कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अवैध हतियारको सधैं त्रास

प्रदेश ब्युरो

(जनकपुर) — भारतसँग सीमा जोडिएका जिल्लामा सामान्य झगडा, लेनदेन विवादमा समेत पेस्तोलबाट गोली प्रहार हुने गरेको छ । सीमावर्ती भारतीय बजारमा सहज उपलब्ध हुनुका साथै खुला सिमानाका कारण साना हतियार नियन्त्रण प्रहरीलाई समेत चुनौतीपूर्ण बनेको छ । 

अवैध हतियारको सधैं त्रास

  • आर्थिक लेनदेन विवादमा बुधबार जनकपुरमा निर्माण व्यवसायी पंकज चौधरीले स्वचालित पेस्तोलले गोली हानी पेट्रोलियम व्यवसायी मनोज साहको हत्या गरे । प्रहरीले चौधरीको घरबाट अवैध हतियार र गोली बरामद गरेको छ ।
  • सिरहाको कल्याणपुर नगरपालिका ११ मा सञ्चालित राजाराम मनी ट्रान्सफरका सञ्चालक राजाराम साहलाई गत वर्ष साउन २४ गते चार जनाको समूहले पेस्तोल देखाई २५ लाख ६० हजार रुपैयाँ लुट्यो । त्यसको डेढ महिनाअगाडि कल्याणपुरकै शिवम मनी ट्रान्सफरका कर्मचारी धनवीर यादवको ११ लाख ३९ हजार रुपैयाँ लुटियो ।
  • गत पुस २४ गते हरिपुर्वा नगरपालिका–९, वसन्तपुरमा स्थानीय जयनारायण यादवको घरमा पञ्चायती भइरहेका बेला त्यही ठाउँका सञ्जयकुमार यादवले जयनारायणमाथि एक्कासि पेस्तोल ताके । स्थानीयले प्रतिकार गरेपछि सञ्जय हतियार छाडेर भागे ।


ससाना झमेलामा पनि पेस्तोल देखाउने र फायर खोल्ने घटना बढेपछि अवैध हतियार नियन्त्रण अभियान तीव्र पारेको प्रहरीले बताउँदै आएको छ तर यस्ता घटना हुन छाडेका छैनन् । सामान्य झगडा र लेनदेन विवादमा अवैध हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा ‘मेड इन यूएस’ लेखिएका पेस्तोलको प्रयोग भएको पाइएको छ ।


प्रदेशका ८ वटै जिल्ला भारतसँग जोडिएका छन् । खुला सिमानाका कारण सीमा वारपारको उठबस र सम्बन्धले आपराधिक गतिविधिलाई पनि मलजल गरेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले बेला–बेला बरामद गरेका साना हतियार सीमापारि भारतबाट भित्र्याएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका एक प्रहरी अधिकृतका अनुसार भारतीय सीमावर्ती बजारमा गोलीसहित कटुवा पेस्तोल ५ देखि ७ हजारसम्ममा खरिद–बिक्री हुने गरेको छ । केही वर्षअघिसम्म जनकपुरमै साना हतियारको कारोबार हुने गरेकामा प्रहरीको कडाइपछि सीमावर्ती क्षेत्रमा हतियार लेनदेन हुने गरेको ती अधिकृतले बताए । ‘हतियारमा अपराधी र लागूऔषधको कुलतमा फसेका व्यक्तिको सहज पहुँच देखिन्छ,’ ती प्रहरी अधिकृतले भने ।


एक महिनाअगाडि जनकपुरको मणिपालमा लागूऔषध दुर्व्यसनी हतियारसहित पक्राउ परेका थिए । ३ महिनामा मात्रै धनुषामा ५ थान अवैध हतियार प्रहरीले बरामद गरेको छ । प्रदेशका ८ जिल्लामा पछिल्ला ३ महिनामा १८ थान हतियार, ५३ राउन्ड गोलीसहित ३१ जनालाई प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । पर्साबाट ३ थान हतियार, ७ राउन्ड गोली, बाराबाट १ थान हतियार, रौतहटबाट ३ थान हतियार, ४ राउन्ड गोली, सर्लाहीबाट २ थान हतियार ४ राउन्ड गोली, धनुषाबाट ५ थान हतियार १० राउन्ड गोली र सिरहाबाट ३ थान हतियार र ६ राउन्ड गोली प्रहरीले बरामद गरेको छ । प्रदेश २ का ८ जिल्लामा प्रहरीले आर्थिक वर्ष ०७५/७६ मा ६८ थान हतियार, १ सय ३६ राउन्ड गोली, १० थान म्यागजिनसहित ६६ जनालाई पक्राउ गरेको थियो ।


