१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

तीन विदेशी एयरलाइन्स थपिए

अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सको संख्या ३१
सुरज कुँवर

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा दिने विदेशी एयरलाइन्सको संख्या ३१ पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतको ‘स्पाइस जेट’, कुवेतको ‘जजिरा एयरवेज’ र भारतकै ‘एयर भिस्टारा’लाई नेपाल उडानको अनुमति दिएपछि काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स ३१ पुगेका हुन् ।

तीन विदेशी एयरलाइन्स थपिए

यसअघि २८ वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्थे । मन्त्रालयको अनुमतिलगत्तै नागरिक उड्डयन प्राधिकरणले कुवेतको जजिरा एयरवेजलाई सातामा ७ वटा उडान अनुमति दिइसकेको विमानस्थलका एक अधिकारीले बताए ।


जजिरा हरेक दिन दिउँसो ४:२० मा कुवेतबाट काठमाडौं आउने तालिका छ । भारतको स्पाइस जेट र भिस्टारा उडान तालिका पाउने प्रक्रियामा छन् । ‘यी दुई भारतीय एयरलाइन्सको कागजात अध्ययन भइरहेको छ, मंसिर दोस्रो सातासम्म उडान तालिका उपलब्ध गराउँछौं,’ प्राधिकरणका एक अधिकारीले कान्तिपुरसँग भने ।


प्राधिकरणका अनुसार स्पाइस जेटले सातामा १४ उडान गर्नेछ, जसमा ७ वटा मुम्बईदेखि काठमाडौं र ७ दिल्लीदेखि काठमाडौं छन् । त्यस्तै भिस्टाराले दिल्ली–काठमाडौं ७ वटा उडान अनुमति मागेको छ ।


यी तीनै एयरलाइन्सले न्यारोबडी विमानबाट सेवा दिने जनाएका छन् । कुवेतबाट ०७४ मंसिरदेखि वातानिया एयरले काठमाडौं उडान गरेको थियो । तर यसले अहिले नेपाल उडान स्थगन गरेपछि नेपालबाट कुवेत सीधा उडान थिएन । भारत हुँदै कुवेत जाने नेपाली कामदारलाई अब काठमाडौंबाट सीधै कुवेत जान सहज हुनेछ ।


काठमाडौंमा १३ मुलुकका २५ वटा विदेशी एयरलाइन्सले सेवा दिँदै आएको विमानस्थलस्थित उडान सञ्चालन विभागले जानकारी दिएको छ । यिनले दैनिक ९५ देखि १ सय वटासम्म उडान गर्छन् ।

प्रकाशित : कार्तिक ८, २०७६ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?