१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

प्रधानमन्त्री बालुवाटार फिर्ता : ‘थप डायलाइसिस वा प्रत्यारोपण गर्नेबारे चिकित्सक टोली परामर्शमा’

स्वरूप आचार्य, अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली बुधबार र बिहीबार गरी दुईपटक मिर्गौलाको डायलाइसिस गराएर अस्पतालबाट बालुवाटार फर्किएका छन् । मिर्गौलामा समस्या देखिएपछि ग्रान्डी अस्पताल भर्ना भएका ओली बिहीबार राति ८:०५ बजे डिस्चार्ज भएका हुन् । 

प्रधानमन्त्री बालुवाटार फिर्ता : ‘थप डायलाइसिस वा प्रत्यारोपण गर्नेबारे चिकित्सक टोली परामर्शमा’

प्रधानमन्त्री ओलीलाई नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको भनिए पनि बिहीबार मात्र डायलाइसिसबारे औपचारिक जानकारी दिइएको हो । बुधबार साँझको विज्ञप्तिमा अस्पतालले उपचारबारे खुलाएको थिएन । प्रधानमन्त्रीको सचिवालयले पनि उपचारबारे केही भनेको थिएन । स्रोतहरूका आधारमा सञ्चारमाध्यमले प्रधानमन्त्रीको डायलाइसिस भएको खबर सम्प्रेषण गरेपछि बिहीबार अस्पतालले पत्रकार सम्मेलन गरेर डायलाइसिस गरेको स्वीकार गरेको हो ।


अस्पतालले आधिकारिक जानकारी गराउनु अगाडि बिहीबार दिउँसो अस्पताल पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि ओलीको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे बताएका थिए । ‘उहाँको बुधबार एकपटक र बिहीबार एकपटक डायलाइसिस गरिएको छ । उपचारपछि उहाँको अवस्था सामान्य छ,’ सञ्चारकर्मीसँग दाहालले भनेका थिए, ‘फेरि डायलाइसिस गर्नुपर्ने हो या होइन, त्यो चिकित्सकले नै भन्नुहुनेछ ।’


अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँगको भेटमा केहीबेर कुराकानी पनि भएको जानकारी दिएका थिए । ‘समस्या अलि छिटोछिटो देखा पर्‍यो, अहिले ठीक छ,’ दाहालले ओलीको भनाइ उद्धृत गर्दै सञ्चारकर्मीलाई भने । भेटमा दाहालसँग नेकपाका महासचिव विष्णु पौडेलसमेत थिए । प्रधानमन्त्रीको अवस्था बुझ्न नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का नेता भीम रावल पनि अस्पताल पुगेका थिए । डायलाइसिसका क्रममा रहेकाले उनीहरू चिकित्सकसँग मात्र अवस्था बुझेर फर्किएका थिए । प्रधानमन्त्री ओलीलाई अस्पतालको नवौं तलाको ९१५ नम्बरको भीभीआईपी सुइटमा राखिएको थियो । अस्पतालमा बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा ग्रान्डीका निर्देशक तथा वरिष्ठ हाडजोर्नी प्रत्यारोपण विशेषज्ञ डा. चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था डायलाइसिसपछि राम्रो रहेको जानकारी दिएका छन् ।


उनले ओलीलाई अबेर साँझ डिस्चार्ज गर्ने जानकारी दिए पनि उनको उपचारमा संलग्न चिकित्सक टोलीको नेतृत्व गरिरहेकी डा. दिव्यासिंह शाहलगायतले थप एक दिन अस्पतालमै बस्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।


तर पछि प्रधानमन्त्री डिस्चार्ज भएर बालुवाटार गए । ‘अस्पताल आउँदा उहाँको रगतमा क्रियाटिनिनको स्तर सामान्यभन्दा माथि थियो । बुधबार र बिहीबार डायलाइसिस गरेपछि अवस्था सामान्य छ,’ डा. पाण्डेले भने, ‘संक्रमण पनि नभएकाले उहाँलाई अस्पतालमा राखिराख्नुपर्दैन ।’ अस्पताल स्रोतका अनुसार बुधबार अस्पताल भर्ना हुँदा प्रधानमन्त्री ओलीको रगतमा क्रियाटिनिनको स्तर ५ भन्दा माथि थियो । उनको बुधबार २ घण्टा र बिहीबार ४ घण्टा डायलाइसिस गरिएको थियो । ‘रगतमा क्रियाटिनिनको स्तर बढ्यो भने तत्कालै अर्को डायलाइसिस गर्नुपर्ने हुन सक्छ,’ अस्पताल स्रोतले भन्यो ।


