१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

महरामाथि दुई अभियोगमा मुद्दा चलाउन राय

काठमाडौँ — निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणी (बलात्कार) र एउटै कार्यालयकी कर्मचारीसँग करणी प्रयास गरेको फरक–फरक दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ । महानगरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरी शुक्रबार सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको हो । 

महरामाथि दुई अभियोगमा मुद्दा चलाउन राय

सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख चन्द्रकान्त खनालले शुक्रबार अबेर प्रतिवेदन प्राप्त भएको जानकारी दिए । उनले तिहार बिदाका कारण आइतबारदेखि अदालत बन्द हुने भएकाले आगामी बिहीबार प्रतिवेदन अध्ययन गरेर निर्णय हुने बताए । ‘अध्ययन गर्न समय लाग्ने भएकाले तिहार बिदापछि कार्यालय खुल्ने दिन फाइलबारे निर्णय हुन्छ,’ खनालले कान्तिपुरसँग भने । उनले प्रतिवेदन अध्ययन नगरेकाले थप टिप्पणी गर्न नसकिने बताए ।


महानगरीय प्रहरी परिसर स्रोतका अनुसार महरामाथि मुलुकी अपराध संहिताको दफा २१९ मा उल्लेखित ‘जबर्जस्ती करणी’ को प्रयास गरेको अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको छ । दफा २२३ अनुसार एउटै कार्यालयमा कार्यरत कर्मचारीमाथि करणी प्रयासको आरोपमा पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । ‘हरेक कसुरको प्रयास (यसलाई कानुनी भाषामा उद्योग गरेको भनिन्छ) मा छुट्टै सजाय व्यवस्था आवश्यक छैन ।


संहिताको दफा ३४ मा कसुरको प्रयास गरेको तर कसुर सफल नभएको भए आधा सजाय हुने भनी सबै कसुरका हकमा आकर्षित हुने व्यवस्था गरेको छ,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता सञ्जीवकुमार रेग्मीले भने, ‘संहिताले कसुर मानेको हरेक अभियोगको आधा सजाय त्यसको उद्योगको अभियोगमा हुन्छ । तर जिल्लाले हेरिरहेको कुनै घटनाबारे चाहिँ सुरुमै हाम्रो टिप्पणी रहँदैन ।’


पीडित संसद् सचिवालयकी कर्मचारीको उमेर १८ वर्षभन्दा माथि रहेको र उनीमाथि बलात्कार प्रयास भएको आरोप लागेकाले पुष्टि भए महरालाई साढे ३ देखि ५ वर्षसम्मको सजाय हुन्छ । संहिताको दफा २१९ बमोजिम आरोपितलाई ७ देखि १० वर्ष कैदको आधा सजायको मागदाबी लिन प्रहरीले राय पेस गरेको हो । अदालतले पीडितलाई क्षतिपूर्तिको आदेशसमेत दिन सक्नेछ । त्यसका लागि बलात्कार प्रयास गरेको आरोप प्रमाणित हुनुपर्नेछ ।


प्रहरीले एउटै कार्यस्थल/कार्यक्षेत्रमा कार्यरत कर्मचारीमाथि करणीको प्रयास भएको आरोपमा पनि अभियोग मागदाबी गरेको छ । जसअनुसार दुई वर्षसम्म कैद सजाय र २० हजारसम्म जरिवाना हुन सक्छ । संहिताको दफा २२३ मा कार्यस्थल जोडिएको अवस्थामा चार वर्ष कैद र ४० हजार रुपैयाँ थप जरिवाना हुन सक्ने व्यवस्था छ तर प्रयास मात्रै भनिएकाले पुष्टि भए सजाय आधा हुनेछ । दफा २२३ ले कार्यस्थल र त्यसका कारणले हुने ‘करणी’ मात्रैलाई पनि कसुरयोग्य ठानेको छ ।


जसमा ‘कार्यालय वा पेसागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने’ उल्लेख छ । बलात्कार प्रयास र यौन दुर्व्यवहारको विषय समावेश भए मूल अभियोगमा थप सजाय हुनेछ । महरा प्रतिनिधिसभाका सभामुख थिए भने पीडित संसद् सचिवालयमा कार्यरत कर्मचारी हुन् । महरामाथिको अभियोग पदीय हैसियतअनुसार समेत प्रभावित बनाएको भन्ने देखिएको प्रहरी स्रोतले बतायो ।


