महराविरुद्ध साढे ७ वर्ष कैदको मागदाबी

पीडितले १०० मा गरेको फोन, किटानी जाहेरी, सुरक्षाकर्मीको बयान, सीसीटीभी फुटेजका साथै घटनास्थलबाट बरामद सामान प्रमाणका रूपमा पेस
उजुरीकर्ताको अनुहार र हातमा लागेको चोटलाई बलात्कार प्रयासकै परिणामका रूपमा चित्रण 
कृष्ण ज्ञवाली

काठमाडौँ — संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारी ‘नयाँ बानेश्वर २६’ (सरकारी वकिलको कार्यालयले राखेको कोड नाम) माथि बलात्कारको प्रयास गरेको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साढे ७ वर्ष कैद मागदाबीसहित महराविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो । 

महराविरुद्ध साढे ७ वर्ष कैदको मागदाबी

सरकारी वकिलको कार्यालयका प्रमुख चन्द्रकान्त खनालले प्रहरी प्रतिवेदनमाथि गहन अध्ययनपछि बलात्कार प्रयास (जबर्जस्ती करणीको उद्योग) को आरोपमा मुद्दा दर्ता गरिएको बताए । ‘किटानी जाहेरीलगायतका प्रहरीले संकलन गरेका प्रमाण र अन्य सबुद विश्लेषणबाट बलात्कार प्रयासको आरोपमा मुद्दा चल्ने निर्णय गरेर अभियोगपत्र पेस गरेका हौं,’ उनले कान्तिपुरसित भने, ‘कानुनी प्रावधानअनुसार हिसाब गर्दा अधिकतम साढे ७ वर्षको कैद मागदाबी गरेका छौं ।’ सरकारी वकिलको कार्यालयले महरामाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ अनुसारको कसुर प्रयास गरेको आरोप लगाएको छ । दफा २१९ मा कसैमाथि पनि जबर्जस्ती करणी गर्न नहुने उल्लेख छ । कार्यालयले बलात्कार नभए पनि बलात्कार प्रयास गरेकाले दफा ३४ अनुसारको कसुर गरेको आरोप लगाएको छ । दफा ३४ मा संहिताले कसुर हुने भनी ठहर्‍याएका अपराधको प्रयास गरे ‘कसुरको उद्योग गरेको मानिने’ भनिएको छ । त्यो आरोप प्रमाणित भए आधा सजाय हुने व्यवस्था छ ।


सरकारी वकिलको कार्यालयले पीडित ‘नयाँ बानेश्वर २६’ को उमेर १८ वर्षभन्दा बढी भएको र उनीमाथि बलात्कार प्रयास भएकाले कुल सजाय ७ देखि १० वर्षको आधा अर्थात् साढे ३ वर्षदेखि ५ वर्ष सजाय हुनुपर्ने माग गरेको छ । उसले ‘फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४’ को दफा १५ अनुसार थप आधा सजायको मागदाबी गरेको छ । दफा १५ मा ‘कुनै सरकारी कार्यालय वा सार्वजनिक वा संगठित संस्थाको पद र ओहदामा बहाल रही त्यस्तो पद वा ओहदा दुरुपयोग गरी कसुर गर्नेलाई त्यस्तो कसुरमा हुने सजायको डेढी सजाय हुने’ उल्लेख छ । जसअनुसार, महरामाथि १ वर्ष ९ महिनादेखि साढे २ वर्षसम्म कैद थपिन सक्छ । आरोप प्रमाणित भए उनले ५ वर्ष ३ महिनादेखि सात वर्ष ६ महिनासम्म कैद सजाय भोग्नुपर्ने हुन सक्छ । जिल्ला सरकारी वकिलको कार्यालयले बन्द इजलासमा निरन्तर सुनुवाइको व्यवस्था मिलाउनसमेत आग्रह गरेको छ । महराबाट पीडितलाई क्षतिपूर्ति भराउने आदेश दिन र पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन पनि मागदाबी गरिएको छ ।


