कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बोकेरै नुनतेल

डीआर पन्त

(डडेलधुरा) — ग्वान्नीका जयबहादुर बोहरा अहिले पनि आफैं भारी बोकेर नुनतेल ल्याउँछन् । यसका लागि उनी पैदलै धाउनुपर्ने अवस्था छ । २०५० सालमा गाउँबाटै मोटरबाटो आउने सुनेका थिए उनले । भित्री मधेसलाई पहाडसँग जोड्ने छोटो दूरीको जोगबुढा–शीर्ष–रूपाल सडक निर्माण थालिएको २६ वर्ष बित्यो । तर गाउँबाटै गाडी चढ्ने बोहराको सपना पूरा भएन । दिनभरि हिँडेर परशुराम नगरपालिकाको कटाल बजारबाट नुनतेल ओसार्छन् । 

महाभारत पहाडको सबैभन्दा उचाइमा रहेका तीन दर्जनभन्दा बढी गाउँको साझा पीडा हो यो । ‘जोगबुढा, शीर्ष र रूपाल जोड्ने सडक योजना सुरु भएपछि तराई–पहाड पैदल मार्गमा पर्ने गाउँका बासिन्दाले आफ्ना दिन फिर्ने कल्पना गरेका थिए,’ स्थानीय चक्र नाथले भने, ‘गाउँमा उब्जनी हुने फलफूल र तरकारी बिक्री गरेर जीवनस्तर सुधार्ने उनीहरूको सपना अहिलेसम्म पूरा हुन सकेन ।’ २६ वर्षमा एकपछि अर्को सडक योजना थपिए, हेर्दाहेर्दै भित्री मधेस जोड्ने ११ वटा सडक योजना सुरु भए तर तीमध्ये कुनैले महाभारत छुन नसकेको उनले गुनासो गरे ।


राष्ट्रिय गौरवका महाकाली करिडोर र मदन भण्डारी राजमार्गदेखि प्रदेश तथा स्थानीय सरकारले छुट्टै एक दर्जन सडक योजना प्राथमिकतामा राखेका छन् । तिनमा ३ अर्बभन्दा बढी रकम खर्च भइरहेको छ । महाभारत छिचोलेर डडेलधुराको सदरमुकाम र भागेश्वर गाउँपालिका जोड्ने यी सडकमा प्रगति शून्यजस्तै छ । भागेश्वर गाउँपालिका १ का वडा सदस्य कामदेव नाथले भने, ‘१५ वर्षमा भित्री मधेस र पहाड जोड्ने सडकका नाममा खर्च भएको बजेट २ अर्ब नाघ्छ तर प्रगति हेर्दा लाजलाग्दो अवस्था छ ।’ मदन भण्डारी राजमार्गको जिरो प्वाइन्ट मानेर साबिक रूपालदेखि महाभारतको माथिल्लो क्षेत्र हुँदै निर्माण हुने सडकका लागि ३ अर्बभन्दा बढी रकम छुट्ट्याइएको छ । योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले भने, ‘महाकाली करिडोरका लागि पनि यसै वर्ष काम सुरु हुनेगरी २ अर्बभन्दा बढी बजेट छुट्ट्याइएको छ ।’ महाकाली र मदन भण्डारी दुवै महाभारत छिचोलेर तराई जोडिने राजमार्ग हुन् । रूपालदेखि झापासम्मको मदन भण्डारी राजमार्गको निर्माण पश्चिमबाट सुरु हुने सरकारले नीति तथा कार्यक्रममा समेत उल्लेख गरेको थियो ।


रूपालदेखि जोगबुढा जोड्ने दुईवटा बेग्लाबेग्लै सडकमा प्रदेश सरकारले यस वर्ष १ करोडभन्दा बढी बजेट छुट्ट्याएको छ, रूपालदेखि बलकाँडे गाउँ हुँदै जोगबुढा जोड्ने एउटा र रूपालदेखि गुयला लेक हुँदै जोगबुढा जोड्ने अर्को । डडेलधुरा सदरमुकाम अमरगढी हुँदै चिर्किटे भएर भित्री मधेस जोड्ने अर्को सडकमा पनि प्रदेश सरकार र स्थानीय सरकारको एक करोडभन्दा बढी बजेट छ । आलीताल गाउँपालिकाको घुम्तीदेखि महाभारतको चौड वन्डली हुँदै अमरगढी जोड्ने सडकमा पनि यति नै रकम छ । यी सडकमा प्रदेश सरकार, आलीताल गाउँपालिका, भागेश्वर गाउँपालिका र अमरगढी नगरपालिकाले रकम खर्चंदै छन् । ‘कस्ता जनप्रतिनिधि र प्राविधिक हुन्, बुझ्नै सकिँदैन,’ असिग्राम मावि रूपालका शिक्षक आरडी जोशीले भने, ‘भित्री मधेस जोड्ने दुई सडक आवश्यक थियो तर विभिन्न उद्देश्यले महाभारतका डाँडामा डोजर आतंक छ ।’ आलीताल गाउँपालिकादेखि डडेलधुरा सदरमुकाम जोड्ने र परशुराम नगरपालिकादेखि सदरमुकाम जोड्ने अर्को सडक भए पुग्नेमा विभिन्न नाममा विकास बजेट दुरुपयोग भइरहेको उनले बताए ।


प्रकाशित : कार्तिक ८, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?