जुवाको खालबाट २ करोड ४७ लाखसहित २५ पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — महानगरीय प्रहरी वृत्त महराजगन्जले जुवाको खालबाट दुई करोड ४७ लाख २० हजार रुपैयाँसहित २५ जनालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेहरुमा क्यासिनोमा मिटर ब्याजको धन्दा चलाउने 'बलराम' भनिने बले सापकोटा, शोभित सिलवाल लगायतका छन् ।

प्रहरीले उनीहरुलाई महाराजगन्जको साम्बला होटल पछाडि जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा व्यापारी, ठेकेदार, मारवाडी समुदायका व्यक्तिहरु रहेका प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रकाशित : कार्तिक १०, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कृषि–प्रविधिमैत्री पर्व

कमल रिजाल

कृषि–प्रविधिमैत्री पर्व हो तिहार । कृषिसित सम्बन्धित प्रशस्तै कृत्य सम्पन्न हुन्छन् यस पर्वमा । प्रागैतिहासिक कालमै सुरु भएको कृषि युग ।

फिरन्ते जीवन व्यतीत गर्दै आएको मानव झुन्डले जति बेला सामाजिक स्वरूप लिन थालेका थिए त्यति बेलादेखि नै जीवन यापनको साधन बनाएका हुन् कृषिलाई । संसारकै प्राचीनतम ग्रन्थ ऋग्वेदमै चर्चा भेटिन्छन् यसबारे ।

ऋग्वेदकालीन मानिस कोही पशुपालन गर्थे, कोही खेती किसानीमा लागेका थिए, कोही धागो कात्ने, कपडा बुन्ने गर्थे, कोही कुटानी पिसानीका साधन, ढिकी, जाँतो, ओखल मसल निर्माण गर्थे । ऋग्वेदमा पशु, पक्षीलाई देवता मानिएको मन्त्र पनि छन्, ओखल तथा मुसललाई देवता मानिएको मन्त्र पनि छन् । धागो तथा चर्खालाई देवता मानिएको मन्त्र छन् प्रकृति र पर्यावरणलाई देवता मानिएको मन्त्र पनि छन् । यिनै खेती किसानीसित सम्बन्धित शक्ति र समूहलाई सम्मान प्रकट गर्न सिकाएको छ तिहार पर्वले । यसैलार्ई केलाउने प्रयास गरिएको छ यस आलेखमा ।

जस्तो हामीलाई थाहा छ तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । यस दिन कागलाई बोलाएर खान दिने गरिन्छ । हिजोआज काग सम्मेलन गर्ने गरिएको पनि पाइन्छ कतैकतै । यहाँनेर काग भनेको काग मात्र नभई समग्र पक्षी समुदायको नाम हो भन्ने बुझ्नुपर्ने हुन्छ । उनीहरूको प्रतिनिधिको रूपमा लिइएको छ कागलाई । चराहरू सदैव मानवमैत्री रहँदै आएका छन् । चाहे कृषि बालीको संरक्षण गर्ने मामिलामा होस् चाहे कृषि फसल लगाउने र भित्र्याउने मामिलामा, सदैव मानव हितमा समर्पित हुँदै आएका छन् उनीहरू ।

कुखुरा समयसूचक पक्षी हो । यसलाई घडीको रूपमा लिन्थे प्राचीन कालीन मानिसहरू । कागलाई सन्देशवाहक पक्षी मानिएको छ । अहिले पनि काग कराउँदा कुनै सन्देश दिएको मान्यता राख्ने थुप्रै छन् गाउँघरमा । परेवालाई व्यावहारिक प्रयोगमै ल्याइएको इतिहास छ ।

वेदले चराहरू देवता तथा ऋषिसमान जस्तै ज्ञानी, गुणी, परहित र परोपकारमा समर्पित हुन्छन् भन्ने सन्देश दिएको छ । उनीहरूसम्बन्धी केही सूक्त समेत भेटिएका छन् वेदमा । ऋग्वेद दोस्रो मण्डलको ४२ औं र ४३ औं सूक्तलाई शकुन्त सूक्त भनिन्छ । शकुन्त भनेको चराहरूकै अर्को नाम हो । यी सूक्तका मन्त्रहरूले मानव जीवनमा चराको देनबारे राम्रै प्रस्ट्याउने काम गरेका छन् ।

