु भएको छ । स्थानीय प्रकाशसिंह, कैलाशसिंह दहित, बुद्धिराम, सीताराम चौधरीलगायत घाइते छन् । हत्यापछि सतरामकी श्रीमती टीकारानी, १२ वर्षीया छोरी र ५ वर्षीय छोरा बेसहारा बनेका छन् ।


बर्दिया प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले घटनामा संलग्न आठ जनालाई पक्राउ गरिसकेको जनाएका छन् । उनका अनुसार घटनापछि आक्रोशित भीडले आक्रमण गर्न सक्ने भन्दै प्रहरी परिचालन गरिएको छ । हत्या गरिएका सतरामको बर्दिया जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको छ । बिनाकारण हत्या गरिएको भन्दै भुडकैयावासी आक्रोशित छन् ।


यसरी भयो घटना

हत्या गरिएका सतरामका दाइ आशाराम अटो रिक्सा चलाउँछन् । एक साताअघि उनी गाउँबाट रिक्सामा बिरामी बोकेर कालीगौडी गाउँ हुँदै उपचारका लागि भुरीगाउँतर्फ जाँदै थिए । सडकमा सन्तराम र देवी रोकाय उभिएका थिए । हर्न बजाउँदा पनि उनीहरूले बाटो छाडेनन् । सडक च्यापेर लैजाने क्रममा रोकायको छेउबाटै रिक्सा गुड्यो । खुट्टा छेउबाटै रिक्सा लिएर गएको भन्दै दुवै जना आक्रोशित भए । रिक्सा रोक्न खोजे तर बिरामी बोकेको रिक्सा तीव्र गतिमा हुइँकियो ।


बिरामी अस्पताल पुर्‍याएर फर्किंदा पनि रोकायद्वय त्यहीँ थिए । गालीगलौज गर्दै रिक्सा रोक्न खोजे तर आशाराम फेरि पनि भाग्न खोजे । लखेट्दै पछाडिबाटै रिक्सामा चढेर टाउकामा प्रहार गरेपछि आशाराम ढले । रिक्सा पल्टियो । मोबाइल खोसे । कुटपिट गरे । रिक्साको सिसा फुटाले । ‘बिरामी पुर्‍याउन जाँदा बाटो नछाडेपछि उनीहरूकै छेउबाट अटो रिक्सा लैजानुपर्ने बाध्यता भयो तर उनीहरूलाई रिक्साले छोएको थिएन । फर्किंदा अनावश्यक कुटपिट गरे,’ पीडित आशारामले भने, ‘त्यसपछि प्रहरीमा उजुरी गरें । त्यही उजुरीलाई लिएर मलाई मार्न आए तर भाइ बीचमा पर्‍यो ।’


घटनापछि प्रहरीले दुवै पक्षलाई छलफलका लागि बोलायो । छलफलका क्रममा रोकायद्वयले मोबाइलको आधा रकम ६ हजार, फुटेको अटो रिक्साको सिसा लगाइदिनुपर्ने, चोटपटकमा लागेको उपचार खर्च तिर्ने सहमति गरियो । पीडकले पीडितसँग माफी मागेपछि एक पटकलाई मिलापत्र गराइएको थियो तर रोकाय समूहले भने प्रहरीमा उजुरी गरेको भन्दै पटकपटक धम्क्याउँदै आएको थियो । उनीहरूले आशारामलाई जहाँ भेटाए नि ज्यान मार्ने धम्की दिइरहे । त्यही आक्रोश भाइटीकाको साँझ पोखियो । उनीहरूले गाउँमै आएर तीनपल्टसम्म आक्रमण गरे ।


‘मादक पदार्थ सेवन गरी उनीहरू समूह बनाएरै गाउँमा आएका थिए । धम्क्याए । दुईपल्टसम्म सहेर बस्दा पनि मानेनन् । तेस्रोपल्ट यस्तो घटना घटाए,’ स्थानीय अगुवा महेश चौधरीले भने । रोकाय समूहले यसअघि पनि गाउँमा पटकपटक विवाद गर्दै आएको ठाकुरबाबा ८ का वडाध्यक्ष निमप्रसाद थारूले बताए ।


प्रकाशित : कार्तिक १५, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?