यस्तो छ आरोपपत्र

किटानी जाहेरी दिने ‘नयाँ बानेश्वर २६’ ले आफ्नो मुखमा महराले बारम्बार प्रहार गरेको र बलात्कारको प्रयास गरेको खुलाएकी छन् । ‘उनले मेरो मुखमा बारम्बार मुक्का हाने अनि मैले पछाडिबाट पाइन्टमा समाएँ र प्रहरीलाई बोलाउने चेतावनी दिएँ,’ अंग्रेजीमा लेखिएको किटानी जाहेरीबारे महानगरीय प्रहरी परिसर स्रोतले कान्तिपुरसित भन्यो, ‘गुहार मागेर चिच्याएँ, त्यसपछि उनी भान्साकोठाको ढोकाबाट भागे । उनी मदिराले मातेका थिए ।’


अदालत काठमाडौंमा दर्ता भएको अभियोगपत्रमा गत असोज १२ गते महरा ‘नयाँ बानेश्वर २६’ को कोठामा पुगेको र बलात्कारको प्रयास गरेको उल्लेख छ । दुवै पक्षबीच छिनाझम्टी हुँदा महराको चस्मा खसेर फुटेको थियो । सिसासहितको एउटा फ्रेम महराले लगेपछि एउटा आँखाको सिसा र चस्माको खुट्टा ‘नयाँ बानेश्वर २६’ को कोठामा छुटेको थियो । महराले पछि अनुसन्धानका क्रममा क्षतिग्रस्त चस्मा उपलब्ध गराएनन् । तर कोठामा भेटिएको सिसा र महराले प्रयोग गर्ने चस्माको पावर मिलेको थियो । आरोपपत्रमा भनिएको छ, ‘घटनास्थलमा भेटिएको चस्माको सिसा र फ्रेमको डन्डी महराकै हो भन्ने तथ्य स्थापित भएको देखिन्छ ।’


महरामाथि सभामुखको पद दुरुपयोग गरेको आरोपसहित सरकारी वकिलले ‘निवासबाट बाहिर निस्कँदासमेत आफ्ना वरिष्ठ सुरक्षाकर्मीलाई यकिन जानकारी नदिएको’ आरोप लगाइएको छ । केही सुरक्षाकर्मी मात्रै लिएर मादक पदार्थ सेवन गर्नुका साथै मादक पदार्थ साथमा लिई पीडितलाई मादक पदार्थ सेवन गर्न कर लगाएको र सार्वजनिक पदको लाभ लिएको आरोप छ ।


महरा जोडिएको घटना ‘कार्यस्थल’ का कारण पनि संवेदनशील थियो । संहिताको दफा २२३ मा कार्यस्थल र त्यसका कारणले हुने ‘करणी’ मात्रैलाई पनि कसुरयोग्य मानिएको छ । जसमा ‘कार्यालय वा पेसागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने’ उल्लेख छ । घटना हुँदा महरा प्रतिनिधिसभाका सभामुख थिए भने पीडित संसद् सचिवालयमा कार्यरत कर्मचारी हुन् । उक्त कानुनी व्यवस्थाअनुसार, कार्यालयको सेवा लिँदा वा दिँदा र कार्यस्थलमा करणी गर्नु हुँदैन । सरकारी वकिलको कार्यालयले यस कानुनी व्यवस्थाअनुसार थप मागदाबी भने गरेको छैन । ‘प्रहरीले पनि यसमा राय दिएको थिएन, हामीले निकै छलफल गर्दा पनि सेवासँग जोडिएर करणी प्रयास भएको नदेखिएकाले मागदाबी लिएनौं,’ खनालले भने ।


सरकारी वकिलको कार्यालयले प्रहरीको कन्ट्रोल रुममा परेको उजुरीलाई पनि प्रमाणका रूपमा पेस गरेको छ । घटना भएको दिन बेलुकी ८ बजेर ४० मिनेट जाँदा ‘नयाँ बानेश्वर २६’ ले आफूमाथि महराबाट बलात्कारको प्रयास भएको भनी १०० मा फोन गरेकी थिइन् । रानीपोखरीस्थित आयुक्तको कार्यालयमा रहेको ‘कन्ट्रोल रुम’ ले त्यो सूचना तत्काल बानेश्वर वृत्तलाई पठाइदिएको थियो । त्यही सूचनाका आधारमा बानेश्वरबाट प्रहरीहरूले घटनास्थल पुगेर पीडितलाई भेटेका थिए ।