सहज पहुँच

गत वर्ष कातिकमा मिर्चैया १० का २० वर्षीय मुकेशकुमार यादव एउटा कटुवा पेस्तोलसहित पक्राउ परे । असोज २२ गते सिरहा प्रहरीले लक्ष्मीपुर पतारी १ का २० वर्षीय रामविनय साहलाई एसएलआर राइफलको एक थान गोलीसहित पक्राउ गर्‍यो । असोजमै लहान नगरपालिका ४ बाट दुइटा कटुवा पेस्तोल र एक राउन्ड गोलीसहित रञ्जितकुमार यादव र रामचन्द्र पासवान पक्राउ परे ।


प्रहरीले सानाठूला हतियार बरामद गरिरहे पनि सिरहामा साना हतियार प्रयोगबाट आपराधिक क्रियाकलाप बेलामौकामा भइरहेकै छ । हतियारधारी समूहको गोली प्रहारबाट गत वर्ष वैशाख २४ मा सिरहाको बुढिया चापमा सिरहा अर्नामा १ का २२ वर्षीर्य धर्मेन्द्रकुमार सिंहको हत्या भयो ।


जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आर्थिक वर्ष २०७५/७६ मा हातहतियारसम्बन्धी ९ वटा मुद्दा चलेका छन् । ती मुद्दामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ३ वटा हातहतियारसम्बन्धी मुद्दामा ४ जना पक्राउ परेका छन् ।


नेपाल–भारत खुला सीमाका कारण रिसइबी साध्न र आपराधिक गतिविधिमा प्रयोग गर्न केही व्यक्तिले सानाखाले अवैध हतियार राखेको हुन सक्ने भन्दै खोजी अभियान जारी राखेको प्रहरीले जनाएको छ । पहिलाजस्तो तराईमा खुला रूपमा देखाएर हतियार बोक्न सक्ने अवस्था नरहेको प्रहरीले दाबी गरेको छ ।


सर्लाहीमा एक वर्षयता अवैध हतियारबाट दुई जनाले ज्यान गुमाएका छन् भने एक जना घाइते भएका छन् । यही अवधिमा प्रहरीले आठ थान अवैध हतियार बरामद गरेको छ ।


बस्तीहरूमा बेलाबेला हुने झैझगडा र झडपका घटनामा साना हतियारको प्रयोग हुँदै आएको छ । जंगली क्षेत्रमा चोरीसिकारी र लुटपाटमा पनि अवैध हतियारको प्रयोग हुँदै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


गत कात्तिक १३ गते रामनगर गाउँपालिकामा दुई पक्षबीचको झडपमा अवैध हतियार प्रयोग भएको थियो । त्यति बेला गोली लागेर स्थानीय रामविलास महतोको ज्यान गएको थियो । घटनामा सात जना घाइते भएका थिए । यस्तै गत फागुनमा अज्ञात समूहको गोली प्रहारबाट सदरमुकाम मलंगवा नगरपालिका–२ का ३१ वर्षीय युवक मनोज यादवको मृत्यु भएको थियो । यादवमाथि पाँच राउन्ड गोली प्रहार भएको थियो ।


लुटेरा समूहले गत मंसिरमा पेस्तोल देखाएर सर्लाहीको बाँके जंगलबाट दिउँसै ९ लाख ९० हजार रुपैयाँ लुटेको थियो । दुई वटा मोटरसाइकलमा आएका चार जनाले पेस्तोल देखाएर ईश्वरपुर नगरपालिका–१३, श्रीनगरस्थित महारानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनेश्वर महतोलाई लुटेका हुन् । यस्तै गत भदौ २७ गते ईश्वरपुर नगरपालिका–११ खैरामा दाजु भाइबीचको विवादमा पनि अवैध हतियारको प्रयोग भएको थियो । स्थानीय राजेश साहले भाइ उमेशलाई पेस्तोल देखाउँदा त्यही पेस्तोल समातेर उमेशले दाजुमाथि गोली प्रहार गरेका थिए । पेटमा गोली लागेर राजेश गम्भीर घाइते भएका थिए ।