दुवै अभियोगमाथिको सजायको दाबी हेर्दा महरामाथि साढे ५ देखि ७ वर्षसम्म सजाय हुन सक्छ । अभियोग प्रमाणित भई दुवै अभियोगको सजाय खप्टिए साढे ३ देखि ५ वर्ष सजाय हुने देखिन्छ ।


सुरुमा सार्वजनिक भएको भिडियोमा पीडितको कोठामा देखिएको मदिराले आरोपलाई थप संवेदनशील बनाएको छ । पीडितले बयानका क्रममा महराले मदिरा पिलाएको र आफूले पनि पिएको बताएकी छन् । मदिरा सेवन गरेपछिको व्यक्ति ‘होस ठेगानमा नरहेको अवस्था’ मा पुग्छ । संहिताको दफा २१९ मा ‘होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन’ भनेको छ ।


प्रहरीले संसद् सचिवालयमा कार्यरत ती कर्मचारीको स्वास्थ्य परीक्षण र फरेन्सिक जाँचसम्बन्धी प्रतिवेदन प्रमाणका रूपमा पेस गरेको छ । प्रहरीको दाबीअनुसार उक्त प्रतिवेदनले निवर्तमान सभामुख महरामाथिको अभियोगलाई बलियो आधार दिएको छ ।

महरालाई पक्राउ गर्नु दुई दिनअघि असोज १७ गते नै महानगरीय प्रहरी परिसर काठमाडौं र बानेश्वर वृत्तको टोलीले पीडित ती कर्मचारीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा फरेन्सिक जाँच र स्वास्थ्य परीक्षण गराएको थियो । त्यसको भोलिपल्ट प्रहरीमा महराविरुद्ध बलात्कार प्रयास गरेको आरोपमा किटानी जाहेरी परेको थियो ।


त्यही आधारमा असोज १९ गते अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ गरेको थियो । पक्राउलगत्तै सिंहदरबार प्रहरीको हिरासत कक्षमा राखिएका महरालाई त्यही राति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नियमित र फरेन्सिक जाँचमा लगियो ।


ती कर्मचारीको स्वास्थ्य परीक्षण प्रतिवेदनले उनीमाथि कुटपिटबाट शरीरमा चोटपटक लागेको निष्कर्ष निकालेको छ । महराको स्वास्थ्य परीक्षण प्रतिवेदनसमेत अध्ययन गरेपछि प्रहरीले महराको रगत परीक्षण गर्न आग्रह गरेको थियो । प्रहरीले महरा पीडितको घरमा गएको सीसीटीभी फुटेज, मोबाइलबाट भएका म्यासेज आदानप्रदान र फोन सम्पर्कका अभिलेखलाई प्रमाणका रूपमा पेस गरेको छ ।


कहिले के भएको थियो ?

असोज १२ : राति बलात्कार प्रयास आरोप

असोज १३ : हाम्रा कुरा डटकमबाट घटना सार्वजनिक, साँझ महराको सचिवालयबाट आरोपको खण्डन

असोज १४ : सभामुखबाट महराको राजीनामा, साँझ दुर्व्यवहार नभएको दाबीसहित सञ्चारमाध्यममा ती कर्मचारीको अन्तर्वार्ता

असोज १७ : पीडित कर्मचारीको त्रिवि शिक्षण अस्पतालमा फरेन्सिक परीक्षण

असोज १८ : महराले बलात्कार प्रयास गरेको भन्दै ती कर्मचारीबाट प्रहरीमा जाहेरी

असोज १९ : महरा बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ

असोज २३ : स्वास्थ्य समस्या देखिएपछि महरा नर्भिक अस्पताल भर्ना

कात्तिक ८ : महरामाथि करणी उद्योगमा मुद्दा चलाउनुपर्ने रायसहित प्रहरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस


प्रकाशित : कार्तिक ९, २०७६ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?