घटनापछि प्रहरीले पीडित र महराबीचको मोबाइल फोनको कल र सूचना आदानप्रदानको पर्याप्त प्रमाण संकलन र विश्लेषण भने गर्न सकेन । ‘महरा सरसँग फोन माग्दा रिसको झोंकमा फुटाइदिएँ भन्नुभयो । परिवारका सदस्यलाई सोध्दा कोठा सर्ने क्रममा हरायो भन्ने जवाफ आयो,’ प्रहरी स्रोतले भन्यो, ‘पीडितले आफ्नो फोन परीक्षणका लागि दिन अस्वीकार गरेकाले हामीले कलको विश्लेषण र म्यासेजका विवरण हेरेर अनुसन्धान गरेका हौं ।’ महराले ‘फर्गेट यस्टर्डे (हिजोको कुरा बिर्सिदेऊ) भनी गरेको म्यासेजलाई प्रमाणका रूपमा पेस गरिएको छ ।


प्रहरीले महराको सुरक्षामा खटिएका सेना, सशस्त्र र नेपाल प्रहरीका आधा दर्जन सुरक्षाकर्मीसँग समेत बयान लिएको थियो । उनीहरूले पीडितको कोठा बाहिरसम्म आफूहरू गएको अनि महरा भित्र गएर फर्किएको बयान दिएका थिए । महरा करिब एक घण्टाभन्दा बढी समय पीडितको कोठामा बसेको खुलेको सीसीटीभी फुटेजबाट देखिएको छ । प्रहरीले महराको बलात्कार प्रयाससँग जोडिएका विभिन्न अन्तर्वार्ताको पनि विश्लेषण गरेको छ । स्रोतले भन्यो, ‘सूचना आदानप्रदानका अन्य महत्त्वपूर्ण प्रमाण र साक्षी पनि अदालतमा पेस हुनेछन् ।’


३६ पेजको आरोपपत्रमा उजुरीकर्ताको अनुहार र हातमा लागेको चोटलाई बलात्कार प्रयासकै परिणामका रूपमा चित्रण गरिएको छ । बलात्कारको प्रयासका क्रममा ‘नयाँ बानेश्वर २६’ माथि हातपात र आक्रमणसमेत भएको आरोपपत्रमा उल्लेख छ । प्रहरीले प्रमाणका रूपमा घटनास्थलको फोटो, भिडियो, चस्माको डन्डी र सिसा, मदिराको बोत्तल र गिलास तथा महराको जुत्ताको तलुवासमेत अदालतमा पेस गरेको छ ।


महराले बयानका क्रममा आफूमाथिको आरोपलाई ‘प्रायोजित’ भनी टिप्पणी गरेको स्रोतले बतायो । उनले ‘मलाई फसाउन कसैले आफ्नो जुत्ताको तलुवा पीडितको कोठामा लगेर राखेको हुन सक्ने’ भनी प्रतिक्रिया दिएका थिए । सीसीटीभी फुटेजका सन्दर्भमा उनले घटनास्थल भनिएको ठाउँ नजिक गएको तर संसद् सचिवालयमा कार्यरत ती कर्मचारीको कोठामा नछिरेको दाबी गरेका थिए ।


बिहीबार मुद्दा दर्ता भएकाले शुक्रबार अदालत खुल्नासाथ महराको बयान हुनेछ । बयानको अवधि उनले दिने प्रतिक्रिया र जवाफमा निर्भर रहनेछ । अदालतका कर्मचारीहरूको अनुमानमा, शुक्रबार बयान सकिए आइतबार थुनछेकको बहस हुनेछ । त्यसपछि अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राखी मुद्दा अघि बढाउने, धरौटी वा सामान्य तारेखमा छाड्नेबारे आदेश दिनेछ । बलात्कार र त्यससँग जोडिएका मुद्दामा निरन्तर सुनुवाइ हुने भएकाले ‘न्याय सम्पादन’ प्रक्रियासमेत अन्य मुद्दाको प्रक्रियाका तुलनामा छिटो हुने अनुमान छ ।


प्रकाशित : कार्तिक १४, २०७६ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?