२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

हिमनदी बर्सेनि १ मिटरले घट्दै

हिमाली क्षेत्र र तल्लो तटीय क्षेत्रका लागि जोखिम
पग्लने गति बढ्दा भविष्यमा तल्लो तटीय क्षेत्रमा पिउने पानीको उपलब्धता प्रभावित हुने 

काठमाडौँ — हिमाली क्षेत्रमा पछिल्लोपटक गरिएका अध्ययनहरूले हिमाल र हिमनदी पग्लिने क्रम बढेको देखाएको छ । नेपालका पूर्वदेखि पश्चिमसम्मकै हिमनदीहरूको पग्लने गति बढिरहेको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ । 

हिमनदी बर्सेनि १ मिटरले घट्दै

‘लाङटाङ हिमनदीको सतह वार्षिक झन्डै १ मिटरले घटिरहेको छ,’ लाङटाङका हिमनदीबारे १० वर्षदेखि अनुसन्धान गर्दै आएका नेदरल्यान्ड्सको उत्रेच विश्वविद्यालयका सह-प्राध्यापक वाल्टर डब्लु इमरजेलले भने, ‘सन् २०१३ देखि प्रत्येक वर्ष १ मिटरको दरले घट्नु भनेको हिमाली क्षेत्र र तल्लो तटीय क्षेत्रका लागि गम्भीर हो ।’


हिमालयमा जम्मा भएको हिउँ विस्तारै होचो सतहतर्फ सरेर बगेकोलाई हिमनदी भनिन्छ  । हिमनदीको बहाव अन्य नदीको जस्तो तीव्र नभई सुस्त हुन्छ । हिउँ र हिमनदी पग्लिएर बनेका ताल हिमताल हुन् । वर्षौंदेखि जमेर बसेका हिमनदीको पग्लने गति बढ्दा तल्लो तटीय क्षेत्रमा कालान्तरमा स्वच्छ पिउने पानीको संकट निम्तिन सक्ने चेतावनी उनको छ । ‘हिउँ र हिमनदीले हिमाली क्षेत्रमा बस्ने मानिसको जनजीवनमा महत्त्वपूर्ण भूमिका पुर्‍याएको हुन्छ,’ इमरजेलको विश्लेषण छ, ‘विश्वको तापमान १.५ डिग्रीभन्दा बढ्न नदिँदा पनि एसियाको उच्च हिमाली क्षेत्रमा २.१ डिग्रीले तापक्रम बढ्ने देखिन्छ ।’


अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले ‘द हिन्दुकुश हिमालय एसेस्मेन्ट–माउन्टेन, क्लाइमेट चेन्ज, सस्टेनएबिलिटी एन्ड पीपल’ नामको वैज्ञानिक प्रतिवेदन सार्वजनिक गर्दै शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि १.५ डिग्री कायम हुँदा ३६ प्रतिशत हिउँ पग्लने र अहिलेकै अवस्थामा कार्बन उत्सर्जन हुने हो भने ६४ प्रतिशत हिउँ पग्लने चेतावनी दिएको छ ।


लाङटाङ हिमनदी ४६.५ वर्ग किमि क्षेत्रमा फैलिएको छ । उक्त हिमनदीमा १५ किमि लम्बाइ र ८ सय मिटर चौडाइको ‘डेब्रिज’ छ । हिमालय क्षेत्रमा हिउँसहित ढुंगा, माटो, रूखबिरुवा र गेग्रानको थुप्रोलाई ‘डेब्रिज’ भनिन्छ । समस्या लाङटाङ क्षेत्रमा मात्र छैन । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रका हिमनदीमा गरिएका अनुसन्धानहरूले पनि हिमनदीको घट्ने क्रम बढिरहेको देखाएको छ ।


सन् २०१३ मा इटालीको मिलान विश्वविद्यालयबाट प्रकाशित एक अनुसन्धानको निष्कर्षले सन् १९५८ देखि २०११ सम्म सगरमाथा क्षेत्रका हिमनदी १४ प्रतिशतले घटेको देखाएको छ । त्यसका अनुसार उक्त क्षेत्रका हिमनदी ३९६.२ वर्ग किमिबाट ३३९.५ वर्ग किमिमा झरेको देखिन्छ ।


तापक्रम बढेसँगै हिमाली क्षेत्रका हिमतालको आकार बढ्नेक्रम पनि बढेको छ । जस्तो: सन् १९६२ देखि २०१३ सम्म भू–उपग्रहबाट लिइएको तस्बिरबाट गरिएको अनुसन्धानले सोलुखुम्बुको इम्जा हिमताल ०.०३ वर्ग किमिबाट १.३५ वर्गकिमिमा फैलिएको देखाएको छ । इम्जा हिमताल फुटेर तल्लो तटीय क्षेत्रमा पुर्‍याउन सक्ने क्षति रोक्न तालको पानीको सतह अढाइ मिटर घटाइएको छ ।