त्यस्तै ऋग्वेद दसौं मण्डलको १६५ र १७८ औं सूक्तलाई क्रमशः पारावत सूक्त र तारक्ष सूक्त भनिएको छ । पारावत भनेका परेवा र तारक्ष भनेका गरुण प्रजातिका पक्षी हुन् । यी सूक्तका आशय पनि यस्तै यस्तै रहेका छन् । तिहार तिनै पक्षी समुदायप्रति सम्मान गर्न सिकाउने पर्व हो । जसरी चराहरू मानव हितमा समर्पित हुँदै आएका छन्, त्यसैगरी मानव व्यवहार पनि उनीहरू मैत्री हुनुपर्छ भन्ने सन्देश दिएको छ यस पर्वले ।

तिहार पर्वको दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । कुकुरलाई फूलमालाले पूजा गरी मीठो मीठो खान दिएर यो पर्व मनाइन्छ । कुकुर भनेका वफादार प्रहरी हुन् मानव जातिका । स्वामीभक्तिको अनुपम नमुना नै मानिन्छन् यी प्राणी । घ्राणशक्ति प्रचुर मात्रामा रहेको हुन्छ कुकुरमा । मानिसमा भन्दा उनीहरूमा कैयौं गुणा बढी सुँघ्ने शक्ति हुन्छ भन्छन् प्राणीशास्त्रीहरू । ठूलठूला आपराधिक घटना पत्ता लगाउन कुकुरको प्रयोग गर्ने गरिएको पाइन्छ हिजोआज । कसैलाई होच्याउनु पर्दा कुकुरको उपमा दिन्छन् कतिपय मानिस, तर यो मानिसको नभई कुकुरको अपमान हो भन्ने बिर्सन हुन्न । मानिसकै भाषा नबुझ्ने मानव समाजले कुकुरको भाषा कति बुझ्छन्, बुझ्दैनन् छुट्टै कुरा हो, तर कुकुरले भने उनीहरूको भाषा मात्र होइन मानिसको भाषा पनि बुझ्छन्, बुझेका हुन्छन् । मानिसलाई कुकुरसँग तुलना गर्दा मानिसको अपमान हुन्छ कि कुकुरको, सोझै अनुमान लगाउन सकिन्छ ।

कुकुरको चर्चा वेदमा पनि भएको छ, इतिहास र पुराणमा पनि । राजा रामको सहयोगमा पनि पुगेका छन्, महाराज युधिष्ठिरको सहयोगमा पनि उभिएका छन् यी प्राणी । कुकुरले देवराज इन्द्रको दूत बनेर सहयोग गरेको प्रसङ्ग आएको छ ऋग्वेदमा । ऋग्वेद दसौं मण्डलको १०८ औं सूक्तको देवता सरमा नामक कुकुर्नी हो । देवराज इन्द्रको दूत बनेर स्वयं देवताहरूले समेत गर्न नसकेको काम गरेकी छे उसले । यतिबेला गरिने कुकुरको पूजाले उनीहरूबाट मानव हितमा जेजति काम भएका छन् त्यति नै मानिसको व्यवहार पनि कुकुरमैत्री हुनुपर्छ भन्ने सन्देश दिएको छ ।

तिहारको तेस्रो दिन साँझ दीपावली गरी लक्ष्मी पूजा गर्ने चलन छ । घर–आँगन सफा तथा शुद्ध पारी उज्यालो बनाएर सर्वत्र हर्ष र उमङ्गका साथ यो पर्व मनाइन्छ । लक्ष्मीलाई फोहर तथा आलस्य र आपसी झैझगडा मन पर्दर्नै । जहाँ यस्तो वातावरण हुन्छ त्यहाँ लक्ष्मी आउँदिनन् भन्ने पौराणिक कथन छ । अल्छी र आलस्यको अवस्था पनि त्यस्तै छ । यस्तो स्थानमा न उनी आउँछिन् न बस्न रुचाउँछिन् । लक्ष्मीको वाहनले पनि यही अर्थ दिएको छ । उनको वाहन लाटोकोसेरो हो ।

यो प्राणी उज्यालोमा देख्न सक्दैन तर अन्धकारमा भने देख्न पनि सक्छ, सुन्न पनि सक्छ । यसको अर्थ हो— माता लक्ष्मीले त्यस्तै प्राणीलाई मन पराउँछिन् जो आफ्नै खुट्टामा उभिन सकेको छ । बैसाखीको आडमा जो पनि उभिन र हिँड्न सक्छन् तर प्रगति र उन्नति त्यसैले गर्छ, जसले आफ्नै क्षमतामा उभिन, हिँड्न, देख्न र सुन्न सकेको हुन्छ । उनले लाटोकोसेरोलाई वाहन बनाउनुको अर्थ यही हो । लक्ष्मीलाई पाउन उनलाई मन पर्ने व्यवहार गर्नुपर्छ । यो भनेको आपसी मेलमिलाप, सरसफाइ, सहयोग र उज्यालो नै हो ।