प्रहरीले सुराकीका आधारमा लुकाइछिपाइ तथा बेवारिसे अवस्थामा राखिएका हतियार बरामद गर्दै आएको छ । प्रहरीले गत वर्ष कात्तिक २३ गते चक्रघट्टा गाउँपालिका–७ पटेर्वाका विवेककुमार यादवले घरमा लुकाइछिपाइ राखेको एउटा कटुवा पेस्तोल बरामद गरेको थियो । यस्तै गत वर्ष मंसिर ११ गते रामनगर गाउँपालिका–४ बौहर्वाका लालबाबु रायको टायरगाडामा प्रहरीले एउटा बन्दुक फेला पारेको थियो ।


गत माघ २२ गते भारतीय बजार सोनबर्साबाट अवैध हतियारसहित मलंगवा आउँदै गरेका भारतीय नागरिक सुनीलकुमार मण्डल पक्राउ गरे । ‘मेड इन यूएसए’ लेखिएको एउटा अत्याधुनिक पेस्तोलसहित उनी मलंगवा नगरपालिका–९ स्थित ओम पेट्रोलपम्प नजिकबाट पक्राउ परेका थिए ।


हतियारको आडमा धम्की

रौतहट प्रहरीले एक वर्षमा अवैध हतियार बोकेका चार भारतीयसहित २२ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई हातहतियार तथा खरखजना ऐनअन्तर्गतको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।


एक साताअघि ईशनाथ नगरपालिकाको सीमाक्षेत्रमा एक युवकको गोली हानी हत्या भयो । युवकको सनाखत हुन सकेको छैन ।


जिल्ला प्रहरीका प्रमुख एसपी भूपेन्द्र खत्रीले खुला सीमा भएकाले साना हतियार चुनौती भए पनि यसलाई रोक्ने प्रयास गर्दै आएको बताए । ‘सीमाक्षेत्रमा निकै कडाइ गरेका छौं,’ उनले भने, ‘खुला सिमाना भएकाले चोर बाटो हुँदै अवैध हतियार भित्र्याएर अपराध गर्न खोज्छन् तर उच्च सतर्कता अपनाएका छौं ।’


सुरक्षा अधिकारीहरूको सीमा बैठकपिच्छे साना हतियारको विषय उठ्ने गरेको छ तर पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन । रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले मधेसमा साना हतियारको ओसारपसार गम्भीर चुनौती भएको बताए ।

शरीरको कुनै पनि भागमा सहजै लुकाउन सकिने हुनाले अपराध गर्नेले यसलाई बोकेर हिंड्न सक्छन् । साना सवारीमा समेत लुकाएर साना हतियार ओसारपसार गरेको पाइएको छ ।


सप्तरीमा सोमबार राति सशस्त्र प्रहरीले छिन्नमस्ता गाउँपालिका २ मोहनपुरमा सुरक्षा जाँच गरिरहेका बेला नम्बर प्लेट नभएको एउटा मोटरसाइकल चेक प्वाइन्टभन्दा ५० मिटर पर रोकियो । प्रहरीहरू मोटरसाइकलसम्म पुग्दा सवार व्यक्ति भागिसकेका थिए । प्रहरीले मोटरसाइकलमा रहेको बोरा जाँच्दा कस्तूरी नामक मदिरा २८ बोतल र त्यसको बीचमा गोली लोड भएको एक थान पेस्तोल फेला पर्‍यो ।


विगतमा सशस्त्र समूहमा रहेकामध्ये केहीले सरकारसँगको वार्तापछि हतियार बुझाए पनि धेरैले साना हतियार आफैंसँग राखेका थिए । तिनै हतियार बेलाबखत आपराधिक काममा प्रयोग हुने गरेको प्रहरीको अनुमान छ । सीमावर्ती भारतीय बजारमा सहजै पाइने भएकाले कतिपयले साना हतियार खरिद गरेर नेपाल भित्र्याउने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले विगतजस्तो साना हतियारको बिगबिगी नदेखिए पनि खुला सिमानाका कारण साना हतियार सुरक्षा चुनौतीकै रूपमा रहेको बताए ।


– सन्तोष सिंह (धनुषा), अवधेश झा (सप्तरी), भरत जर्घा मगर (सिरहा), ओमप्रकाश ठाकुर (सर्लाही), शिव पुरी (रौतहट)


प्रकाशित : कार्तिक ८, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?