कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऋण तिर्न अर्को ऋण

सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल परिवारले ३६ वर्षअघि किसानहरुको पुर्जा धितो राखेर लिएको ऋण नतिरिदिएपछि पुर्ख्यौली जग्गा लिलाम हुनबाट बच्न नाति पुस्ता वार्षिक ६० प्रतिशतसम्म ब्याजमा अर्को ऋण लिन बाध्य भएको छ । 
मोहन बुढाऐर, गणेश चौधरी

(मुनुवा, कैलाली) — वरको रूखमुनि बोरा ओछ्याइएको थियो । केही युवा त्यही बोरामाथि असरल्ल पैसा गन्दै थिए । कोही हल्का उत्साही जस्ता देखिन्थे त कोही हतास । भन्दै थिए, ‘अब यति गरे कसो जग्गा फिर्ता नपाइएला ।’ उनीहरू आफू–आफूसँग भएका पैसा सगोलमा जम्मा गरिरहेका थिए ।

ऋण तिर्न अर्को ऋण

जानकी गाउँपालिका–४ मुनुवा बजारस्थित शिव मन्दिर परिसरको छहारीमा मंगलबार दिउँसो भेला भएका सबैको एउटै ध्येय थियो– बाजेको पालामा अहिलेका प्रदेश प्रमुख मोहनराज मल्ल परिवारले पुर्जा राखेर ऋण नतिर्दा लिलामीमा पर्न लागेको जग्गा निखन्नु । समूहको अगुवाइ गरिरहेका सत्यनारायण रानाले भने, ‘अर्काले बन्धकी राखिदियो, अर्कैले पैसा चलायो । हामी गुनको बदला आफ्नै जग्गा फिर्ता पाउन आफूले लिनै नपाएको ऋण तिर्दैछौं ।’

० ० ०

राजाका सन्तान भनिने दिलीपसिंह मल्लका चार छोरामध्ये जेठा टेकबहादुर २०४०/४१ सालतिर मुनुवा गाउँका प्रधानपञ्च थिए । उनले आफ्नो पुरानो राइस मिललाई छोरा दुष्यन्तका नामबाट पुन: सञ्चालनका लागि बैंकबाट ऋण लिन खोजे । अर्काको जग्गा धितो राखेर पनि ऋण लिन पाइने सुविधा उपयोग गर्दै टेकबहादुर, भाइ मोहनराज (सुदूरपश्चिम प्रदेशप्रमुख) र मदनबहादुर लगायतले आफ्नो सगोलको सम्पत्तिसहित गाउँका ५२ किसानको करिब तीन सय बिघाको लालपुर्जा भेला पारे ।


नेपाल बैंकबाट करिब ९८ लाख ९६ हजार रुपैयाँ निकाले । साँवाब्याज तिर्दै तिरेनन्, न त मिल चलाउन सके । मल्ल परिवारले माग्दा लालपुर्जा दिएका किसान त्यसबेला स्तब्ध भए, जब बैंकले २०४७ सालमा ऋणीलाई कालोसूचीमा राख्यो । सबैका जग्गा रोक्का भयो । किनबेच गर्न त पाएनन् नै, जग्गा लिलामी हुने भयो । ऋण निखनेर जग्गा छुटाइदिन उनीहरूले मल्ल परिवारलाई गुहारे । आफ्नै पनि सगोलको सबै जग्गा गाउँलेसँगै बैंकमा रोक्का रहेको जवाफ दिएका उनीहरूले छुटाउन नसक्ने बताएपछि सोझा किसान आत्तिए । त्यसयता पटकपटक काठमाडौं धाए, राजा बनेलगत्तै धनगढी आउँदा ज्ञानेन्द्र शाहलाई बिन्ती चढाए । आफ्ना जिल्लाका नेतालाई हारगुहार लाउने गर्दै आए पनि जग्गा फुकुवा भएन । दृष्टिबन्धकमा परेको जग्गा बैंकबाट ऋण तिरेर छुटाउन सकिने बाटो एकजना कर्मचारीले सुझाएपछि उनीहरू यतिबेला आफूले भोगचलन गर्नै नपाएको ऋणको रकम भाग लगाएर ऋण तिर्दैछन् ।

