निर्मलले चढे ७ महिनामै १४ हिमाल, ८ हजार मिटर अग्ला सबै हिमाल आरोहणमा बनाए कीर्तिमान

राजु घिसिङ

काठमाडौँ — नेपाली पर्वतारोही निर्मल पुर्जाले चीनले ‘स्पेसल परमिट’ दिएपछि मंगलबार विहान स्थानीय समयअनुसार ८:५८ बजे सिसापाङ्माको शिखरमा पाइला राख्दै ८ हजार मिटर भन्दा अग्ला १४ हिमालको आरोहण सात महिनामै पूरा गर्दै कीर्तिमान बनाएका छन् ।

निर्मलले चढे ७ महिनामै १४ हिमाल, ८ हजार मिटर अग्ला सबै हिमाल आरोहणमा बनाए कीर्तिमान

उनले आठ वर्ष लगाएर पोलिस आरोहीले सन् १९८७ मा बनाएको कीर्तिमानलाई सात महिनामै छोट्याइदिएका हुन् ।

३६ वर्षीय पुर्जाले सिसापाङ्माको शिखरबाट ‘मिसन एचिभ्ड’ भन्दै सामाजिक सञ्जालहरुमा पोष्ट गरेका छन् । उनले ८ हजार अग्ला सबै हिमाल १९० दिनमै आरोहण गर्दै कीर्तिमान बनाएका हुन् । यसअघि पोल्यान्डका जर्जी कुकुच्जाले ७ वर्ष ११ महिना १४ दिन लगाएर सन् १९८७ मा आठ हजार मिटर अग्ला १४ हिमालको आरोहण सम्पन्न गरेका थिए ।

पुर्जाले आफ्नो टिमका मिङ्मा डेविड शेर्पा, ग्याल्जेन शेर्पा र जेसमान तामाङले पनि सिसापाङ्माको आरोहण गरेको उल्लेख गरेका छन् । सुरुमै आरोहणको स्वीकिृति नपाएकाले उनले आठ हजार मिटरका सबभन्दा होचो हिमालको ठूलै चुनौती बेहोर्नुपर्यो ।

उनले २३ अप्रिलमा अन्नपूर्णको आरोहरणसगै कीर्तिमान कायम गर्ने अभियान ‘प्रोजेक्ट पोसिबल’ थालेका थिए । चौथो हिमालको रुपमा २२ मे मै विश्वकै सर्बोच्च शिखर सगरमाथाको आरोहण गरेका उनले ११ हिमाल ९० दिनभित्रै चढेका थिए । उनले ल्होत्से, मकालु र सगरमाथा ४८ घन्टाभित्रै आरोहण गर्दै रेकर्ड बनाए । उनले यो अभियानको १३ औं हिमालको रुपमा २७ सेप्टेम्बरमा मनास्लुको चुचुरोमा पाइला राखेका थिए ।

‘निम्स दाइ’को नामले चर्चित् पुर्जाको अभियानको अन्तिम शिखरको रुपमा गन्तव्य बन्यो सिासापाङ्मा । चीनको स्वशासित क्षेत्र तिब्बतमा अवस्थित सिासापाङ्मा आरोहणलाई यो सिजनको लागि चीनले रोक लगाएको थियो । त्यसैले पुर्जाले आरोहण स्वीकिृतिको लागि निक्कै हारगुहार गर्नुपर्यो । र, नेपाल सरकारको पहलमा चीनले १५ अक्टोबरमा आएर स्पेसल परमिट दिएपछि पुर्जा प्रोजेक्ट पोसिबलको अन्तिम गन्तव्यतिर लागेका थिए ।

सगरमाथा आरोहणस“गै उनले डेथ जोनबाट केही आरोहीलाई उद्दार पनि गरेका थिए । त्यसले उनको अभियानले विश्वव्यापी चर्चा पाएको थियो । म्याग्दीका उनी सन् २००३ मा बेलायती सेनाको गोर्खा पल्टनमा भर्ती भएका थिए ।

त्यसपछि २००९ मा रोयल मरिनमा आबद्ध भएका उनले गोर्खा भर्तीको २०० वर्र्ष पुगेको अवसरमा सन् २०१७ मा १३ सैनिक आबद्ध ‘गोर्खा एक्सिपिडिसन’को नेतृत्व गरेका थिए । टिमको सफल आरोहणस“गै उनले बेलायतको प्रतिष्ठित् अवार्ड एमबीई र नागरिक सम्मान पाएका थिए । उनले पर्वतारोहणमा केन्द्रित हुने भन्दै गत वर्ष बेलायती सेना छाडेका थिए ।

कुन हिमाल कहिले चढे ?
२३ अप्रिलअन्नपूर्ण (८,०९१ मिटर), नेपाल
१२ मेधौलागिरि (८,१६७ मिटर), नेपाल
१५ मेकन्चन्जंगा (८,५८६ मिटर), नेपाल
२२ मेसगरमाथा (८,८४८ मिटर), नेपाल
२२ मेल्होत्से (८,५१६ मिटर), नेपाल
२४ मेमकालु (८,४८१ मिटर), नेपाल
३ जुलाईनांगा पर्वत (८,१२५ मिटर), पाकिस्तान
१५ जुलाईगासेरब्रम पहिलो (८,०८० मिटर), पाकिस्तान
१८ जुलाईगासेरब्रम दोस्रो (८,०३५ मिटर), पाकिस्तान
२४ जुलाईके टु (८,६१४ मिटर), पाकिस्तान
२६ जुलाईब्रोड पिक (८,०५१ मिटर), पाकिस्तान
२३ सेप्टेम्बरचो यू (८,१८८ मिटर), नेपाल
२७ सेप्टेम्बरमनास्लु (८,१६३ मिटर), नेपाल
२९ अक्टोबरसिसापाङ्मा (८,०२७ मिटर), चीन


प्रकाशित : कार्तिक १२, २०७६ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?