कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

न्युट्रास्युटिकल औषधिमा प्रतिबन्ध

नेपालमा बर्सेनि करिब ६ अर्ब रुपैयाँ बराबरका न्युट्रास्युटिकल बिक्रीवितरण हुने गरेको छ ।
अतुल मिश्र

काठमाडौँ — औषधि व्यवस्था विभाग (डीडीए) ले एकभन्दा बढी तत्त्व समावेश गरिएका भिटामिन वा टनिकको बिक्रीवितरण, पैठारी, सञ्चय र परिवहन गर्न प्रतिबन्ध लगाएको छ । डीडीएले बिरामीलाई त्यस्ता भिटामिन वा टनिक सिफारिस नगर्नसमेत सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

न्युट्रास्युटिकल औषधिमा प्रतिबन्ध

न्युट्रास्युटिकलका रूपमा चिनिने यस्ता उत्पादन खाद्यान्न भनेर आउने गरे पनि औषधिका रूपमा बिक्रीवितरण हुने गरेको छ । चक्की, क्याप्सुल र झोल औषधिको स्वरूपमा आउने न्युट्रास्युटिकलको मूल्य महँगो हुन्छ ।

वरिष्ठ फर्मासिस्ट बाबुराम हुमागाईंका अनुसार बिरामीलाई आर्थिक भारबाहेक खासै फाइदा नहुने यस्ता न्युट्रास्युटिकल प्रस्तावित गर्ने व्यक्तिले खुलमखुला प्रत्येक स्ट्रिपमा कमिसन पाउने गरेका छन् । आयातकर्ताले नै यस्ता वस्तुका उत्पादकलाई बढाएर मूल्य राख्न भन्ने गरेको जानकारी दिँदै हुमागाईंले कतिपय न्युट्रास्युटिकल नक्कलीसमेत रहेको बताए ।


सिफारिस गर्ने चिकित्सकले यस्ता उत्पादकबाट धेरै कमिसन पाउँछन् भने आयातकर्ता र बिक्रेतालाई समेत अत्यधिक नाफा हुने गरेको छ । न्युट्रास्युटिकललाई सरकारले २६ वर्षअघि नै राजपत्रमा सूचना प्रकाशित गरी प्रतिबन्ध लगाएको थियो । त्यो प्रतिबन्ध अहिले पनि कायम छ । डीडीएले मंगलबार पुनः सूचना प्रकाशित गरी न्युट्रास्युटिकल प्रयोग नगर्नर् आग्रह गरेको छ ।


डीडीएले आफूले जारी गरेको भिटामिन र टनिकको सम्मिश्रणबाहेक अन्य सबै प्रतिबन्धित रहेको औंल्याउँदै यस्ता औषधि बिक्रीवितरण, पैठारी, सञ्चय, परिवहन र बिरामीलाई सिफारिस गर्ने सबैलाई औषधि ऐन २०३५ अनुसार कारबाही हुने जनाएको छ । फुड सप्लिमेन्टरी/डाइटरी सप्लिमेन्टरीका नाममा यस्ता न्युट्रास्युटिकल गैरकानुनी रूपले आयात गरेर औषधि पसलहरूबाट बिक्रीवितरण हुने गरेको छ ।


‘औषधि ऐन २०३५ अनुसार आदेशको बर्खिलाफ गरी काम गर्नेलाई ३ वर्ष कैद वा २५ हजार जरिवाना वा दुवै सजाय हुनसक्ने प्रावधान छ,’ डीडीएका निमित्त महानिर्देशक पानबहादुर क्षत्रीले भने । उनका अनुसार कतिपय फार्मेसीमा दर्ता नभएका यस्ता मल्टी भिटामिन र मल्टी मिनरल पाइन्छन्, जसलाई चिकित्सकले सिफारिस गर्छन् । मापदण्डविपरीतका भिटामिन बिक्रीवितरण, पैठारी, सञ्चय, परिवहन गर्ने र बिरामीलाई सिफारिस गर्ने जोसुकैलाई कारबाही हुने जानकारी क्षत्रीले दिए । उनका अनुसार चिकित्सकले बिरामीको पुर्जामा यस्ता न्युट्रास्युटिकल प्रस्तावित गरेपछि बिरामी र उनका आफन्तले यसलाई औषधिकै रूपमा बुझ्ने गरेका छन् ।


‘सुरक्षा र मूल्यको दृष्टिकोणले उपभोक्ता ठगिइरहेकाले यस्ता न्युट्रास्युटिकल बिरामीलाई प्रस्ताव गर्नेले पुनर्विचार गर्नुपर्छ,’ फर्मासिस्ट हुमागाईंले भने । उनका अनुसार बर्सेनि करिब ६ अर्ब रुपैयाँ बराबरका न्युट्रास्युटिकल वस्तु बिक्रीवितरण हुने गरेको छ ।


‘खाद्यवस्तुमा हालिएको भिटामिन या मिनरलसँग हाम्रो सरोकार भएन,’ क्षत्रीले भने फर्मास्युटिकल डोजका रूपमा ट्याब्लेट, क्पाप्सुल, झोलका रूपमा बिक्रीवितरण हुनु हाम्रो सरोकारको विषय हो ।’ सरकारले नेपाली औषधि उद्योगलाई समेत मल्टी भिटामिन र मल्टी मिनरलजस्ता औषधि उत्पादनको अनुमति दिएको छैन ।

प्रकाशित : कार्तिक ७, २०७६ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?