कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रधानमन्त्री ओलीको दोस्रोपटक डायलाइसिस भयो, आजै डिस्चार्ज हुने सम्भावना न्यून

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार बिहानदेखि धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक डायलाइसिस भएको छ । पहिलो डायलाइसिसबाट अपेक्षित सुधार नभएका कारण आज पुन: डायलाइसिस गरिएको हो । प्रधानमन्त्रीलाई बुधबारदेखि आईसीयूमा राखेर गोप्य रूपमा डायलाइसिस सुरु गरिएको थियो ।

प्रधानमन्त्री ओलीको दोस्रोपटक डायलाइसिस भयो, आजै डिस्चार्ज हुने सम्भावना न्यून

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल पनि आज अस्पताल पुगेका थिए । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे जानकारी लिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै दाहालले ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र केहीबेर आराम गरी सम्भवतः आजै अस्पतालबाट घर फर्कने जानकारी दिए ।


'प्रधानमन्त्रीको भर्खरै डायलाइसिस भएको छ । चिकित्सकले मलाई बताएअनुसार एकैछिन विश्राम गरेर आज बालुवाटार पनि जान सक्नुहुन्छ,' दाहालले भने, 'उहाँको हिजो एक चोटि डायलाइसिस भएको थियो । फेरी पनि डायलाइसिस गर्नुपर्ने हो होइन त्यो चिकित्सकले नै भन्नुहुनेछ ।'


स्रोतका अनुसार प्रधानमन्त्रीको रगतमा क्रियाटिनिनको स्तर सामान्य भन्दा निकै नै माथि छ र पहिलो डायलाइसिस पछि पनि त्यो कम भएको छैन। यस्तै प्रधानमन्त्रीलाई अहिले 'लो ग्रेड' ज्वरो पनि आइरहेको छ। तर ज्वरोको कारण भने खुट्टिन सकेको छैन। चिकित्सकीय हिसाबमा इम्युनोसप्रेसिब खाइरहेको बिरामीको रगतमा संक्रमण देखिनु राम्रो मानिँदैन। त्यसैले हिजै उनको रगतको कल्चरका लागि पठाइएको छ। जसको रिपोर्ट आउन ७२ घण्टा लाग्छ।


'प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया र परीक्षण रिपोर्टलाई अत्यन्तै गोप्य राखिएकोले ठ्याक्कै भएको के छ भन्न गाह्रो छ,' उनले भने, 'उच्च सतर्कताका साथ उहाँको उपचार भइरहेको छ।'


प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचारप्रक्रियाका लागि भर्ना भएको उल्लेख थियो। ‘उहाँको स्वास्थ्यस्थिति सामान्य छ। सम्माननीयज्यूको आवश्यक परीक्षण पूरा भएपछि आज राति वा भोलिसम्म डिस्चार्ज गरिनेछ,’ विज्ञप्तिमा भनिएको थियो।


स्रोतका अनुसार प्रधानमन्त्री स्वयं नै अस्पतालबाट डिस्चार्ज हुन चाहिरहेका छन् । तर, प्रधानमन्त्रीको निजी चिकित्सक डा. शाहसहितको टोली भने उनीमा देखिएको संक्रमण तथा अन्य समस्याहरु पूर्ण रुपमा निराकरण नगरी अस्पतालबाट डिस्चार्ज गर्ने पक्षमा छैनन् । 'जसले जे भने पनि आजै डिस्चार्ज गर्ने सम्भावना निकै न्यून छ,' स्रोतले भन्यो ।


प्रकाशित : कार्तिक १४, २०७६ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?