१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

शुल्क फिर्ता माग्दा एमबीबीएसका विद्यार्थीमाथि कुटपिट

भूषण यादव

वीरगन्ज — वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीले बिहीबार सडकमा विरोध प्रदर्शन गरेका छन् । विभिन्न नारा लगाउँदै विद्यार्थीले अपरान्ह वीरगन्ज बजार परिक्रमा गरेका थिए ।

शुल्क फिर्ता माग्दा एमबीबीएसका विद्यार्थीमाथि कुटपिट

काठमाडौं उपत्यका बाहिर सरकारले निर्धारण गरेको ४२ लाख ५० हजार रुपैयाँ शुल्क भन्दा नेशनल मेडिकल कलेजले बढी लिएको विद्यार्थीले बताए । विभिन्न बहानामा प्रति विद्यार्थी १२ लाख देखि १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको विद्यार्थीले बताए । अतिरिक्त शुल्क फिर्ताको माग राख्दा कलेजका सञ्चालक बशरुद्दिन अन्सारीले गुन्डा लगाएर कुटपिट गरेको विद्यार्थीले आरोप लगाएका छन् । चिकित्सक शिक्षा सुधार संघर्ष समितिले विद्यार्थीको आन्दोलनमा एक्यबद्धता जनाएको छ ।


शान्तिपूर्ण तरिकाले कलेज व्यवस्थापनसँग आफना माग राख्दा कलेजका सञ्चालक अन्सारीले कलेजभित्रै कुटपिट गराएको संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताए । ‘माग राखेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका थियौँ,’ संघर्ष समितिका नरेश भट्टराईले भने, ‘बशरुद्दिन अन्सारीले बाहिरबाट गुन्डा बोलाएर आक्रमण गर्न लगाए ।’ कलेज परिसरमा प्रहरी पुगेर उद्धार गरेको उनले जनाए । ‘गुन्डाले माइक तोडफोड गरे, अपशब्द प्रयोग गर्दै हातपात गरेका थिए,’ भट्टराईले भने ।


कलेज व्यवस्थापनलाई चितवन मेडिकल कलेजमा इन्टर्नसीपमा अध्ययनरत आशुतोष झालाई केही समय बन्दक बनाएको विद्यार्थीले बताए । कलेजको १८ औँ ब्याचका एमबीबीएस प्रथम वर्षमा अध्ययनरत एक विद्यार्थीका अनुसार कलेज व्यवस्थापनले लाइब्रेरी चार्जको नाममा ३५ हजार, खेलकुद बापत ४० हजार, सिडिपी चार्ज ५० हजार, होस्टेल र मेस चार्ज १५ हजार, इन्टरनेट बापत एक हजार ४ सय रुपैयाँ लगायत विभिन्न शीर्षकमा १२ लाख रुपैयाँ बढी असुल्ने गरेको छ ।


‘कलेजको होस्टलमा नबसे पनि होस्टलको शुल्क दाखिला गर्नुपर्छ,’ ती विद्यार्थी भन्छन्, ‘जबकि होस्टल बस्नुपर्ने अनिवार्य छैन ।’ अतिरिक्त शुल्क नदिँदा कलेज व्यवस्थापनले परिक्षामा सामेल नगराउने धम्की दिने गरेको विद्यार्थीले खुलाए ।


अतिरिक्त शुल्क बारे अभिभावकले बुझ्न आउँदा कलेज व्यवस्थापनले दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले गुनासो गरेका छन् । विद्यार्थीका अनुसार १८ औँ ब्याचमा एक सय विद्यार्थी अध्ययनरत छन । ‘विगत एक महिनादेखि हामी बढी शुल्क फिर्ताको माग राखेका छौँ,’ नाम उल्लेख नगर्ने शर्तमा एक विद्यार्थीले भने, ‘हाम्रो विरोधको कुनै सुनवाई छैन, कलेज व्यवस्थापनले बाहिरबाट गुन्डा झिकाएर धम्कयाउने गरेको छ ।’


चिकित्सक शिक्षा सुधार संघर्ष समितिका संयोजक चन्दले विद्यार्थीको आन्दोलनमा समर्थन जनाउन आउँदा बशरुद्दिन अन्सारीले कानुन हातमा लिएर कुटपिट गरेको आरोप लगाएका छन । चितवन मेडिकल कलेजबाट समर्थन गर्न आएका चन्दले भने, ‘कलेज परिसरमा प्रहरी समयमै नपुगेको भए अप्रिय घटना घटन सक्थ्यो, यस्तो गुन्डागर्दी हेरका थिएनौँ । कुटपिट गर्नेमाथि किटानी जाहेरी दिन्छौ । ’


माग पुरा नहुन्जेलसम्म आन्दोलन जारी रहने विद्यार्थीले जनाएका छन । नीजि मेडिकल कलेजका अध्यक्ष समेत रहेका अन्सारीले बाहिरी कलेजका विद्यार्थी आएर यहाँका विद्यार्थीलाई उचालेर प्रर्दशन गराएको आरोप लगाउँछन ।


‘सबै कलेजले शुल्क फिर्ता गरे मैले पनि गर्छु भनेर बुधबार नै विद्यार्थीमाझ प्रतिबद्धता जनाइसकेको थिएँ,’ कान्तिपुरसँग अन्सारीले भने, ‘बिहीबार चितवन मेडिकल कलेजका विद्यार्थी आएर भड्काए, माइकिङ गरे ।’ उनका अनुसार बाहिरका विद्यार्थी यहाँ आएर आन्दोलन गर्दा कलेजका सिनियर विद्यार्थीले आन्दोलन नगर्न भनेका थिए । ‘मैले नबचाएको भए अप्रिय दुर्घटना हुन सक्थ्यो,’ उनले भने, ‘हातखुट्टा जोडेर माहोल शान्त पारेको हुँ ।’ अतिरिक्त शुल्क फिर्ता बारेको निर्णय अझै विचाराधीन रहेको उनले जनाए ।

प्रकाशित : कार्तिक ७, २०७६ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?