१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

एक्स्काभेटरले हानिएकी महिला उपचारका लागि भारत

तृप्ति शाही

बैतडी — सडक निर्माणसम्बन्धी विवादमा स्थानीयमाथि एक्स्काभेटर चलाइँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ । दशरथचन्द–९ ग्वाल्लेकमा चिलाउने–पार्स सडक निर्माणक्रममा भएको झडपमा उनलाई एक्स्काभेटरले हुत्याएको थियो । 

एक्स्काभेटरले हानिएकी महिला उपचारका लागि भारत

घटनापछि पटकपटक बेहोस हुने समस्या देखिएकी गौरीलाई जिल्ला अस्पताल, धनगढी र कोहलपुरमा उपचार गराउँदा पनि निको नभएपछि भारत लगिएको पति जगदीशले बताए । उपचार खर्च जुटाउन मुस्किल परिरहेको पनि उनले सुनाए । ‘कोहलपुरमा दस दिनपछि आउनु भनी डिस्चार्ज गरिए पनि फर्किने बेला बाटोमै बेहोस हुन थालेकाले भारत लगेका हौं,’ उनले भने ।

सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका क्रममा दुई पक्षबीचको विवाद झडपमा बदलिएको थियो । प्रहरीले घटनामा संलग्न चालक किशोर बोहरा, एक्स्काभेटर मालिक भवानीदत्त जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।


कांग्रेस–नेकपा आरोप–प्रत्यारोप

नेपाली कांग्रेसको केन्द्रीय छानबिन समितिले उक्त घटना सत्ता र शक्तिको आडमा भएको निष्कर्ष निकालेको छ । समितिले शनिबार पत्रकार सम्मेलन गरी छानबिनको निष्कर्ष सुनाएको हो । घटनाको भोलिपल्ट कांग्रेसले पूर्वसभासद तथा पूर्वकञ्चनपुर जिल्ला सभापति बहादुरसिंह थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । डोजर मालिकसहित अन्यले दबाबमा पारेर चालकलाई एक्स्काभेटर चलाउन बाध्य बनाएको पाइएको समिति संयोजक थापाले बताए । बोहराले एक्स्काभेटर मालिकसँग कुराकानी गर्दा दबाब थेग्न नसकेर चलाएको बयान दिएकाले उनीहरू पनि मुख्य दोषी रहेको उनको आरोप थियो । घटना हुनुमा स्थानीय प्रशासनको पनि कमजोरी रहेको कांग्रेसको निष्कर्ष छ । निर्माणकार्य रोक्न स्थानीय बासिन्दा जिल्ला प्रशासन पुगे पनि ध्यान नदिनु त्रुटि भएको समितिले औंल्याएको छ ।


यस्तै नेकपा बैतडीले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला अध्यक्ष सुरेन्द्र पालले हस्ताक्षर गरेको विज्ञप्तिमा सडक खन्न अनुमति दिइएको, मेयर आफैंले सडक उद्घाटन गरेको र दुइटा सडक निर्माणका लागि पनि नगरपालिकाले नै आश्वासन दिएको उल्लेख गरेको तथा कांग्रेसका क्रियाशील सदस्य गोपालदत्त जोशीलाई समितिको अध्यक्ष बनाएर अर्को सडक खन्न लगाउँदा विवाद भएको उल्लेख छ । कांग्रेसनिकट शिक्षक दुर्गादत्त जोशीको उक्साहटमा सडक निर्माण गर्ने पक्षमाथि एक्कासि आक्रमण भएको नेकपाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।


छानबिन समितिको म्याद थपियो

घटना छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रजिअ लोकेन्द्रसिंह नेगीको संयोजकत्वमा गठन गरेको समितिको म्याद ५ दिन थप गरिएको छ । घटनाको भोलिपल्टै कात्तिक ६ गते २ दिनभित्र प्रतिवेदन बुझाउन समिति गठन गरिएको थियो ।

समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किसन चन्द, नगरपालिका र पूर्वाधार कार्यालयका एक/एक इन्जिनियर र अनुसन्धान कार्यालयका एक प्रतिनिधि छन् । ‘सबै काम सकिएको छैन । त्यसैले म्याद थपिएको हो । बिदाको दिन नगनिने भएकाले पनि समय चाहिएको हो । अब समयमै प्रतिवेदन बुझाउँछौं,’ समिति सदस्य चन्दले भने ।

प्रकाशित : कार्तिक १०, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?