२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पदयात्री उद्धारमा ड्रोन

घाइते भए वा उद्धार आवश्यक परे पदयात्रीले जीपीएस जडित ट्र्याकिङ डिभाइसको बटन थिच्नेबित्तिकै केन्द्रमा जानकारी पुग्छ । औषधोपचार, खानेकुरालगायत १० किलो बराबरका सामग्री बोकेर ड्रोन घाइतेसम्म पुग्न सक्छ । 
दीपक परियार

(पोखरा) — साथीसँग पदयात्रामा मार्दी हिमाल गएकी काठमाडौंकी विपना उप्रेती २०७४ माघ २५ मा हराइन् । समूहभन्दा पछि परेकी उनी देउरालीनजिकै हिउँमा चिप्लिएर खोंचमा खसेको आशंका गरियो । मणिपाल शिक्षण अस्पतालमा एमबीबीएस तेस्रो वर्ष अध्ययन गरिरहेकी २१ वर्षीया उप्रेती भोलीपल्ट नै मृत भेटिइन् । 

पदयात्री उद्धारमा ड्रोन

त्यही वर्ष चैतमा डच नागरिक कोर्री भेन भेग्गेल अन्नपूर्ण क्षेत्रबाट हराइन् । मार्दी हिमालको हाइक्याम्पबाट सिदिङ झर्ने छोटो बाटो फर्किंदा बीचैबाट बेपत्ता भएकी उनी पनि भेटिएकी छैनन् ।


यस्ता यात्रीको उद्धार र खोजीका लागि अब ड्रोन प्रयोग गरिने भएको छ । ट्र्याकिङ डिभाइस, ड्रोन, रेडियोसेटलगायत सामग्रीमार्फत हिमाली क्षेत्रमा फसेकाको उद्धार गर्ने प्रविधि नेपाल भित्रिएको हो । कोरियाली टेलिकम, उम होङ गिल ह्युमन फाउन्डेसन र नेपाल पर्वतारोहण संघले ४ हजार मिटर उचाइमा रहेको अन्नपूर्ण गाउँपालिकास्थित माछापुच्छ्रे आधार शिविरमा अन्नपूर्ण उद्धार केन्द्र स्थापना गरेका छन्, जसले बिहीबार उद्धार ड्रोनको परीक्षण उडान गर्‍यो । पदयात्रीले केन्द्रबाट जीपीएस जडित ट्र्याकिङ डिभाइस लिन सक्छन् । यसैको सहयोगमा पदयात्री पुगेको स्थान गुगल म्यापमार्फत कम्प्युटरबाट अनुगमन गर्न मिल्छ ।


पदयात्री घाइते भए वा उद्धार आवश्यक परे डिभाइसमा रहेको बटन थिच्नेबित्तिकै केन्द्रमा जानकारी पुग्छ । ड्रोन अपरेटर विष्णु कल्पितका अनुसार ड्रोन औषधोपचार, खानेकुरालगायत १० किलो बराबरका सामग्री बोकेर घाइतेसम्म पुग्न सक्छ । पदयात्री अचेत भए खोज्न इन्फ्रारेड क्यामेरा जडित ड्रोन प्रयोग हुन्छ । उक्त ड्रोनले रगतको ताप सेन्सरमार्फत परीक्षण गरेर जिउँदो भए/नभएको थाहा पाउँछ । त्यस क्रममा ड्रोनले खिचेको तस्बिर सिधै उद्धार केन्द्रमा राखिएको कम्प्युटरमा जान्छ ।


कोरियाली टेलिकमले सामाजिक उत्तरदायित्वअन्तर्गत उद्धार केन्द्र बनाउन सहयोग गरेको हो । टेलिकमले केन्द्रलाई दुई वर्षसम्म सघाउनेछ । पर्यटक उद्धारका लागि स्थानीय युवाले तालिम लिनेछन् । नेपालकै अन्य हिमाली क्षेत्र र तराईमा हुने आपतकालीन उद्धारका लागि समेत यो प्रविधि लैजान मिल्ने गरी ३ संस्थाबीच सम्झौता भएको छ ।


कोरियाली टेलिकमका उपनिर्देशक म्युङ गन चुङ उद्धार केन्द्र स्थापनासँगै पर्यटक हराउने अवस्था नदोहोरिने विश्वास गर्छन् । पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा विश्वमै पहिलोपल्ट यत्तिको उचाइमा सुविधा सम्पन्न उद्धार केन्द्र स्थापना भएको दाबी गर्छन् । अन्नपूर्ण क्षेत्रमा पर्वतारोही र पदयात्रीको सुरक्षाका लागि नयाँ प्रविधि भित्रिएको उनको भनाइ छ । ‘विगतमा हराइसकेपछि मात्र खोजी गरिने भएकाले समय लाग्थ्यो,’ उनी भन्छन्, ‘अब ट्र्याकिङ सिस्टमसमेत प्रयोगमा आएकाले त्यस्तो अवस्था रहँदैन ।’


उद्धार केन्द्रको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा उद्घाटन गरे । उद्धार केन्द्र स्थापनासँगै अन्नपूर्ण क्षेत्रमा पदयात्रामा जाने पर्यटक सुरक्षित हुने उनले बताए । ‘नेपालमै पहिलोपल्ट उच्च हिमाली क्षेत्रमा आधुनिक प्रविधियुक्त उद्धार केन्द्र स्थापना भएको छ,’ उनले भने, ‘अब आपत्विपत्मा परेका पर्यटकको बेलैमा उद्धार हुन्छ । यसले विश्व पर्यटन बजारमा नेपालको पदयात्रा सुरक्षित रहेको सन्देश जान्छ ।’


फाउन्डेसनका कार्यकारी निर्देशक उम होङ गिलले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम आरोहण निकै जोखिमपूर्ण भएको बताए । अन्नपूर्ण आरोहण गर्दा आफ्ना धेरै साथीको ज्यान गएको उनले सम्झिए । उद्धार केन्द्र स्थापनापछि पदयात्रा क्षेत्र सुरक्षित हुने उनको विश्वास छ ।


सगरमाथा आरोही दक्षिण कोरियाली नागरिक गिलले आफ्नै नाममा फाउन्डेसन स्थापना गरी नेपालमा सहयोग गरिरहेका छन् । उनले विश्वका ८ हजार मिटरभन्दा माथिका १४ र अरू २ गरी १६ हिमाल आरोहण गरेका छन् । उनले नेपालका हिमाली क्षेत्रमा विद्यालय पनि बनाएका छन् । अन्नपूर्ण आधार शिविर पुग्ने प्रवेशस्थल कास्कीको वीरेठाँटीमा रहेको वीरेठाँटी माविको भवन बनाइदिएका छन् ।


फाउन्डेसनकै सहयोगमा मनाङमा अत्याधुनिक माउन्टेनियरिङ स्कुल बन्दै छ । यसका लागि फाउन्डेसन र पर्वतारोहण संघबीच सम्झौता भइसकेको छ । फाउन्डेसनले १२ जिल्लामा १५ विद्यालय भवन बनाउन ३५ करोड खर्चिसकेको छ ।


सच्याइएको : यसअघि प्रकाशित समाचारमा भुलवश स्व. विपना उप्रेती अझैसम्म हराइरहेको उल्लेख भएकोमा त्यसलाई सच्याइएको छ । उक्त समाचारबाट उनको परिवारजन, आफन्त तथा शुभचिन्तकमा पर्न गएको ठेस प्रति हामी क्षमायाचना गर्न चाहन्छौं ।

-प्रधानसम्पादक


प्रकाशित : कार्तिक १५, २०७६ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?