उज्यालोको अर्थ घर–आँगन मात्र होइन मन पनि हो । बुद्धि, विचार र व्यवहार पनि हो । जति घर–आँगन उज्यालो हुनुपर्छ त्योभन्दा बढी मन, बुद्धि, विचार र व्यवहार उज्यालो हुनुपर्छ । यतिबेला गरिने दीपावली र लक्ष्मीपूजा प्रकरणले यही अर्थ दिएको छ ।

तिहार पर्वको चौथो दिन गाई, गोरु र गोबर्धन पर्वतको पूजा गरिन्छ । यो भनेको विशुद्ध रूपमा कृषि प्रविधिसित सम्बन्धित प्रक्रिया हो । कृषिका लागि गाई पनि चाहिन्छ गोरु पनि चाहिन्छ । रूख, बिरुवा वनस्पति वा वन, जङ्गल पनि चाहिन्छ । वेदमा गाई, गोरु, कृषि तथा वनस्पति सम्बन्धी दर्जनौं सूक्त छन्, जसले उनीहरूलाई देवता मानेर सम्मान गर्न सिकाएका छन् ।

अथर्ववेदको तेस्रो काण्डको १४ औं सूक्तलाई गोष्ठ सूक्त, १७ औं सूक्तलाई कृषि सूक्त, १८ औं सूक्तलाई वनस्पति सूक्त तथा चौथो काण्डको ११ सूक्तलाई वृषभ सूक्त, २१ औं सूक्तलाई गो सूक्त र सातौं काण्डको ६० औं सूक्तलाई अन्न सूक्त भनिन्छ । गाई तथा बाच्छाको विशेषता वर्णन गरिएको केही प्रसङ्ग ऋग्वेद र यजुर्वेदमा पनि आएको छ । ऋग्वेद ८।१०१।१५ र यजुर्वेद २३।४८ यसैसित सम्बन्धित छन् । यसबाहेक वेदले पहाड पर्वतलाई समेत देवता मानेको छ । ऋग्वेद तृतीय मण्डलको ५३ औं सूक्त यसैको उदाहरण हो । त्यस्तै दसौं मण्डलको १४६ औं सूक्तलाई अरण्य सूक्त भनिन्छ । अरण्य भनेको वन, जङ्गल नै हो । यस सूक्तले जङ्गल तथा वनस्पतिलाई पनि देवता मानेको छ । त्यसैले गाई, गोरु तथा गोबर्धन पर्वतको पूजा गर्नु भनेको मानिसको व्यवहार उनीहरूमैत्री हुनुपर्छ भन्ने नै हो ।

तिहार पर्वको पाँचौं दिनलाई भाइ तिहार भनिन्छ । यस दिन यमराज, यमुना तथा दाजुभाइ र दिदी–बहिनीको पूजा गर्ने गरिन्छ । वास्तवमा यो भनेको प्रेम र सद्भावको आदान प्रदान हो । यति बेला दिदी–बहिनीले यमराज र यमुनाको पूजा गरी दाजुभाइको दीर्घ जीवनको कामना गर्छन् । दाजुभाइले दिदी–बहिनीलाई पूजा र सम्मानका साथमा यथोचित उपहार दिएर प्रेम र सद्भाव प्रकट गर्छन् ।

ऋग्वेद दसौं मण्डलको १४ औं सूक्तलाई यम सूक्त भनिन्छ । यस सूक्तले यमराजलाई काल (समय) का मालिक भन्दै सबैले एक दिन उनको ढोकामा जानैपर्छ तर यमराजलाई खसी पार्न सके उनको ढोकामा जानुपर्ने समय केही पर धकेल्न सकिन्छ भन्ने अर्थ दिएको छ । यसै मण्डलको १५४ औं सूक्त उनकै बहिनी यमुनासित सम्बन्धित छ । यस सूक्तमा यमुनाले यमपासमा बाँधिएको जीवलाई कसरी मुक्त गराउन सकिन्छ भन्ने चिन्तन गरेकी छन् । यस्तै यस्तै विशेषताले गर्दा तिहार हाम्रो विशिष्टतम् पर्व हुन पुगेको छ ।

प्रकाशित : कार्तिक १०, २०७६ ०८:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT