१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नाम मिल्दा परिवारैलाई आक्रमण

पर्वत पोर्तेल

धुलावारी, झापा — लक्ष्मी पूजाको अघिल्लो रात करिव साढे १२ बजे । तिहारको रौनक भए पनि मेचीनगर-११ को धुलाबारी सिरान पश्चिमको गोजाबस्ती प्रायः चकमन्न थियो । मोटरसाइकल हुइँकिँदै आएका ७ जना उच्छृंखल युवा समूहले स्थानीय मिलन चौधरीको घर अघिल्तिर मोटरसाइकल रोके । अनि आक्रोशित मुद्रामा गालीगलौज गर्दै भने,‘ओइ मिलन, उठ ।’

नाम मिल्दा परिवारैलाई आक्रमण

मध्यराति छोरालाई कसैले बोलाएछ भनेर बुबा चन्दु उठेर आँगनमा निस्किएका मात्रै थिए, उनलाई टाउकोमा चिर्पट प्रहार गरे । आमा चिना चौधरीलाई पनि त्यसैगरी शरीरमा चिर्पट प्रहार गरे । उनी बेहोस भइन् । पछि थप ३ जना युवा बाँसबारी सिमसार क्षेत्रतिरबाट आए । ‘छोरीलाई पनि अभद्र ढंगबाट आक्रमण गरेऽ,' चन्दुले भने, ‘किन हामीमाथि आक्रमण गरियो, अझै बेखवर छौं ।’


नाम मिल्दा आक्रमणकारी समूहले चौधरी परिवारैमाथि अन्धाधुन्ध कुटपिट गरेका थिए । खासमा त्यो समूह चन्दुका छिमेकी मिलन दर्जीको खोजीमा थियो । नाम मिलेपछि मिलन चौधरीको परिवारले अनाहकमा आक्रमण सहनु पर्‍यो । चन्दु चौधरीको परिवार सामान्य मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन् । छोरा मिलन चाहिँ धुलाबारी बजारको एउटा सपिङ मार्टमा काम गर्छन् ।


मिलज दर्जी र मिलन चौधरीको घर टिमाइ खोला वारिपारि छ । चौधरी परिवारमाथि आक्रमण सुरु भएपछि स्थानीयवासीले प्रतिकार गर्नुका साथै प्रहरीलाई खबर गरेका थिए । एक स्थानीयवासीका अनुसार तीन जना मोटरसाइकलमा चढेर फरार भए । ४ जनालाई समातेर प्रहरीलाई बुझाइयो । प्रहरीले घटनाको भोलिपल्ट थप ३ जना पक्राउ गर्‍यो ।


स्रोतका अनुसार मिलन दर्जी लागूपदार्थका कारोबारी हुन् । उनी भारतबाट लागूपदार्थ लिएर काठमाडौ, पोखरा लगायतका सहरी क्षेत्रमा पठाउँछन् । केही समयअघि उनले काठमाडौंका एक जना कारोबारीलाई ‘सामान’ (लागूपदार्थ) पठाउने भनेर करिव डेढ लाख रुपैयाँ रकम असुलेका थिए । तर, रकम लिएपछि दर्जी सम्पर्कविहीन बनेका थिए । स्रोतका अनुसार दर्जीलाई रकम असुल्न काठमाडौंका कारोवारीले ती व्यक्तिहरुको प्रयोग गरेका थिए ।


जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठका अनुसार पक्राउ मेचीनगर-९ का कृष्णबहादुर मगर, सुरज राजवंशी, साजन राजवंशी, सन्तोष श्रेष्ठ, विनोद डाँगी, पुकार कटुवाल र रुपेश दाहाल छन् ।

मनोज सिलवाल, अनुज निरौला र अनुप संग्रौला फरार छन् । तीन जनालाई प्रहरीले खोजी तीव्र पारेको जनाएको छ । पीडित मिलन चौधरीले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । श्रेष्ठका अनुसार सातै जनालाई अभद्र व्यवहार अर्न्तगत मुद्दा दर्ता गरिएको छ । अभियोग प्रमाणित भए १ वर्षसम्म जेल र १० हजारसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।


नेपाली सेनाको जागिरबाट भर्खरै अवकास पाएका श्रेष्ठको नेतृत्वमा आक्रमणकारीहरु आएका थिए । श्रेष्ठले हालसालै घर नजिकै होटल समेत सञ्चालन गरेका छन् । सबैलाई त्यही होटलमा खानपिन गराएर दर्जीलाई आक्रमण गर्न आएका थिए । तर, मिलन चौधरीको परिवार घानमा पर्‍यो । आक्रमण गरी सकेपछि उनीहरुले ‘ए यो मान्छे त हैन’ भनेको सुनेको चौधरीका एक छिमेकीले बताए ।


घटना सामसुम पार्न स्थानीय राजनीतिक दलका अगुवाहरुको सक्रियता बढेको थियो । तर, पीडित परिवारले अनाहकमा परिवारमाथि नै आक्रमण भएको घटनामा मिल्न इन्कार गरेका थिए । इलाका प्रहरी कार्यालय धुलाबारीका इन्स्पेक्टर कैलाश चौधरीका अनुसार पीडित परिवारसँग मिल्ने सहमति भएको भन्दै अभियुक्तलाई छाड्न दबाब दिँदै आक्रमणकारीका परिवार दिनै प्रहरी कार्यालय धाउने गरेको सुनाए । इन्स्पेक्टर चौधरीले भने, ‘मिल्ने सहमति भइसकेपछि किन मुद्दा चलाउनु भएको भन्दै परिवारले हैरान पारिरहेका छन् ।’

प्रकाशित : कार्तिक १३, २०७६ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?