कांग्रेसमा विवाद चर्कंदै, तरुण दलको स्थापना दिवसमा छुट्टाछुट्टै कार्यक्रम

कुलचन्द्र न्यौपाने

काठमाडौँ — आन्तरिक मुद्दालाई लिएर कांग्रेसमा विवाद चर्कंदै गएको छ । भ्रातृ संस्था तरुण दलको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्थापन र संस्थापनइतर पक्षीय नेताहरूको विवाद सतहमा देखिएको छ ।

कांग्रेसमा विवाद चर्कंदै, तरुण दलको स्थापना दिवसमा छुट्टाछुट्टै कार्यक्रम

दलको स्थापना दिवसको अवसरमा आइतबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिए भने एक पक्षको कार्यक्रममा अर्को पक्षका नेताहरू सहभागी भएनन् । दलका अध्यक्ष जितजंग बस्नेतले पार्टी केन्द्रीय कार्यालय सानेपामा र महासचिवबाट निष्कासित भूपेन्द्रजंग शाहीले सामाखुसीको एक पार्टी प्यालेसमा एउटै समयमा चियापान राखेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका इतरपक्षीय अधिकांश नेता दुवैतर्फका कार्यक्रममा सहभागी भएनन् । अध्यक्ष बस्नेतले आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र वरिष्ठ नेता पौडेल विशिष्ट अतिथिका रूपमा आमन्त्रित थिए ।


दुवै नेता आउने प्रचारसमेत भएको थियो तर देउवाका अतिरिक्त उपसभापतिद्वय विजय गच्छदार, विमलेन्द्र निधि, सहमहामन्त्री प्रकाशरण महतसहितका संस्थापनपक्षीय नेताको बाहुल्य थियो । संस्थापन इतरपक्षमा रहेका केन्द्रीय सदस्य धनराज गुरुङ र शिव हुमागाईंबाहेक संस्थापन इतरपक्षीय नेताहरू कोही पनि सानेपाको चियापानमा उपस्थित भएनन् । शाहीले आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य रामशरण महत प्रमुख अतिथि थिए ।


महाधिवेशनको तयारी, भ्रातृ संस्थाका अधिवेशन, विभाग, केन्द्रीय कार्यसम्पादन समिति, नेविसंघको पुनर्गठन र तरुण दलको विवादलगायत विषयमा पार्टीभित्र संस्थापन र इतरपक्षबीच विवाद बढ्दै गएको छ । पछिल्लोपटक देउवाले १७ वटा विभाग गठन गर्ने प्रस्ताव गरेपछि पौडेल पक्ष चिढिएको छ । कार्यकाल सकिन तीन महिना बाँकी छँदा देउवाले विभागको संख्या बढाउन खोजेपछि गत बिहीबार केन्द्रीय कार्यसमिति बैठकसमेत बस्न सकेको थिएन ।


आसन्न महाधिवेशनलाई आफ्नो पक्षमा प्रभावित बनाउन सभापति देउवाले पार्टी सत्ताको दुरुपयोग गर्न थालेको आरोप पौडेल पक्षको छ । दुई महिनाभित्र (पछिल्लोपटक विधान संशोधन गरेर ६ महिना बनाइएको छ) गठन गर्नुपर्ने विभाग कार्यकाल सकिन लाग्दासमेत देउवाले गठन गर्न सकेका छैनन् । दर्जन बढी भ्रातृ संस्थाको अधिवेशन हुन सकेको छैन । आधा दर्जन भ्रातृ संस्था दशकदेखि तदर्थ शैलीमा चल्दै आएका छन् । महाधिवेशन र भ्रातृ संस्थाको अधिवेशन नगरी विभाग बढाउने प्रस्ताव ल्याइएपछि पौडेल पक्ष देउवासँग सशंकित बन्न थालेको छ ।


‘अहिलेसम्म विभाग गठन गर्न नसक्नेले एकाएक संख्या थप्ने प्रस्ताव ल्याउनु दुरुपयोगको प्रमाण हो,’ पौडेलनिकट एक केन्द्रीय सदस्यले भने, ‘पटक–पटक नयाँ–नयाँ विषय ल्याएर पार्टी कब्जा गर्ने रणनीति सभापतिजीले लिन थाल्नुभएको छ ।’ आफ्ना निकट केन्द्रीय सदस्यलाई विभाग प्रमुखको भाग पुर्‍याउन संख्या थप्ने प्रस्ताव ल्याइएको भन्दै पौडेल पक्षले महाधिवेशन संघारमा विभाग गठनकै औचित्व नरहेको बताउन थालेको छ । संस्थापनपक्षीय नेताहरूले भने सुविधाजनक बहुमतमा रहेका सभापतिलाई काम गर्नसमेत नदिएको आरोप लगाउँदै आएका छन् । सहमतिबाटै काम गर्न खोज्दा धेरै निर्णय अड्किएको उनीहरूको आरोप छ ।


देउवानिकट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले उपनिर्वाचनको संघारमा पार्टीभित्र विवाद बढाउन नहुने बताए । दलको स्थापना दिवसका अवसरमा समानान्तर कार्यक्रम आयोजना हुनु दुःखद रहेको उनले बताए । ‘यस्तो विवादले पार्टीलाई कमजोर बनाउन भइरहेका षड्यन्त्रलाई बल पुर्‍याउँछ,’ उनले भने, ‘यतिबेला विवाद होइन, एकताको खाँचो छ । एकतामा मात्रै कांग्रेसले अहिलेका चुनौती सामना गर्न सक्छ ।’


सानेपाको चियापान कार्यक्रममा देउवाले मात्रै संक्षिप्त मन्तव्य राखेका थिए । उनले त्यस अवसरमा आत्मसम्मान र स्वतन्त्रताका साथ बाँच्न पाउने अधिकारमाथि हमला हुन थालेको बताए । अर्को कार्यक्रममा महतले पार्टीभित्र न्याय र एकताका लागि लड्न आग्रह गरे । उनले तरुण दलभित्रको विवाद मिलाउन पार्टी पदाधिकारीलाई आग्रह गरेको बताए ।


‘पार्टीभित्र यस्तो विभाजन देखिनु दुर्भाग्य हो,’ उनले भने । महतअघि बोलेका केन्द्रीय सदस्य शेखर कोइरालाले तरुण दलको विवाद स्वाभाविक रहेको बताए । ‘पार्टीको केन्द्रमै विवाद छ भने दलमा विवाद हुनु स्वाभाविक हो,’ उनले भने, ‘एकपछि अर्को विवाद बढ्दै जानुमा पदाधिकारी मुख्य दोषी छन् ।’ अर्का वक्ता गुरुराज घिमिरेले पार्टी सामन्ती र हुकुमप्रमांगीबाट चल्न थालेको बताए । ‘पार्टीभित्र कुनै किसिमको सामन्त र निरकुंशतन्त्र स्वीकार गर्न सकिँदैन’ उनले भने ।


अध्यक्ष बस्नेतले पार्टीले सञ्चालन गरेको जागरण अभियानलाई औचित्यहीन भनी सार्वजनिक अभिव्यक्ति दिएको कारण देखाउँदै शाहीलाई महासचिव र साधारण सदस्यताबाट समेत निष्कासन गरेका थिए ।


प्रकाशित : कार्तिक ११, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?