१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

खोला प्रदूषित गराएको आरोपमा दुई पक्राउ

बारा–पर्सा औद्योगिक करिडोरमा छाला उद्योग चलाउने चिनियाँ र भारतीय नागरिकले रसायनयुक्त पानी खोलामा फाल्दै आएका थिए
शंकर आचार्य

पर्सा — सिर्सिया खोला प्रदूषित गराएको आरोपमा पर्सा–बारा औद्योगिक करिडोरस्थित एक छाला उद्योगका चिनियाँ र भारतीय व्यवस्थापक पक्राउ परेका छन् ।

खोला प्रदूषित गराएको आरोपमा दुई पक्राउ

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक लिउता छुवाङ र भारत घर भई मकवानपुर बस्ने तिनजुङ गुरुङ छन् । उनीहरूलाई बुधबार साँझ उद्योग परिसरबाटै नियन्त्रणमा लिइएको हो ।


उद्योगबाट निस्कने रसायनयुक्त पानी खोलामा नफाल्न आग्रह गर्दा अटेर गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालका डीएसपी गौतम थापाले बताए । जितपुर सिमरा उपमहानगरपालिका–२३ मा रहेको उद्योगविरुद्ध स्थानीयले उजुरी दिएका थिए । उद्योगबाट वीरगन्ज महानगरको चोर्नीस्थित सिर्सिया खोलामा दूषित पानी खसाल्ने गरिएको छ ।


खोला प्रदूषणमा जिम्मेवार उद्योग सञ्चालकलाई कारबाहीको माग लामो समयदेखि चल्दै आएको थियो । सिर्सिया नदी प्रदूषणमुक्त अभियानका संयोजक अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मीले प्रशासनले ढिलै भए पनि साहसिक काम गरेको बताए । ‘सिर्सिया खोला बचाउन झन्डै २ दशकदेखि संघर्ष भइरहेको छ,’ उनले भने, ‘तर उद्योगलाई जिम्मेवार भन्ने अनि उद्योगीलाई कारबाहीको दायरामा ल्याउन नसक्ने विरोधाभास र विडम्बनापूर्ण अवस्थालाई चिर्दै पहिलोपटक प्रहरी प्रशासनले साहसिक कदम चालेको छ ।’


कुर्मीले २०७५ कात्तिक ९ गते जिल्ला अदालतमा वीरगन्ज महानगरपालिका कार्यालय तथा करिडोरका ९ उद्योगसमेतलाई मुद्दा दायर गरेका छन् । उनैले २०७६ असोज ८ गते उच्च अदालत इजलास वीरगन्जमा पनि महानगर र ४३ उद्योगविरुद्ध निवेदन दिएका छन् ।


वर्षदिनमा करिब एक साता छठ पर्वको समयमा पर्सा र बारा प्रशासनको कडा आदेशका कारण उद्योगले यी खोलामा प्रदूषित पानी र खरानी फाल्दैनन् । छठ सकिनासाथ फेरि सिर्सियाको दुर्दिन सुरु हुन्छ । प्रदूषणकै कारण यहाँको पानीमा कालो लेदो बग्छ । यो पानी बालीनालीमा हाले बाली मर्छ । खोलाबाट माछा, कछुवा, गँगटो, सिपीजस्ता जलचर हराइसकेका छन् ।


पर्सा–बारामा २०३६ सालयता औद्योगिक करिडोर बढेसँगै खोला ढलमा परिणत हुँदै गएको हो । बढीजसो छाला, कपडा र डिस्टिलरी उद्योग प्रदूषण बढाउन जिम्मेवार छन् । एक दशकअघि रितेश त्रिपाठीको संयोजकत्वमा खोलामा प्रदूषण बढाउने उद्योग पहिचान गर्न एउटा समिति पनि गठन भएको थियो । तर समितिको अध्ययन प्रतिवेदन कार्यान्वयनमै आएन । प्रदूषण नगर्ने र उद्योगको फोहोर प्रशोधन गर्न प्लान्ट जडान गर्ने प्रतिबद्धता २/४ उद्योगले मात्र पूरा गरेका छन् ।


समितिले सिर्सिया खोलाको उद्गमस्थल मानिने बाराको सिमिरा रामवनदेखि वीरगन्जस्थित नेपाल–भारत सीमासम्म खोलाको अनुगमन र तथ्य अभिलेखीकरणपछि तयार पारेको प्रतिवेदनको निष्कर्षमा प्रदूषित बनाउने ४८ स्रोत किटान गरेको थियो । ती मध्ये करिडोरका ४६ उद्योग, बाँकी २ कारणमा वीरगन्ज महानगरपालिका कार्यालयले खोलामा फाल्ने गरेको फोहोर र वीरगन्ज नगरक्षेत्रमा सञ्चालित अवैध मदिरा भट्टी थिए ।

प्रकाशित : कार्तिक १४, २०७६ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?