कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यावरण पर्व

वातावरण, प्रकृति र पशुपन्छीलाई जोगाउनुपर्ने चेतना पर्वका विधिविधानले दिएका छन्
मनोज पौडेल

(कपिलवस्तु) — अस्ट्रियाबाट आएका वन्यजन्तुसम्बन्धी फोटो पत्रकार क्लाइड ओडोनेलले तिहारमा नेपाली चलन देखेर अचम्म माने । काग, कुकुर, गाई र गोरुको पूजा गरेको देखेर उनलाई अनौठो लागेको थियो । ‘फोटो खिच्न विश्वका धेरै मुलुक पुगें,’ उनले भने, ‘यस्तो प्रकृतिप्रेमी संस्कृति अन्त देखेको थिइनँ ।’

पर्यावरण पर्व

पशुपन्छी र मान्छेको सम्बन्ध प्रगाढ छ भन्ने देखाउन र बुझाउन यस्तो पर्व संसारकै लागि प्रेरणामूलक बन्ने उनले बताए ।


नेपालीको धर्म, संस्कृति र रीतिरिवाज प्रकृति, चरा र वन्यजन्तुमैत्री छ । नजानिँदो तरिकाले धर्म संस्कृतिले प्रकृतिलाई जोगाउन पुस्तौं पुस्तादेखि सिकाएको छ । वातावरणीय सन्तुलन र पारिस्थितिकीय प्रणालीलाई जोगाउनुपर्ने चेतना पर्वका विधिविधानले दिएका छन् ।


जुलोजिकल सोसाइटी अफ लन्डनका नेपाल प्रतिनिधि तथा वरिष्ठ चराविद् डा. हेमसागर बरालले जैविक विविधता संरक्षणमा चेतना दिन तिहार सन्देशमूलक चाड भएको बताए ।


‘यो चाडमा प्रकृतिका सबै पक्षको पूजा र मानसम्मान गर्ने परम्परा छ । तिहारमा यमराजदेखि देवीदेवतासम्म र पशुपन्छीदेखि मानिससम्मको पूजा गरिन्छ,’ उनले भने, ‘सृष्टि सञ्चालन गर्न हरेक पक्षको सहयोग हुन्छ । पहाड नभए जीवजन्तु बाँच्न सक्दैनन्, नदी बग्दैन, जल वर्षा हुँदैन ।’ जीवजन्तुकै कारण प्रकृति रमणीय हुने र अन्नभण्डार बढ्ने उनले बताए ।


तिहारले एकातिर दाजुभाइ, दिदीबहिनीबीचको पवित्र स्नेह एवं आत्मीय सम्बन्धलाई पुष्टि गर्छ भने अर्कातिर मानिस र पशुपन्छीबीचको प्रगाढ सम्बन्धलाई बल पुर्‍याउँछ । कछुवा तथा सरिसृप विशेषज्ञ प्रा. करनबहादुर शाह समाजमा सबै पक्षको बराबर अस्तित्व छ भन्ने मान्यतालाई तिहारमा गरिने पूजाले पुष्टि गरेको बताउँछन् । ‘नेपालीको यो संस्कृति विश्वमै उदाहरणीय छ,’ उनले भने, ‘सबैको अस्तित्वको सम्मान हुनुपर्छ र बाँच्न पाउनुपर्छ भन्ने सन्देश दिन्छ तिहारले ।’ त्यसैले यो संरक्षणको पर्व भएको भनाइ उनको छ ।


तिहारमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी खुसी भए धनसम्पत्ति आर्जन हुने जनविश्वास छ । लक्ष्मीको पूजा गर्दा उनको वाहन लाटोकोसेरोको पनि पूजा गर्न थालिएको छ । लाटोकोसेरो कृषकको असल साथीका रूपमा चिनिन्छ । यसले बालीनाली हानि गर्ने कीरा–फट्यांग्रा खाएर उत्पादन बढाउन सहयोग पुर्‍याउँछ ।


