कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सीको भ्रमण उपलब्धिमूलक : नेता नेपाल

नगेन्द्र अधिकारी

काभ्रे — पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सम्पूर्ण दृष्टिकोणबाट उपलव्धिमूलक भएको दाबी गरेका छन् ।

सीको भ्रमण उपलब्धिमूलक : नेता नेपाल

नेकपा काभ्रेले बनेपामा आयोजना गरेको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा बोल्दै नेकपा विदेश विभाग प्रमुख समेत रहेका नेता नेपालले सीले यहाँको व्यवस्थापन र शान्ति सुरक्षा देखेर प्रफुल्लित समेत भएको तर्क गरे ।


‘चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण मात्रै गर्नु भएको छैन एकरात नेपालमा बिताउनुभएको पनि छ,’ उनले भने, ‘ठूला देशका मान्छेहरु सुरक्षाको दृष्टिकोणबाट सम्बेदनशील हुन्छन्, तर उहाँ नेपालको शान्ति सुरक्षाको स्थिति देखेर प्रफुल्लित हुनुभएको छ, फर्किदा उहाँको अनुहारमा छुट्टै चमक थियो ।’ सीले नेपाललाई भूजडित राष्ट्रको रुपमा व्यख्या गरेको उल्लेख गर्दै नेता नेपालले दक्षिणतर्फ मात्रै नभइ उत्तरतर्फबाट पनि समुन्द्रसँग जोडिन चाहेको तर्क गरे ।


कांग्रेसले अवसर पाउँदा देश बनाउने भन्दा बर्बाद पार्ने काम गरेको आरोप लगाउँदै उनले जनताको आवश्यकता अनुसार काम गरेर मन जिते पटक पटक निर्वाचित गराउने तर्क गरे । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेमा विमानस्थल बनाउन डीपीआर भइरहेको बताए ।


‘काभ्रेलीको चाहना भन्दा पनि विमानस्थलको आवश्यकताका आधारमा काभ्रेमा काम सुरु भएको हो,’ मन्त्री बाँस्कोटाले भने, ‘हामीलाई एयरपोर्ट चाहिएको हैन, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको चाप व्यवस्थापन गर्नको लागि पनि काभ्रेमा विमानस्थलको आवश्यकता छ भनेका हौं ।’


काभ्रेमा विमानस्थल आवश्यक नभएको भन्दै पूर्वप्रधानमन्त्री नेपालले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । मन्त्री बाँस्कोटाले उक्त प्रसंग निकाल्दा नेपाल कार्यक्रमस्थलबाट बाहिरिसकेका थिए ।


सरकारले राम्रा काम गरेको दाबी गर्दै मन्त्री बाँस्कोटाले विपक्षीले फैलाएको हल्लाका पछाडि नलाग्न अनुरोध गरे । ‘कुरै नबुझिकन विपक्षीले फैलाएको हिृवमका पछाडि नलागौं, आफ्नै आङ कन्याएर छारो नउडाउन म साथीहरुलाई अनुरोध गर्छु,’ मन्त्री बाँस्कोटाले भने ।

प्रकाशित : कार्तिक ८, २०७६ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?