० ० ०

मंगलबार दिउँसो वरको रूखमुनि भएको भेला राजस्व न्यायाधिकरणमा रकम बुझाउन आफू–आफूले जोरजाम गरेको पैसा एकीकृत गर्नका लागि थियो । चन्दु थारूका नाति खेमराजले सयकडा ५ प्रतिशत ब्याजदर (वार्षिक ६० प्रतिशत) मा गाउँका एकजना साहूबाट साढे ३ लाख ऋण लिएर नेपाल बैंकको टीकापुर शाखाको खातामा गत असारमा जम्मा गरे । बैंकमा लिलामीमा परेको बाजेका नामको ५ बिघा ११ कट्ठा १४ धुर जग्गा फुकुवा गर्न उनले चर्को ब्याजदरमा ऋण लिएका हुन् । पैसा बुझाए पनि बैंकले जग्गा फुकुवा नगर्दा उनले ब्याज तिर्दै आएका छन् ।


‘जग्गा फुकुवा भएपछि एक/दुई कट्ठा बेचेरै भए पनि चर्को ब्याजको ऋणबाट मुक्त हुन चाहन्थें,’ उनले भने, ‘हाम्रो गाउँका मल्ल राजाहरूको ललाइफकाइमा परेर बाजेले कमाइ खाने खेतको लालपुर्जा दिएका रहेछन् । राजाले नाति पुस्तासम्म पनि पुर्जा निकालिदिएनन् ।’ किसानहरू मल्ल परिवारले दृष्टिबन्धक राखेको रकमको दोब्बर तिरेर जग्गा फुकुवा गर्ने चरणमा पुगेको उनले बताए ।


जग्गा लिलाम फुकुवा समितिका अध्यक्ष भक्तबहादुर बडायक थारूले मुनुवाका ४० परिवारले दृष्टिबन्धकको दोब्बर रकम गएको असारमै बैंकको खातामा जम्मा गरेको बताए । ‘ऋण असुली न्यायाधिकरणले लिने न्यायिक दस्तुर करिब ४ लाख बैंकमा जम्मा हुन मात्रै बाँकी छ,’ उनले भने, ‘किसानबाट न्यायिक दस्तुरको रकम जम्मा भएपछि बैंकले मालपोतलाई जग्गा फुकुवाको पत्र पठाउने भनेको छ ।’ किसानहरूले न्यायिक दस्तुरको १ दशमलव ९५ प्रतिशत रकम पनि बुझाउन सुरु गरेको उनले बताए । ‘त्यही दस्तुर बुझाउन हामी दिनदिनै भेला हुने र ऋणपान जसरी हुन्छ, जुटाउने गर्दैर्छौं,’ उनले भने, ‘तर कुनै कारोबार नभएका किसानलाई एकै चोटि ५/७ लाख खोज्नु ठूलो सकस परेको छ ।’ आफ्ना पशुबस्तु, अन्न, सानोतिनो पसल र मिल्नेसम्मका सबै गरगहना बेच्दा पनि नपुगेर किसानहरू सय कडा ५ प्रतिशतको चर्को ब्याजमा ऋण खोज्न भौंतारिएको उनले बताए ।


हीरालाल बडायक थारूको परिवारले जग्गा फुकुवा गर्न ७ लाख २४ हजार जुटाउन जग्गा बेच्नुपरेको बताए । ‘बैंकबाट जग्गा फुकुवा भएपछि २ कट्ठा जग्गा पास गरििदउँला भनेर कागज बनाएर पैसा जुटाएँ,’ उनले भने, ‘चलनचल्तीको भन्दा एक लाख सस्तोमा जग्गा बेच्नुपर्‍यो ।’ जग्गा लिलाम फुकुवा समितिका उपाध्यक्ष सत्यनारायण रानाले गाउँका जमिन्दारले बाबुबाजेबाट हरण गरेको जग्गाधनी लालपुर्जा पाउन नाति पुस्तालाई निकै सकस भएको बताए । ‘मल्ल परिवारले कुनै हालतमा पनि बैंकको ऋण तिरेर किसानको जग्गाधनी पुर्जा फिर्ता गर्न नसक्ने भन्यो,’ उनले भने, ‘यो अवस्थामा हामीले पनि गुहार्न राजादेखि गाउँ र सिंहदरबारका नेता, मन्त्री, प्रधानमन्त्री सबैलाई बिन्तीपत्र चढायौं ।’ गत माघबाट दोब्बर रकम बैंकलाई बुझाएर फुकुवाको बाटो खुलेको उनले बताए ।