हालै सरकारले ल्याएको जलवायु परिवर्तन नीति २०७६ मा पनि विगत केही दशकयता वायुमण्डलीय तापक्रममा भएको तीव्रतर वृद्धि र त्यसबाट सिर्जित अतिवृष्टि, अनावृष्टि, खडेरीजस्ता जलवायुजन्य प्रकोपहरूबाट हिमशृंखला र हिमनदीमा आश्रित पारिस्थितिकीय प्रणालीमा प्रतिकूल असर परेको उल्लेख छ । ‘तीव्र गतिमा हिउँ पग्लिँदै जानाले हिमतालहरूको आकार बढिरहेको छ भने हिमताल फुट्ने खतरा बढ्दै गएको छ ।


गत जेठमा बेलायतको युनिभर्सिटी अफ लिड्सका हिमनदी र हिमताल विज्ञ डङ्कन क्वेन्सीले प्रतिवेदन सार्वजनिक गर्दै खुम्बु क्षेत्रका हिमनदीको पिँधको बरफमा अस्वाभाविक रूपमा तापक्रम बढिरहेको उल्लेख गरेका थिए । उनीहरूको अध्ययनअनुसार हिमनदीको तापक्रम वायुमण्डलको भन्दा औसत दुई डिग्री बढी पाइएकाले हिउँ पग्लिने क्रमसमेत बढेको छ ।


काठमाडौं विश्वविद्यालयका हिमनदी तथा हिमताल विज्ञ रिजनभक्त कायस्थका अनुसार खुम्बु क्षेत्रका हिमनदीमा ५ हजार ३ सय मिटर उचाइको खुम्बु क्षेत्रमा हिमनदी छिटोछिटो पग्लिरहेका छन् । ‘हिमनदी छिटो पग्लिँदा नयाँ हिमताल बन्ने सम्भावना हुन्छ र यसले बाढीको जोखिम निम्त्याउँछ,’ उनी भन्छन् ।


नेपालमा ३ हजार ८ सय ८ हिमनदी र १ हजार ४ सय ६६ वटा हिमताल छन् । पछिल्लो अध्ययनले नेपालको औसत तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले बढिरहेको देखाएको छ । हिमाली क्षेत्रमा वृद्धिदर विश्वको औसतभन्दा ०.३ देखि ०.७ डिग्री सेल्सियससम्म बढी छ । तिब्बतियन प्लेटो संसारका अन्य क्षेत्रभन्दा ३ गुणाले तात्ने गरेको छ ।


एरोसोल पार्टिकल, वायु प्रदूषण र ब्लाक कार्बनका कारण हिमाली क्षेत्रमा तल्लो तटीय क्षेत्रमा भन्दा बढी गतिमा तापक्रम बढिरहेको जानाकारहरू बताउँछन् ।


हिमालभन्दा तल्लो तटीय क्षेत्रमा करिब दुई अर्ब मानिसको बसोबास छ । हिमालय पर्वत शृंखला १० वटा देशमा फैलिएको छ । सगरमाथालगायत विश्वमा ८ हजार मिटर उचाइ भएका ८ वटा हिमाल नेपालमा छन् । १० वटा ठूलो नदी प्रणाली यहाँ छ ।


हरितगृह ग्यास उत्सर्जन न्युन नगर्ने हो भने दुई तिहाइ हिउँ पग्लिने विशेषज्ञहरूको चेतावनी छ । विशेषज्ञहरू भन्छन्, ‘अहिलेकै अवस्था रहने हो भने हिमाल रक टावर (चट्टानी पहाड) बन्दै जानेछन् ।’ हिमालको फेदमुनि सदियौंदेखि बस्दै आएका एक अर्ब ६५ करोडभन्दा बढी मानिस बाढी तथा प्रकोपको जोखिममा पर्ने सम्भावना पनि बढ्दै जानेछ ।

लाङटाङ र लिरुङ हिमनदीको दृश्य । तस्बिर : ईसिमोड

संसारका सबभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक चीन हो । त्यसका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणका क्रममा सर्वोच्च शिखर सगरमाथा र चीनतर्फको चुमलुङ्मा सहितका हिमाल जोगाउन र जलवायु परिवर्तनमा नेपालले विश्वमाझ उठाएको मुद्दामा सहयोग गर्ने उद्घोष गरेका थिए ।


