राजमार्गमा दिनहुँ ह्वीलचियर
दमौली — पृथ्वी राजमार्गको सवारी चापलाई दिनहुँ छिचोल्दै एउटा ह्वीलचियर म्याग्दे–१ गुणादीको महेन्द्र मावितर्फ मोडिन्छ । ह्वीलचियरमा १५ वर्षीया नवीना खनाल हुन्छिन् । गुडाउँछन् उनका १४ वर्षीय भाइ आनन्द ।
नवीना २ र आनन्द ९ कक्षामा पढ्छन् । शारीरिक रूपमा अशक्त दिदीको पढ्ने रहर पूरा गर्न भाइले स्कुल लैजाने र घर फिराउने गरेका हुन् । ‘दिदीलाई लेखपढ गर्न रहर छ,’ आनन्द भन्छन्, ‘त्यसैले लाने–ल्याउने गर्छु ।’
घरबाट स्कुल पुग्न २० मिनेट लाग्छ । राजमार्गसम्मको बाटो अलि ओरालो छ । कहिलेकाहीँ आनन्दलाई ह्वीलचियर सम्हाल्न गाह्रै पर्छ । गाडीको निकै चाप हुने भएकाले उत्तिकै सतर्क रहनुपर्छ ।
नवीना पढाइमा लगनशील भएको कक्षा शिक्षक देवनारायण श्रेष्ठले बताए । १ कक्षाबाट उत्तीर्ण हुँदा उनी तृतीय भएकी थिइन् । ‘नवीनाका लागि विशेष कक्षा छैन,’ उनले भने, ‘अरू विद्यार्थीसँगै पढाउँदै आएका छौं ।’ उनी अरू साथीजस्तै बेन्चमा बस्न सक्दिनन् । कक्षामा पनि ह्वीलचियरमै हुन्छिन् । खाजा भने साथीहरूसँगै खान्छिन् । उनका दुवै गोडा र दायाँ हात चल्दैनन् । अपांगतामैत्री नभएकाले विद्यालय समयमा शौचालय जान पाउन्नन् ।
जन्मँदा नवीनाका गोडा चल्थे । वर्ष दिन नपुग्दै गुन्द्रीमा अल्झेर लडेपछि चल्न छाडे । क्याल्सियमको कमीले गोडाको हड्डी भाँच्चिएको चिकित्सकले बताएका थिए ।
नवीनाका बुबा नीरज नायर भारतीय हुन् । उनी ७ वर्षअघि भारत गए । सँगै गएकी आमा विमलाको उतिबेलै मृत्यु भयो । आमा बितेपछि फर्केका बुबा एक रात भाइसहित नवीनालाई कोठामा थुनेर बेपत्ता भए । घरबेटीले नवीनाका मामालाई खबर गरेपछि उनीहरूको उद्धार गरिएको थियो । त्यसयता दिदीभाइ मामाघरको आश्रयमा छन् ।
त्यहाँ उनीहरूलाई हजुरआमा रञ्जता खनालले रेखदेख गर्दै आएकी छन् । ‘नातिनीको लालनपालन गर्न अरू बालबालिका स्याहारेजस्तो सजिलो छैन,’ खनालले भनिन्, ‘तर म बाँचुन्जेल रेखदेख गर्छु । मै नभएपछि चाहिँ कसले गर्छ भन्ने चिन्ता लाग्छ ।’
प्रकाशित : कार्तिक १०, २०७६ ०७:२०