रौतहट विस्फोट प्रकरण : अनुसन्धान टुंग्याइँदै 

शिव पुरी

रौतहट — बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदार लगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलममाथिको अनुसन्धानलाई अन्तिम रूप दिने तयारी गरेको छ । घटनासित जोडिएका धेरै पात्र फेला पारेको प्रहरीले जनाएको छ । 

रौतहट विस्फोट प्रकरण : अनुसन्धान टुंग्याइँदै 

१२ वर्षअघिको बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका आलममाथि अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले शुक्रबार तेस्रो पटक प्रहरीलाई थप ८ दिन म्याद दिएको छ । प्रहरीले तिहारपछि सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अदालतमा पेस गर्ने भएको छ । सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर बम विस्फोटमा घाइते भएको र उनीहरूलाई जिउँदै इँटाभट्टामा हालेको भन्दै उनीहरूका परिवारजनले आलमलगायत विरुद्ध किटानी जाहेरी दिएका थिए । त्यस बेलाको घटनामा मारिएकाको संख्या भने यकिन हुन सकेको छैन ।


पहिलो सविधानसभा निर्वाचनको अघिल्लो दिन आलमकै गाउँ राजपुर फरदहवास्थित उनका काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । दिवंगत इद्रिस पूर्वमन्त्री हुन् । विस्फोटमा परी घाइते भएकालाई इँटाभट्टामा जलाइएको आरोप आलममाथि छ । बम विस्फोट नै नभएको भनी आलमले दिएको बयान झूटो भएको प्रहरीको ठम्याइ छ । झूटो बोले–नबोलेको पत्ता लगाउन प्रहरीले पोलिग्राफ परीक्षण गराउन खोज्दा आलमले मानेका छैनन् ।


तत्कालीन जिल्ला प्रहरी प्रमुख लक्ष्मण न्यौपानेकै सहयोगमा आलमले धेरै प्रमाण नष्ट गरेको पाइएको छ । एसपी न्यौपाने कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनमा मारिइसकेका छन् । घटना लुकाउन सहयोग गरेको भनिएका सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामा जागिरबाट निवृत्त छन् । तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीसमेत निवृत्त

छन् । उनीहरू पनि सोधपुछको दायरामा पर्न सक्ने प्रहरी स्रोतले जनाएको छ ।


घटनाका बेला राजपुरमा खटिएका तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदी र घटनापछि अनुसन्धान अधिकृत तोकिएका डीएसपी राजीव बस्नेतलाई सोधपुछका लागि जिल्ला प्रहरीले बोलाइसकेको छ । सुवेदी हाल पोखरा गणमा डीएसपी छन् । उनलाई घटनास्थल पुग्नै लाग्दा एसपी न्यौपानेले सञ्चारसेट मार्फत तत्कालै जिल्ला बोलाएको स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले अनुसन्धानका क्रममा देखेका, सुनेका र घाइते लगायतले सहयोग गरेको

बताए । ‘हामी थप प्रमाण जुटाउन लागिपरेका छौं,’ उनले भने, ‘घटनासित सम्बन्धित मानिस सम्पर्कमा आउने क्रम जारी रहेकाले अनुसन्धान लम्बिएको हो ।’ ज्यानको जोखिमले नबोली बसेकाहरूले अहिले घटनाबारे धमाधम बताइरहेको प्रहरीले जनाएको छ । सांसद आलम कर्तव्यज्यान मुद्दामा गएको असोज २६ गते पक्राउ परेका हुन् ।


प्रहरीले मृतकको कपडा र खरानी पनि जाँचका लागि पठाएको छ । घटनामा मारिएको भनी दाबी गरिरहेका दुवै परिवारबाट बाँकी रहेको कपडा संकलन गरी जाँचका लागि पठाइएको हो । घाइतेलाई जलाइएको भनिएको इँटाभट्टाको खरानी पनि परीक्षणका लागि पठाइएको छ । यसअघि तत्कालीन एसपी न्यौपानेले आलमलाई जोगाउन अर्कै इँटाभट्टाको माटो परीक्षणका लागि काठमाडौं पठाइएका थिए । घाइतेलाई जलाइएको इँटाभट्टालाई मासेर खेत बनाइएको छ ।


प्रहरीले घटनासित जोडिएका धेरै पात्रसित लिइएको बयानबाट घटना भएको पुष्टि हुने दाबी गरेको छ । विस्फोटबाट क्षति पुगेको गोठलाई रातारात दुरुस्त पार्न खटेका मजदुरले समेत प्रहरीसमक्ष साबिती बयान दिएका छन् । स्रोतका अनुसार उनीहरूले आफूले घरको मर्मत गरेको, अन्यत्रबाट माकुराको जालो ल्याएर पुरानो देखाउने प्रयास गरेको र उक्त घरमा भुस ल्याएर हाल्ने काम गरेको बयान दिएका छन् ।


प्रहरीले घाइतेलाई जिउँदै जलाउँदा चिम्नीभट्टामा खटिएका कामदारको प्रहरीले खोजी गरिरहेको छ । त्यस बेलाका मजदुरहरू धेरैजसो भारतीय रहेको प्रहरीले सुराकी पाएको छ । सर्वोच्च अदालतको मिसिलका साथै अधिकारकर्मीहरूको स्थलगत अध्ययन प्रतिवेदनले समेत घटना लुकाइएको र प्रहरीले फितलो अनुसन्धान गरेको निष्कर्ष निकालेको थियो । घटनास्थल पुगेका अधिकारकर्मी दीपेन्द्र झामाथि उसै बेला त्यहाका स्थानियले दुर्व्यवहारको प्रयाससमेत गरेका थिए । अहिले पनि सञ्चारकर्मीलाई आलमका मानिसले घटना भएको गोठको तस्बिर खिच्न दिएका छैनन् ।


कांग्रेसको दबाब जुलुस

कर्तब्यज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका सांसद आलमलाई रिहाइका लागि दबाब दिन कांग्रेसले शुक्रबार सदरमुकाम गौरमा मौन जुलुस प्रदर्शन गरेको छ । ठूलो संख्यामा सहभागी नेता कार्यकर्ताले हातमा ब्यानर बोकेर आलमको रिहाइ र सत्यतथ्य छानबिनको माग गरेका थिए ।


जुलुसमा कांग्रेसबाट निर्वाचित मेयरहरूसमेत सहभागी थिए । गौर नगरपालिका परिक्रमा गरेको जुलुस बीपी चोकमा आई कोणसभामा परिणत भएको थियो । सभामा पार्टीका जिल्ला सभापति यादवले सांसद आलमलाई १२ वर्षअघिको झुटो मुद्दामा फसाउन खोजिएको आरोप लगाए । पूर्वमन्त्री ब्रजकिशोर सिंहले बम विस्फोट नै नभएको र मृत्यु भएको भनिएका त्रिलोक र ओसीको चरित्र खराब रहेको आरोप लगाए ।


प्रवक्ता विश्वप्रकाश शर्माले अनुसन्धानमा सघाउनुपर्ने भन्दै आन्दोलन नगर्न कार्यकर्तालाई निर्देशन दिएका थिए । पार्टीका जिल्ला सभापति कृष्णा यादव लगायतका नेता, कार्यकर्ताले झन्डा नबोके पनि मौन जुलुस निकालेका हुन् ।

प्रकाशित : कार्तिक १०, २०७६ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?