हरितगृह ग्यास उत्सर्जनमा दोस्रो स्थानमा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको असर भइरहेको भनी वैज्ञानिकले सार्वजनिक गरेको तथ्यलाई नै अस्वीकार गरिरहेका बेला चिनफिङले हिमाल जोगाउन गरेको प्रतिबद्धताले जलवायु परिवर्तनको अन्तर्राष्ट्रिय बहसलाई फराकिलो पारेको विश्लेषकहरूले बताएका छन् । हरितगृह ग्यासका कारण तापक्रम वृद्धिले हिमशृंखला पग्लिँदा पर्यटन र जनजीवनमा नकारात्मक असर परेको नेपालले बताउँदै आएको छ ।

४० वर्षको भू उपग्रहबाट प्राप्त तथ्यांकलाई आधार मानेर गरिएको अमेरिकाको कोलम्बिया विश्वविद्यालयका विद्यार्थीसम्मिलत अनुसन्धानले २१औँ शताब्दी सुरु भएयता हिमाली क्षेत्रको हिउँ दोब्बरले पग्लिएको पाइएको छ । यस्तै १९७७ देखि २०१७ सम्म नेपालमा हिमतालले ओगेको क्षेत्रफल २५ प्रतिशतले बढेको छ ।


लाङटाङको झ्याब्रु हिमतालको आकार पनि बढिरहेको छ । सन् २०११ मा २५ हजार ७ सय ३३ वर्गमिटरमा फैलिएको उक्त हिमताल सन् २०१७ मा आइपुग्दा ६७ हजार २ सय ४० वर्गमिटर पुगेको भू उपग्रहबाट लिइएको तस्बिरले देखाउँछ । हालसम्म नेपालमा २८ वटा हिमताल विस्फोट (ग्लफ) का घटना भएका छन् । सरकारले जारी गरेको जलवायु परिवर्तन नीतिमा ‘हिमताल विष्फोटनको जोखिम न्यूनिकरणका लागि जोखिममा रहेका हिमतालको पानीको सतह कम गर्दै सुरक्षित निकासको व्यवस्था गरिने’ उल्लेख छ ।


त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातवरण विज्ञान क्याम्पसका सह-प्रध्यापक सुदीप ठकुरीले गरेको एक अनुसन्धानले ०.३६ हेक्टरभन्दा बढी क्षेत्रफल भएका हिमतालको संख्या नेपालमा सन् १९८७ मा १ हजार १ सय ३७ वटा थिए । सन् २०१७ मा यसको संख्या १ हजार ५ सय ४१ वटा पुगेको उनको अनुसन्धानले देखाएको छ ।


वनस्पतिविद् भरतबाबु श्रेष्ठको एक अनुसन्धानले जलवायु परिवर्तनका कारण नेपालका विभिन्न क्षेत्रमा मिचाहा प्रजातीको वनस्पति फैलने क्रम बढेको छ । चितवनलगायतका निकुञ्जहरुमा फैलिएको माइकेनिया म्याकारान्था नामको मिचाहा प्रजातिले घाँसे मैदान ढाक्दा एकसिंगे गैंडा र मृग प्रजातीलाई गम्भीर असर परेको वन्यजन्तुविद् नरेश सुवेदी बताउँछन् ।


जलवायु नीतिमा के छ ?

जलवायु परिवर्तन नीति २०७६ मा ‘जलवायु परिवर्तनसंग सम्वन्धित अध्ययन, अनुसन्धान एवं प्रविधि विकास र प्रसारलाई प्रोत्साहन दिइने र युवा अनुसन्धानकर्ताहरुलाई प्रोत्साहन गरिने’ उल्लेख छ । ‘जलवायु परिवर्तनसंग सम्वन्धित अध्ययन, अनुसन्धानलाई प्रभावकारी बनाउन द्विपक्षीय तथा बहुपक्षीय अन्तर्राष्ट्रिय सहयोगको विकास तथा विस्तार गरिनेछ’ नीतिमा छ ।


जलवायु परिवर्तन न्युनीकरण र अनुकुलनसम्वन्धि अनुसन्धान तथा प्रविधि विकास गर्न नीजि क्षेत्रलाईसमेत सहभागी गराउने सरकारको योजना छ । ‘अन्तर्राष्ट्रिय संयन्त्रहरुमार्फत् प्राप्त जलवायु वित्त (रकम) परिचालन गर्दा प्रशासनिक खर्च कम गर्दै कम्तिमा ८० प्रतिशत रकम स्थानीय स्तरमा कार्यक्रम कार्यान्वयनमा परिचालन गर्ने वन तथा वातावरण मन्त्रालयले नीति लिएको छ ।

प्रकाशित : कार्तिक ७, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?