३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

उम्मेदवार छान्दै, प्रचारमा जुटे दल

प्रदेश १ मा पाँच जिल्लाका आठ स्थानीय तहमा उपनिर्वाचन हुँदै छ
प्रदेश १ ब्युरो

(विराटनगर) — निर्वाचन आयोगले उपनिर्वाचनको कार्यक्रम सार्वजनिक गरेपछि प्रदेश १ का विभिन्न जिल्लामा चहलपहल बढ्न थालेको छ । पाँच जिल्लाका ६ स्थानीय तहका ९ वटा पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदै छ । केही दलले उम्मेदवार छनोट गरिसकेका छन्, केही टुंग्याउने तयारीमा छन् ।

उम्मेदवार छान्दै, प्रचारमा जुटे दल

धरान उपमहानगरको प्रमुख पदमा उम्मेदवार सिफारिस गर्न नेकपा छलफलमा जुटेको छ । कांग्रेस भोट माग्दै घरदैलोमा व्यस्त भइसकेको छ । उसले गत असोज २५ गते नै नगर सभापति तिलक राईलाई उम्मेदवार सिफारिस गरेको थियो । घरदैलो अभियान धरानका ग्रामीण क्षेत्रमा केन्द्रित गरिएको उसले जनाएको छ । अधिकांश साना दल र केही स्वतन्त्र पार्टीले पनि उम्मेदवार सिफारिस गरिसकेका छन् ।


मेयर तारा सुब्बाको ०७५ साउन १ गते निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । ०७४ असार १४ गते सम्पन्न चुनावमा धरानमा कुल ८९ हजार ५ सय ४९ मतमध्ये ५३ हजार ८ सय १२ मत खसेको थियो । तत्कालीन एमालेका सुब्बाले करिब २० हजार ९ सय ७५ मत प्राप्त गरेका थिए । कांग्रेसका तिलक राईले १६ हजार १ सय २ मत पाएका थिए । संघीय समाजवादी (उपेन्द्र यादव) सँग गठबन्धन गरेको माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत प्राप्त गरेका थिए । निर्वाचन आयोग सुनसरीका अनुसार अहिले ९२ हजार ८ सय ५२ मतदाता पुगेका छन् ।


अघिल्लो चुनावमा कांग्रेसले धरानका २० वटा वडामध्ये १, २, ५, १४ र १८ र तत्कालीन माओवादी केन्द्रले वडा १७ मा मात्रै विजय हासिल गरेका थिए । बाँकी सबै वडामा तत्कालीन एमालेले प्रभुत्व जमाएको थियो ।


संखुवासभामा राजनीतिक दलहरू उम्मेदवार छान्न छलफल गर्न थालेका छन् । यहाँ मकालु गाउँपालिका अध्यक्ष र खाँदबारी गाउँपालिका ३ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवालको ०७४ माघ २९ गते गाडी दुर्घटनामा निधन भएको थियो । वडाध्यक्ष तोयानाथ ढुंगानाको ०७४ फागुन १३ गते हृदयाघातबाट मृत्यु भएपछि पद रिक्त छ ।


नेकपाले वडाध्यक्षका लागि उम्मेदवार टुंगो लगाएको छ भने कांग्रेसले छलफल तीव्र बनाएको छ । नेकपाको बुधबार खाँदबारी ३ मा बसेको बैठकले भरत घिमिरेलाई सर्वसम्मत छनोट गरेको वडा समिति अध्यक्ष भानु पराजुलीले बताए । कांग्रेसले केही दिनमा टुंगो लगाउने जिल्ला सभापति दीपनकुमार श्रेष्ठले जनाए । ‘तिहारअघि नै टुंगो लगाउन छलफल भइरहेको छ,’ उनले भने, ‘हामी पनि सर्वसम्मत चयन गर्छौं ।’ खाँदबारी–३ मा यसअघि नेकपाले जितेको थियो ।


मोरङको धनपालथान गाउँपालिका २ मा कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले नारायणप्रसाद साहको नाम सिफारिस गरेको हो । अन्य दलभित्र पनि दौडधुप सुरु भएको छ । तत्कालीन एमालेका तर्फबाट वडाध्यक्ष जितेका बलिराम भगतको सर्पले डसेर मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । नेकपाले कात्तिक १५ भित्र उम्मेदवार सिफारिस गर्ने बताए पनि अहिलेसम्म प्रक्रिया अघि नबढेको मोरङका पार्टी सचिव गणेश उप्रेतीले बताए । वडाध्यक्षमा अशोक मण्डल, अरुण चौधरी र पंकज मण्डलले दाबी गरिरहेका छन् ।


पाँचथरका तीनवटै स्थानका लागि नेकपाले उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले एउटामा लगाउन बाँकी छ । यहाँ एक गाउँपालिका अध्यक्ष र दुई वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । नेकपाको बुधबार सम्पन्न जिल्ला सचिवालय कमिटीको बैठकले फाल्गुनन्द गाउँपालिका अध्यक्षमा वीरबहादुर कुरुम्बाङलाई उठाउने निर्णय गरेको जिल्ला इन्चार्ज इन्द्रबहादुर आङ्बोले जानकारी दिए । वीरबहादुर पूर्वएमाले हुन् । यहाँ कांग्रेसले बृजाहाङ आङदेम्बेलाई उठाउने निर्णय गरेको छ । उनी जिल्ला कार्यसमितिका सचिव हुन् । कांग्रेसबाट निर्वाचित अध्यक्ष अम्बरकुमार नेम्वाङको कार्यक्रममा सहभागी भइरहँदा अचानक मृत्यु भएको थियो ।


नेकपाले फिदिम नगरपालिका १ को वडाध्यक्षमा गजाधर भट्टराई र हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्षमा गेहनाथ रिजाललाई उठाउने निर्णय गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपछि हुन लागेको पहिलो निर्वाचनमा सबै पूर्वएमाले पृष्ठभूमिका उम्मेदवार छानिएका छन् । सचिवालयले निर्णय गरे पनि प्रदेशबाट अनुमोदन हुनुपर्ने नेताहरूले बताएका छन् । कांग्रेसले वडा १ को उम्मेदवार टुंगो लगाएको छैन भने वडा ७ मा तिलविक्रम इदिङ्गोलाई उठाउने निर्णय गरेको छ । लिम्बुवानलगायतका अन्य दलले पनि उम्मेदवारी दिने बताएका छन् ।


प्रदेश १ मा तीनवटा स्थानीय तहको प्रमुख र ६ वडामा उपनिर्वाचन हुँदै छ । सुनसरीको धरान उपमहानगरमा मेयर पद रिक्त छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका र संखुवासभाको मकालु गाउँपालिकामा अध्यक्ष पद रिक्त छ ।


धरान उपमहानगर–७, पाँचथरकै फिदिम नगरपालिका–१ र हिलिहाङ गाउँपालिका–७, मोरङको धनपालथान गाउँपालिका–२, संखुवासभाको खाँदबारी गाउँपालिका–८ तथा खोटाङको सकेला गाउँपालिका–३ मा वडाध्यक्ष पद खाली छ ।





प्रकाशित : कार्तिक ८, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?