कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

मन्थली बजार डुब्ने खबरले स्थानीयको निन्द्रा हरायो

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछाप जिल्ला सदरमुकाम मन्थलीको अधिकांश क्षेत्र डुबानमा पर्ने खबरले तामाकोशी नदी किनार र आसपासमा बसोबास गर्ने सयौंको निन्द्रा हराएको छ । ‘अब कहाँ जाने होला ?’ मन्थली–२ का रमेश सुवेदीले आफ्नो फेसबुक पेजमा राति नै लेखेका छन् । केहिलाई ठुलो आयोजना बन्दा अवसर पाइने कुराले खुसी बनाएको छ तर धेरै बिलखबन्दमा छन् ।

मन्थली बजार डुब्ने खबरले स्थानीयको निन्द्रा हरायो

सुनकोशी–२ जलविद्युत आयोजना निर्माणका लागि विद्युत विकास विभाग मार्फत वातावरणीय प्रभाव मूल्यांकनको लागि क्षेत्र निर्धारणको सूचना स्थानीय निकायमा टाँस भएको छ । सूचना आएपछि मन्थलीबासीमा खुल्दुली र छट्पटी सुरु भएको हो । सदियौं देखि बसोबास गरेको मात्र नभइ करोडौंको सम्पत्ति पनि डुबानमा पर्ने कुराले सबैको मुख निन्याउरो भएका छन् । ‘पैसा त देला तर बास सार्ने कुराले निन्द्रा हराएको छ,’ रामेछाप–८ भोटटारकी श्रृजना माझीले भनिन्, ‘नजिकै बस्ने अर्को ठाउँ छैन ।’

सूचना प्रकाशित भएको कुरा हम्मेसी कोही पत्याउन तयार छैनन् । ‘यत्रो जिल्ला सदरमुकाम र पूर्वाधार नास्ने गरी डुबान गर्दैन होला,’ स्थानीय रामबहादुर माझी भन्छन्, ‘हुनै नसक्ने कुरा ।’ कोहि भने राष्ट्र्रिय गौरवको आयोजना बन्न दिनुपर्ने भन्दै त्यसको लागि वातावरण बनाउनुपर्नेमा जोड दिइरहेका छन । चिया पसल, डोबाटो, चोक र चौतारामा २ दिन देखि यहि विषयमा चर्चा भइरहेको छ । कहिले बास छोड्नु पर्ने हो ? भन्ने हुटहुटी धेरैमा देखिएको छ ।


जलासययुक्त सुनकोशी जलविद्युत आयोजनाले मन्थली नगरपालिकाको १, २, ६, ७, ८, र ११ डुबानमा पर्ने सूचनामा उल्लेख छ । समुन्द्र सतहबाट करिव ६ सय मिटर सम्मको भाग डुबानमा पर्दा उल्लेखित वडाहरुको नदी किनारभन्दा केही माथिको क्षेत्रसम्म पानी भरिने छ । विमानस्थल, जिल्लाका सरकारी कार्यालय, सडक मार्ग लगाएत डुब्नुका साथै खानेपानी र िंसंचाईका पूर्वाधार क्षतविच्छेद हुनेछन् ।

सिन्धुली र रामेछापको सीमा नदी सुनकोशीको चाकुटारमा १ सय ६१ मिटर अग्लो बाँध बनाएर पानी जमाउँदा तामाकोशीमा खिम्ती खोलाको दोभान सम्म पानी भरिन्छ । सुनकोशीमा पनि दोभानटार सम्मको भागमा पानी जम्ने कुरा सूचनामा उल्लेख छ । सुनकोशी तर्फ विपी राजमार्ग, मध्पहाडी राजमार्ग लगाएतका राष्ट्रिय पूर्वाधार ढुबानमा पर्छन् ।


आयोजनाको परामर्शदाता कम्पनी ईआरएमसी प्रालिका हाईड्रोपावर इन्जिनियर केशव खनालका अनुसार आयोजनाको प्राविधिकतर्फका कामहरु करिव पुरा भइसकेका छन् । विभिन्न चरणका प्राविधिक काम सकिएको र विस्तृत क्षतिको विवरण संकलनका लागि केही महिनामा टोली परिचालन गर्ने तयारी हुँदैछ ।

खनालका अनुसार सुनकोशी २ आयोजना झण्डै ३५ वर्ष अघिदेखी प्रारम्भिक अध्ययनमा आएको हो । सन् १९८५ मा जाईकाले उक्त आयोजनाको अध्ययन गरेको थियो । त्यसबेला देखि चर्चामा आएको उक्त आयोजना विद्युत विकास विभागले उच्च प्राथमिकतामा राखेको छ । आयोजनाबाट १ हजार १ सय ५० मेघावाट विद्युत उत्पादन हुने अनुमान गरिएको छ ।

खनालका अनुसार सुनकोशी २ आयोजनामा जलविद्युत का अतिरीक्त पानी जहाजसम्म चलाउने गरी सम्भाव्यता भइरहेको छ । आयोजना निर्माण गर्दा डुबान हुने क्षेत्रका बासिन्दालाई विस्तापित गर्नुपर्छ । ‘विस्तापन त्यति सहज छैन,’ खनाल भन्छन्, ‘प्राविधिक रुपमा आयोजना निर्माण फिजिवल भएपनि बस्ती धेरै डुबानमा पर्ने भएकाले त्यति सहज देखिएको छैन । धेरै वस्ती छ, पूर्वाधार, सदरमुकामको कुरा पनि भएकाले त्यति सजिलो चाहिं देखिएको छैन ।’


उनको अनुसार निर्माणको कुरा अहिले नै टुंगो लागेको अवस्था भने छैन । उनले जलासययुक्त अर्को आयोजना सुनकोशी ३ मा भने निर्माण कार्यको सम्भावन बढेको बताए । सुनकोशी ३ रामेछाप र काभ्रेको बीचमा सुनकोशी थुनेर निर्माण गर्ने गरी अघि बढेको छ ।


आयोजना बन्दा डुबानमा पर्ने हल्ला सँगै जग्गाको किनबेच, भवन निर्माण लगाएत सरकारी योजनाको निर्माणमा समेत प्रभावित भएका छन् । सूचनामा उल्लेख भएको क्षेत्रमा रामेछाप विमानस्थल विस्तार योजना, कबर्डहल, शान्तिपार्क निर्माण हुँदैछ भने मन्थली नगरपालिकाले बृहत पार्कको निर्माणको प्रकृया अघि बढाएको छ ।


प्रकाशित : कार्तिक ८, २०७६ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?