लिलामीमा पुगेको जग्गा फुकुवा गर्न एकजना बैंककै कर्मचारीले बाटो देखाएपछि उक्त प्रक्रियामा गएको बडायकले बताए । ‘दृष्टिबन्धक भएको रकमको दोब्बर रकम असारभित्रै बैंकमा जम्मा गर्न सके ऋण असुली न्यायाधिकरणबाट लगत कट्टा गरी फुकुवाको निर्णय हुन सक्ने कुरा आयो,’ उनले भने, ‘त्यसपछि किसानलाई पैसा जुटाउन भनियो । एक महिनामा पैसा खोज्न गाह्रो भए पनि सबैले पैसा खोजे र अहिले फुकुवाको चरणमा पुगेको छ ।’

० ० ०

लामो समयदेखि जग्गा रोक्का रहँदा किसान परिवारमा न किनबेच छ न त अंशबन्डा । जग्गा फुकुवापछि किसानलाई अंशबन्डाको समस्या पर्ने रामकृष्ण डगौराले बताए । ‘तीन पुस्तामा अंशबन्डा हुने भएको छ,’ उनले भने, ‘तैपनि बाबुबाजेको सम्पत्ति सरेर नातिमा आउन लागेकामा पैसाको व्यवस्था गर्दाको दु:ख बिर्सिन्छौं भन्नुपर्छ होला ।’ मल्ल परिवारले किसानलाई राहत दिन सहयोगको हात पनि अघि नबढाएकाले मन दुखेको उनी बताउँछन् । ‘मल्ल परिवारले जनताको जग्गा खानै खोजेका रहेछन्,’ उनले भने, ‘उनीसँग २ करोड छैन भन्न सकिँदैन । अहिले बैंकलाई करिब २ करोड बुझाउँदा ४० परिवारको जग्गा फुकुवा हुने थियो ।’ न्यायिक दस्तुरको ४ लाखसम्म तिरिदिने ठूलो मन देखाउन नसकेको उनले गुनासो गरे ।


०३२/३३ तिर खोलेर चलाउन नसकेको राइस मिल अत्याधुनिक बनाई पुन: चलाउने योजनामा मल्ल परिवार थिए । त्यसका लागि आफ्नोसँगै गाउँका सोझा किसानका जग्गा धितो राखेर ऋण लिए पनि चलाउन नसकेपछि यस्तो अवस्था आएको रामकृष्ण बताउँछन् । ‘नयाँ मिलको योजनाका लागि मल्ल राजाले हामीसँग लालपुर्जा लगेका थिए,’ गाउँका पाका कमलप्रसाद चौधरीले भने, ‘पुर्जा माग्दा सोझा किसानलाई पछि के–केसम्म हुन सक्छ भनेर सबै कुरा भनिएको थिएन । घरमा लालपुर्जा किन राख्ने, मल्ल राजाको भजनी दरबारमा राखौं मात्रै भनिएको थियो ।’ कसैलाई फकाएर, कसैलाई धम्क्याएर त्यसबेला लालपुर्जा खोसेको स्थानीय रामराजा चौधरी बताउँछन् ।

० ० ०

प्रदेश प्रमुख मोहनराज मल्ल उपचारका क्रममा दिल्ली गएकाले यस विषयमा कुराकानी हुन सकेन । तर उनका भाइ मदनराज मल्लले उतिबेला जनतालाई राहत पुर्‍याउन र रोजगारी दिन गाउँमा मिल खोलेको दाबी गरे । मिल स्थापना भएपछि किसानले घरबाटै धान बेच्ने सुविधा पाएको उनले बताए । ‘पछि विभिन्न कारणले मिल घाटामा गयो । बैंकको ऋण तिर्न नसक्दा किसानको पुर्जा पनि बैंकमै रोकिँदा हामी खुसी छैनौं,’ उनले भने, ‘किसान आफैंले दृष्टिबन्धकको दोब्बर रकम तिरेर भए पनि पुर्जा लिएका छन् ।’ उनले आफ्नो भागको ऋण पनि तिर्ने गरी बैंकसँग छलफल भइरहेको बताए ।


प्रकाशित : कार्तिक ७, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?