पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तार गर्न सर्वे थालियो

सर्वे आयल निगम र भारतीय आयल कर्पोरेसन्सले संयुक्त रुपमा गर्ने
पेट्रोलियम पदार्थ १ लाख किलोलिटर र एलपी ग्यास २० हजार टन क्षमताको भण्डारण बनाउने लक्ष्य
बिस्तृत सम्भाव्यता अध्ययनपश्चात् लागत खर्च एकिन हुने
राजु चौधरी, पवन यादव

काठमाडौँ — नेपाल आयल निगमले मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनलाई चितवन (लोथर)सम्म बिस्तार गर्न सर्वे सुरु गरेको छ । निगमले शनिबार अमलेखगन्जमा कार्यक्रम गरेर सर्वेक्षणका लागि शुभारम्भ गरेको हो । सर्वेको शुभारम्भ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले गरे ।

सर्वेक्षण टोलीले मोतीहारीदेखि चितवनसम्म खाना पकाउने एलपी ग्यास पाइपलाइन परियोजनाको पनि सर्वेक्षण गर्नेछ। ‘इन्धनको सहज ढुवानी गर्न मोतीहारीदेखी अमलेखगन्जसम्म ३६.८ किलोमिटरको पाइपलाइन ल्याइसकेका छौं,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘यसलाई थप विस्तार गर्दे लोथरसम्म विस्तार गर्ने लक्ष्य छ।’ सर्वे निगम र भारतीय आयल कर्पोरेसन्सले संयुक्त रुपमा गर्नेछ। निगम र आइओसीको सयुक्त टोलीले ४ प्रकारका सर्वे गर्नेछन्। प्रवक्ता गोइतका अनुसार लोथरसम्म एलपी ग्यासको पाइपलाइनसँगै भण्डारण पनि बनाउने लक्ष्य छ।

यस परियोजनाअर्न्तगत अमलेखगन्जदेखि लोथरसम्मको पेट्रोलियम पाइपलाइनको लम्बाई ६२ किलोमिटर हुनेछ। नेपाल भारत बोर्डर वीरगन्जदेखि अमलेखगन्ज हुँदै चितवनसम्मको एलपी ग्यास पाइपलाइन ९८ किलोमिटर हुने जनाएको छ। पाइपलाइनको क्षमता २ सय ९० किलोलिटर प्रतिघण्टा र एलपी ग्यासको करिब १०० टन प्रतिघण्टा हुने प्रवक्ता गोइतले बताए।

पाइपलाइनपश्चात् लोथरमा इन्धन भण्डारण गर्न डीपो पनि निर्माण गरिने छ। लोथरमा १ लाख किलोलिटरको इन्धन भण्डारण बनाइने छ। एलपी ग्यास २० हजार टन क्षतमाको बनाइने उल्लेख छ। यस परियोजनाको लागत विस्तृत सम्भाव्यता अध्ययनबाट मात्रै एकिन हुनेछ।

इन्जिनियरिङ अध्ययन संस्थानको प्रारभिक अनुमानले भने पाइपलाइन निर्माणमा ५ अर्ब ६७ करोड लाग्ने उल्लेख छ। भण्डारण निर्माणमा ४ अर्ब १९ करोड गरी कुल ९ अर्ब ८६ करोड खर्च हुने जनाएको छ। एलपी ग्यासको हकमा पाइपलाइन निर्माणमा ११ अर्ब १९ करोड भण्डारण निर्माणमा ३ अर्ब ८१ करोड गरेर कुल १५ अर्ब लाग्ने जनाएको छ।


प्रकाशित : कार्तिक ९, २०७६ १७:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अवैध सम्बन्धको शंकामा हत्या

कान्तिपुर संवाददाता

जाजरकोट — अनुकूलको तयारी भएकाले योपटकको तिहार रमाइलो हुन्छ भन्ने उनलाई लागेको थियो । भेरी नगरपालिका–१, पिपेकी लीला रानाले तिहारको लागि रोटी पकाइवरी माइत जाने तयारी गरिसकेकी थिइन् ।

रुकुमपश्चिमको सानेभेरी–१ पक्र्‍याँमा रहेका भाइ तिलक रानापनि दिदीको प्रतीक्षामा थिए । तर गत आइतबार बिहान लिलाको जीवनलीला नै समाप्त भयो ।

२० महिनाअघि मस्तिष्क पक्षघातबाट श्रीमान गुमाएकी उनी मृत फेला परिन् । उक्त दिन बिहान ७ बजे घाँस काट्न जंगल गएकी उनी दिउँसोसम्म नफर्केपछि खोजी सुरु भएको थियो । ‘आमा नफर्केपछि खोज्न जाँदा मुलपानी खोलामा आमाको शव भेटियो,’ छोरा परशुरामले भने, ‘सुरुमा त लडेर मृत्यु भएको होला भन्ने भयो, पछि बुझ्दै जाँदा हत्या भएको रहेछ भन्ने खुल्यो ।’

४८ वर्षीया लीलाको हत्या भएकोबारे तीन दिनपछि मात्र खुलेको हो । सुरुमा परशुरामसहित सबैले भीरबाट लडेर मृत्यु भएको शंका गरेका थिए । उनले घाँटीमा लगाएको २ तोला सुनको सिक्री र आधा तोला सुनको कानबाली फेला नपरेपछि खोज्न जाने क्रममा लडेर मृत्यु नभई हत्या भएको खुलेको हो ।

भीर नभएको नाक्चेडाँडा खरबारीमा यत्रतत्र रगत देखिएपछि हत्याको शंका गरिएको उक्त वडाका वडाध्यक्ष दीपक रानाले बताए । उनका अनुसार घटनास्थलमा जमिनबाट ढुंगा उखेलिएको, ढुंगामा रगत लागेको, चार पुला खर काटेर छाडेको, सोही ठाउँमा हँसिया र मोबाइल फेला परेको थियो । ‘त्यसपछि त हामीलाई कसैले हत्या नै गरेको हो भन्ने ठम्याउन गाह्रो भएन,’ उनले भने, ‘यही जानकारी प्रहरीलाई दिएपछि घटनाको थप पर्दाफास भयो ।’

प्रहरीका अनुसार लीला र आफ्ना श्रीमानबीच अवैध सम्बन्ध रहेको भन्दै ४५ वर्षीय सगुनीले हत्याको योजना बनाएकी थिइन् । लीला जंगल गएको थाहा पाएपछि सगुनी पनि बिहान करिब ९ बजेतिर उतै गएकी थिइन् । उनले लिलालाई दुईपटक फोन गरे पनि रिसिभ भएन । ‘जंगलमा खोजतलास गरेर भेटाउने बित्तिकै कन्चटमा हँसियाले प्रहार गरिन्, त्यसपछि लखेटेर हत्या गरिन्,’ सगुनीको प्रारम्भिक बयान सुनेपछि प्रहरी निरीक्षक केशर कार्कीले भने, ‘हत्याबारे थाहा नहोस् भनेर भीरमा खसेजरी खोलामा फ्याँकिदिइन् ।’ हत्यापछि लीलाको सिक्री र कानको बाली घटनास्थलकै एउटा ढुंगामा लुकाएर राखेको खुलेको छ ।

छोरा परशुरामले सगुनीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । पक्राउ गरी अनुसन्धान सुरु गरिएको कार्कीले जानकारी दिए । उनका अनुसार सगुनीले आफ्ना श्रीमान बलबहादुरसँगको अवैध सम्बन्धको कारण हत्या गरेको बयान दिएकी छन् ।

प्रकाशित : कार्तिक ९, २०७६ १७:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT