१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

शिक्षा क्षेत्रमा बेथिति : स्थानीय तहका आ–आफ्नै निर्णय

ओमप्रकाश ठाकुर

(सर्लाही) — जिल्लाका स्थानीय तहले शिक्षा क्षेत्रमा आफुखुशी निर्णय गर्न थालेका छन् । माध्यमिकस्तर सम्मको अधिकार स्थानीय तहमा आएको भन्दै उनीहरूले यस्ता निर्णय गरेका हुन् । 

सर्लाहीका केही स्थानीय तहले विद्यालयलाई दसैंदेखि तिहारसम्म एक महिना लामो बिदा दिएका छन् । उनीहरूले यती लामो बिदा दिँदा पनि संघ र प्रदेशसँग समन्वय गरेको पाईँदैन । यसले शिक्षामा एकरुपता देखिएको छैन । हरिपुर नगरपालिका–९ पिडारीस्थित रामलगन माध्यमिक विद्यालयको पठन पाठन सुचारु छ । तर, झन्डै डेढ किलोमिटर दूरीमा रहेको कविलासी नगरपालिका–२ पिपरियास्थित बालगोविन्द जनता माध्यमिक विद्यालय दसैंदेखि खुलेकै छैन । एउटा विद्यालय खुल्नु र अर्को बन्द रहनुको मुख्य कारण स्थानीय तह फरक नै हो । स्थानीय तहले शिक्षामा आफु खुसी निर्णय गरेपछि यो फरक आएको हो ।


माध्यमिक विद्यालयसम्मको सम्पूर्ण अधिकार स्थानीय तहमा आएपछि उनीहरूले मनलाग्दी निर्णय गरिरहेका छन् । विद्यालयमा लामो बिदाका लागि शिक्षा समन्वय इकाईको समन्वयमा संघ र प्रदेशको सहमतिमा दिनुपर्ने शिक्षाविद्ले बताएका छन् । यसले जिल्लाको शिक्षामा एकरुपता नहुने र विद्यार्थीलाई लामो समयको बिदाले पठनपाठनमा समस्या आउने उनीहरूको तर्क छ । बीस स्थानीय तह रहेको जिल्लामा केहीले गर्मी बिदा तथा जाडो बिदा कट्टा गरेर दसैं तिहारको बीचमा बिदा दिने निर्णय गरेका छन् । केहीले भने पुरानै निर्णयलाई निरन्तरता दिएका छन् । यस अघि स्थानीय तह गठन पुर्व दसैंको घटस्थापनादेखि पूर्णिमासम्म विद्यालय बन्द रहने गरेका थिए । पूर्णिमापछि भने पठन पाठन सुचारु हुने हुनेगरेको थियो ।


हरिपुर नगरपालिकाले दसैंको घटस्थापनादेखि पूर्णिमासम्म बिदा दिएर पुन: पठनपाठन सञ्चालन गरिएको नगरको शिक्षा शाखाले जनाएको छ । लामो बिदाले विद्यार्थीको पठन पाठनमा असर पर्ने भएकाले दसैं र तिहारको बीचमा विद्यालय खुल्नु विद्यार्थीको हितमा रहेको रामलखन माध्यमिक विद्यालयका शिक्षक सुरेन्द्र रायले बताए । ‘बिदाको बारेमा हामीसँग नगरपालिकाले सल्लाह मागेको थियो, लामो बिदाले विद्यार्थीको पठन पाठनमा असर पुग्छ भनेर हामीले भनेका थियौं,’ उनले भने, ‘त्यहीअनुसार निर्णय भएको छ, विद्यार्थीहरूको पढाइ पुन: सुचारु भएको छ ।’


यता केही स्थानीय तहले असोज १८ देखि कात्तिक १८ अर्थात छठसम्म लामो बिदा दिएका छन् । उनीहरूले दसैं र तिहारको बीचमा विद्यालयमा विद्यार्थीको संख्या न्युन हुने गरेकाले बिदा दिएको जनाएका छन् । यो बिदा गर्मी तथा जाडो बिदाबाट कट्टा गरिने समेत उल्लेख गरेका छन् । जिल्लाको कविलासी नगरपालिकासहित अधिकांश स्थानीय तहले दसैं र तिहारको बीचमा विद्यालय बिदा गर्न सार्वजनिक सूचना जारी गरेका थिए । उनीहरूले २ सय २० दिनको शैक्षिक क्यालेन्डरलाई ध्यानमा राखिएको जनाएका छन् । स्थानीय तहले लामो बिदा दिएपछि अभिभावकले विद्यार्थीको पठन पाठनमा असर पुग्ने भन्दै आपत्ति जनाएका छन् । ‘एक महिनाको लामो बिदाले विद्यालयमा भएको पढाई पनि विद्यार्थीले बिर्सिन्छन्,’ स्थानीय अभिभावक सरोज झाले भने, ‘ स्थानीय तहले शिक्षाको गुणस्तर सुधार गर्नुभन्दा बिदा दिनमा उद्वत देखिन्छ ।’


लामो समय बिदाले विद्यार्थी र अभिभावकलाई फलदायी नहुने नागरिक अगुवा रजनीकान्त झाले बताए । गर्मी मौसममा अत्याधिक गर्मी भएर थप बिदा दिनुपरेको र जाडो मौसममा पनि अत्याधिक जाडो भएर थप बिदा दिनुपरेकाले त्यो बिदा कट्टा गरेर दसैं तिहारको बीचमा लामो बिदा दिन नहुने उनको बुझाइ छ । पुर्व शिक्षक समेत रहेका झाले एकै भौगोलिक क्षेत्र रहेको ठाउँमा पनि शिक्षामा एकरुपता नरहेको जानकारी दिए । लामो समयको बिदाको मार विद्यार्थीमा पर्ने झाको कथन छ । ‘कुनै पनि बहानामा यो लामो बिदा विद्यार्थीको हितमा छैन, एउटै भौगोलिक क्षेत्रमा पनि एकरुपता छैन,’ उनले भने, ‘दसैं तिहारको बीचको पढाइले विद्यार्थीलाई उर्जा दिने काम गरेको थियो, त्यो स्थानीय तहले बुझ्ने प्रयास गरेनन् ।’ तराईको उखरमाउलो गर्मी तथा जाडो मौसममा शितलहरको कहर चलिरहेको समयमा त्यो बिदा कट्टा गरेर मौसम अनुकूल भएको समयमा बिदा दिनु गलत रहेको झाको भनाइ छ ।

जिल्लामा कुल ४ सय ६३ सामुदायिक विद्यालयछन् । तिनमा १ लाख ७४ हजार विद्यार्थी अध्ययनरत्त छन् ।


प्रकाशित : कार्तिक ८, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?