तौलिहवाका मूर्तिकार कृष्णदयाल ठाकुरले यस वर्ष पहिलो पटक लक्ष्मीको मूर्तिमा उनको वाहन लाटोकोसेरो पनि बनाए । तीन वर्षअघि कपिलवस्तुको जगदीशपुर तालमा आयोजित लाटोकोसेरो उत्सवमा जाँदा उनले यो कुरा थाहा पाएका थिए । लक्ष्मीसँगै गणेश र सरस्वतीको मूर्ति बनाउने गरेको उनले सुनाए । ‘मूर्ति तल दुवैका वाहन मुसा र हाँस बनाएर नयाँ लुक दिन्छु,’ उनले भने, ‘चरा र जनावर देख्दा सबै अचम्म पर्ने गरेका छन् ।’


तिहारमा पशुपन्छी र प्रकृतिको पूजा गरिन्छ । ‘पूजाआजाले श्रद्धा बढ्छ,’ चराविद् सोम जीसीले भने, ‘त्यस कारण पनि कम्तीमा पशुपन्छी मार्न हुँदैन भन्ने चेतना बढ्छ ।’


यमपञ्चकको पहिलो दिन अर्थात् कात्तिक कृष्ण त्रयोदशीमा कागपूजा गरिन्छ । अत्यन्त चलाख पन्छी मानिने कागले सबैलाई समान दृष्टि अर्थात् समदर्शी भावले हेर्ने र अन्नबालीमा लाग्ने कीरा, फट्यांग्रा खाइदिने हुनाले पूजा गरिन्छ । यमराजको सन्देश सुनाउने यमदूतका रूपमा लिइने यो पन्छी यमराजको पनि प्रिय हो ।


यमपञ्चकको दोस्रो दिन अर्थात् चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । कागजस्तै कुकुरलाई पनि यमराजको दूतका रूपमा लिइन्छ । यसले घरको रेखदेख गर्ने, अपराधी पत्ता लगाउने, अनुसन्धानमा सहयोग गर्ने र मानिसको आज्ञा पालक र रक्षकका रूपमा काम गर्दै आएको छ । प्राकृतिक एवं दैवी विपत्तिमा पूर्वसूचना दिने कुकुर भैरवको वाहन हो ।


लक्ष्मीको प्रतिमूर्ति गाईलाई तेस्रो दिन पुज्ने गरिन्छ । पोषण र कृषिमा गाईको भूमिका अतुलनीय रहँदै आएको छ । यसै दिन साँझ धनधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक लक्ष्मीको पूजा गरिन्छ । कात्तिक कृष्ण औंसीको यही रातमा घरआँगन उज्यालो हुने गरी दियो र बत्ती बालेर घरमा भित्रिन लक्ष्मीलाई आह्वान गरिन्छ ।


चौथो दिनलाई हलतिहार भनिन्छ । यो दिन गोरु र गोवर्द्धन पर्वतको पूजा गरिन्छ । वर्षभरि खाने अन्न उब्जाउन हलो तान्ने, पाटा लगाउने र दाइँ गर्ने काम गर्ने भएकाले गोरुको पूजा गरिन्छ । गोवर्द्धन पर्वतले प्रकृति र पर्यावरणको प्रतिनिधित्व गर्छ । पहाडले भरिएको देश नेपालमा पहाडको पूजा गरिनु प्रकृति र पर्यावरणप्रतिको कृतज्ञता ज्ञापनसमेत हो ।


पाँचौं दिनलाई भाइटीका भनिन्छ । यस दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्छन्, दाजुभाइले पनि दिदीबहिनीप्रति त्यसैगरी प्रेम र सम्मान व्यक्त गर्छन् । यसै सेरोफेरोमा नेवार समुदायमा म्हपूजा अर्थात् आफ्नो पूजा गर्ने चलन छ । मानिस स्वयं प्रकृतिको अंग भएकाले यसको पनि उच्च प्रतीकात्मक महत्त्व र सन्देश छ ।


प्रकाशित : कार्तिक ११, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?