ग्रान्डीका निर्देशक डा. पाण्डेले प्रधानमन्त्रीलाई थप डायलाइसिस वा प्रत्यारोपण आवश्यक रहे/नरहेकोबारे केही खुलाएनन् । ‘थप डायलाइसिस गर्ने कि नगर्ने वा प्रत्यारोपण गर्ने, अहिले भन्न मिल्दैन । प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूले रगतको परीक्षण गर्नुहुन्छ । त्यसपछि के गर्ने भन्ने निर्णय लिनुहुन्छ,’ उनले भने, ‘चिकित्सक टोलीले विदेशमा पनि परामर्श गरिरहेको छ ।’ पत्रकार सम्मेलनमा डा. पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हाललाई ठीक रहेको बताउँदै त्यसमा शंका नगर्न पटकपटक आग्रह गरेका थिए । उनले प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरे पनि उनका निजी चिकित्सक डा. शाहसहितको टोलीले बालुवाटारमा निगरानी गरिरहने जानकारी दिए । ‘हामीले अस्पतालबाट डिस्चार्ज गरेर पठाए पनि उहाँको स्वास्थ्य अवस्थालाई मनिटर गर्न चिकित्सक टोली उहाँसँगै जानेछ,’ उनले भने ।


स्रोतका अनुसार प्रधानमन्त्रीको रगतमा क्रियाटिनिनको स्तर सामान्यभन्दा निकै माथि रहेकाले बुधबार अस्पताल लैजानेबित्तिकै डायलाइसिस गर्ने निर्णय गरिएको थियो । पहिलो डायलाइसिसपछि पनि रगतमा क्रियाटिनिनको स्तर कम नभएपछि चिकित्सकहरूले पुन: डायलाइसिस गरेका हुन् । प्रधानमन्त्री ओलीलाई ज्वरो पनि आइरहेको स्रोतले दाबी गरे पनि त्यसलाई डा. पाण्डेले इन्कार गरेका छन् । ज्वरोको कारण खुट्टिन नसकेको अस्पताल स्रोतले जनाएको छ । बुधबार नै उनको रगत कल्चर गर्न पठाइएको छ । त्यसको रिपोर्ट आउन ७२ घण्टा लाग्छ ।


चिकित्सकका अनुसार ‘इम्युनोसप्रेसिब’ खाइरहेका बिरामीको रगतमा संक्रमण देखिनु राम्रो मानिँदैन । मिर्गौला प्रत्यारोपण गरिएका बिरामीको शरीरले दाताबाट लिइएको मिर्गौलालाई अस्वीकार नगरोस् भनेर ‘इम्युनोसप्रेसिब’ औषधि दिइन्छ । यो औषधिले ग्रहण गरिएको मिर्गौलालाई शरीरले अस्वीकार गर्न उत्पादन गर्ने एन्टिबडीलाई नियन्त्रणमा राख्नुका साथै शरीरको रोग प्रतिरोधी क्षमता घटाउँछ । जसका कारण मिर्गौला प्रत्यारोपण गरिएका बिरामीलाई संक्रमणको उच्च जोखिम रहन्छ । ‘प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया र परीक्षण रिपोर्टलाई अत्यन्तै गोप्य राखिएकाले ठ्याक्कै के भएको छ भन्न गाह्रो छ,’ स्रोतले भन्यो, ‘उच्च सतर्कताका साथ उहाँको उपचार भइरहेको छ ।’


प्रधानमन्त्री ओलीलाई गत साउन १० गते सैनिक अस्पताल छाउनीमा नियमित ल्याब परीक्षणसहित यूएसजी गाइडेड ‘रेनल बायोप्सी’ गरिएको थियो । त्यही रिपोर्टका आधारमा उनलाई सिंगापुर लगिएको थियो । प्रधानमन्त्री ओलीलाई साउन १८ देखि २७ सम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो । त्यतिबेला शरीरमा ‘एन्टिबडी’ को मात्रा धेरै देखिएको थियो । प्लाज्माफेरेसिस प्रक्रियालाई निरन्तरता दिनुपर्ने भएकाले पुन: सिंगापुर गएका ओली सिंगापुरबाट भदौ २० गते फर्किएका थिए ।


सिंगापुरमा प्लाज्माफेरेसिस गरेपश्चात् उनको शरीरमा एन्टिबडीको मात्रा पुन: नबढोस् भनेर इम्युनोसप्रेसिब दिइएको थियो । तर उनलाई सिंगापुरमा उपचार गरेर फर्किंदा कुन इम्युनोसप्रेसिब दिइएको थियो भन्ने खुलाइएको छैन । ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो । ६ वर्षअघि उनको हातमा पनि संक्रमण भएको थियो । दिल्ली र थाइल्यान्डमा लामो उपचार गरेपछि निको भएका उनी नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए ।


प्रकाशित : कार्तिक १५, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?