अन्तःशुल्क स्टिकर छपाइ : प्रतिवेदन लुकाएर विदेशीलाई टेन्डर

ऋषिराम पौड्याल

काठमाडौं — नेपाली कम्पनीसमेत सहभागी हुने गरी मापदण्ड बनाउन दिएको सुझावसहितको सरकारी प्रतिवेदन गुपचुप राखेर आन्तरिक राजस्व विभागले विदेशी कम्पनीले मात्र अन्तःशुल्क स्टिकर छाप्न पाउने सर्त राखेर टेन्डर आह्वान गरेको पाइएको छ  ।

अन्तःशुल्क स्टिकर छपाइ : प्रतिवेदन लुकाएर विदेशीलाई टेन्डर

सुरक्षात्मक मुद्रण उद्योग दर्ता र छपाइका लागि नेपालका निजी कम्पनीले पनि भाग लिन पाउने गरी मापदण्ड तयार गर्न २०७२ मंसिर ६ मा उद्योग विभागका महानिर्देशकको संयोजकत्वमा गठित कार्यदलको सुझावलाई गुपचुप राखेर करिब १ अर्ब ३४ करोडको टेन्डरको काम विदेशीलाई दिन लागिएको हो ।

कार्यदलले मुद्रणमा नेपालका निजी कम्पनीले समेत भाग लिन पाउने गरी मापदण्ड बनाउन सुझाएको थियो । उद्योग विभागका तत्कालीन महानिर्देशक तथा कार्यदल संयोजक महेश्वर न्यौपानेको अध्यक्षतामा २०७२ मंसिर २९ मा बसेको बैठकले स्टिकर मात्र नभई यस्ता प्रकृतिका सबै खालका छपाइका लागि सुरक्षित र गुणस्तरीयमा ध्यान दिन सुझाएको थियो ।

सुरक्षित मापदण्डका विषयमा छलफलै नगरी विदेशी कम्पनीले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी गत असोज १३ गते आन्तरिक राजस्व विभागले टेन्डर आह्वान गरेर कार्यदल सुझावको बेवास्ता गरेको पाइएको हो । नेपाली व्यवसायीले अन्तःशुल्क स्टिकर, मोबाइलको रिचार्ज कार्ड, बैंक चेक, हुलाक टिकट, राहदानीलगायतको छपाइ गर्न सक्ने दाबी गर्दै आएका छन् । कार्यदलमा नेपाल राष्ट्र बैंक, सूचना तथा सञ्चार, कानुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, आन्तरिक राजस्व विभाग र सूचना प्रविधि विभागका प्रतिनिधि सदस्य थिए ।

प्रतिवेदनका आधारमा लगानी प्रवर्द्धन बोर्डले मापदण्ड बनाएको छ । मन्त्रालयले कार्यान्वयन गर्ने निकाय उद्योग तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पठाएको प्रतिवेदनकै आधारमा बोर्डले उक्त सुझाव अघि सारेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष ०७१/७२ को बजेट वक्तव्यको बुँदा नम्बर १५५ मा सुरक्षित मुद्रणका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न निश्चित मापदण्ड पूरा गरेर सुरक्षित मुद्रण उद्योगको अनुमति दिने उल्लेख छ ।

अर्थमन्त्रीको सोही बजेट वक्तव्यलाई कार्यान्वयन गर्नुपर्ने नीतिगत निर्णयलाई समेत ध्यान दिएर कार्यदल गठन गरिएको थियो । तर बजेट वक्तव्यमा उल्लेख गरेका ५ आर्थिक वर्ष बिते पनि त्यसलाई कार्यान्वयन नगरी पुरानै प्रक्रियामा टेन्डर आह्वान गरिएको छ । कार्यदलको सुझावका आधारमा औद्योगिक प्रवर्द्धन बोर्डले दिएको रायमा भनिएको छ, ‘सुरक्षित मुद्रण उद्योग दर्ताका लागि तय गर्नुपर्ने मापदण्ड स्वीकृत गरी लागू गर्न एवं सोही मापदण्डबमोजिम मुद्रण उद्योग सञ्चालन गर्न मुद्रण विभागलाई सक्षम बनाउन सूचना तथा सञ्चार मन्त्रालयलाई अनुरोध गर्न वा स्वीकृत मापदण्डबमोजिम सुरक्षित मुद्रण उद्योग स्थापना गर्न निजी क्षेत्रलाई समेत अनुमति खुला गर्न मनासिब हुने ।’

कार्यदलको सुझावअनुसार स्टिकर वा यस्तै प्रकृतिका छपाइका लागि सूचना प्रविधि मन्त्रालयले मुद्रण विभागलाई सक्षम बनाउनुपर्ने वा निजी क्षेत्रलाई सहभागी गराउने गरी उनीहरूको प्रवेशलाई अनुमति दिनुपर्ने देखिन्छ । कार्यदलले दिएको सुझाव कार्यान्वयन नगरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाली व्यवसायीले पनि भाग लिन पाउने गरी मापदण्ड बनाएर मात्र टेन्डर प्रक्रिया अघि बढाउन एक वर्षअघि नै दिएको कुनै पनि निर्देशन पालना नगरी आन्तरिक राजस्व विभाग एकलौटी रूपमा अघि बढेको देखिन्छ ।

नेपाली व्यवसायीले आफूहरूले सुरक्षित एवं गुणस्तरीय छपाइ गर्न सक्ने दाबी गर्दै आएका छन् । निर्देशन लागू गर्न अटेर गरेपछि हाल गरिएको टेन्डर प्रक्रिया अघि नबढाउन एक साताअघि अर्को निर्देशन दिइएको लेखा समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

टेन्डर सूचनामा भने आवेदक कम्पनीले स्टिकर छापेर अरू देशमा आपूर्ति गरेको र १० वर्षमा ५ अर्ब वटा स्टिकर छापेको हुनुपर्ने सर्त राखिएको छ । साथै स्टिकर, पासपोर्ट वा बैंक नोट छापेको १० वर्षको अनुभव हुनुपर्नेलगायत सर्त छन् । अनावश्यक र नेपाली कम्पनीले टेन्डर प्रक्रियामा भाग लिन नपाउने गरी सर्त राखिएको व्यवसायीको आरोप छ । आफूले लेखा समितिको पत्र हेरेर पछि मात्र जवाफ दिने आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले बताए । सुझाव कार्यान्वयन किन गरिएन भनेर पटकपटक गरेको प्रश्नको जवाफ उनले दिन चाहेनन् ।

कार्यदलमा सदस्य सचिव रहेका राजन खनाल हाल अर्थ सचिव छन् । उनले अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुखको हैसियतमा समितिको सदस्य सचिवको जिम्मेवारी सम्हालेका थिए । अहिले उनकै मातहतको आन्तरिक राजस्व विभागको कार्यदलले दिएको सुझावविपरीत विदेशीले मात्र प्रतिस्पर्धा गर्न पाउनेगरी टेन्डर आह्वान गरेको हो । सचिव खनाललाई पटकपटक फोन र म्यासेज गर्दा पनि सम्पर्क हुन सकेन ।

प्रकाशित : कार्तिक १०, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?