एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु
(काभ्रे) र (सिरहा) — उपचारका लागि लैजाँदै गरिएकी श्रीमतीको बाटैमा मृत्यु । श्रीमतीको शव बोकेर फर्कंदै गर्दा एम्बुलेन्स दुर्घटनामा परी श्रीमान्को पनि मृत्यु । सिरहाको कर्जानाहा–७ की ६० वर्षीया गंगियादेवी साह र उनका श्रीमान् ६८ वर्षीय शोभित साहले एकै दिन ज्यान गुमाएका हुन् ।
सिरहाकै फूलकुमारी महतो मेमोरियल हस्पिटलमा स्वास्थ्य परीक्षण गर्ने क्रममा मुटुमा समस्या देखिएपछि श्रीमती गंगियादेवी र सालोका छोरा श्रीराम साहलाई लिएर सोमबार राति काठमाडौं आएका शोभितले श्रीमती त बचाउन सकेनन् नै, आफैं पनि घर फर्कन पाएनन् ।
एम्बुलेन्समा काठमाडौंस्थित गंगालाल हृदयरोग केन्द्र बाँसबारी आउँदै गर्दा बाटोमै गंगियादेवीलाई व्यथाले च्याप्यो । अस्पतालसम्म पुग्नै नभ्याई उनले प्राण त्यागिन् । नाति नरेन्द्र साहका अनुसार मंगलबार बिहान २ बजे अस्पताल पुर्याउँदा गंगियादेवीलाई चिकित्सकले मृत घोषणा गरे । त्यतिन्जेलसम्म काठमाडौंको सिफलमा बस्ने कान्छा छोरा देवकुमार र बुहारी निलु पनि अस्पताल पुगिसकेका थिए । उनीहरू शव लिएर त्यही एम्बुलेन्समा घर फर्किने तयारीमा जुटे ।
अस्पतालको प्रक्रिया पूरा गरी करिब पौने ३ बजे शोभित, श्रीराम, देवकुमार र निलु एम्बुलेन्समा सिरहाका लागि हिँडे । चाबहिलमा रोकिएर केहीबेर चिया खाए । करिब पौने ४ बजे त्यहाँबाट छुटेका उनीहरू काभ्रेभन्ज्याङस्थित प्रहरी चेकपोस्ट कटेपछि फेरि रोकिए । निलुले बान्ता गरिन् । चालकहरू रेडबुल खाने भन्दै पछाडिपट्टि लागे ।
एम्बुलेन्समा दुई जना चालक थिए । धनुषाको मिथिला–७ का २६ वर्षीय देवराज श्रेष्ठले एम्बुलेन्स चलाएका थिए । त्यहाँबाट हिँडेको केहीबेरमै नमोबुद्ध–५ स्थित लासकोटमा स१च ११९१ नं. को उक्त एम्बुलेन्स दुर्घटनामा पर्यो । शोभित, देवकुमार, निलु, श्रीराम र दुवै चालक घाइते भए ।
प्रहरी र स्थानीय बासिन्दाले तत्कालै उद्धार गरेर धुलिखेल अस्पताल पुर्याए । गंगियादेवीको शव पनि सँगै लगियो । घाइते सबैको अवस्था सामान्य थियो, सबैमा बाहिरी चोटपटक थियो ।
शोभितका नाति (छोरीका छोरा) नरेन्द्रका अनुसार उपचारक्रममा मुटु र नसाको समस्या देखिएपछि चिकित्सकले शोभितलाई काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पताल रिफर गरे भने बाँकीको धुलिखेलमै उपचार गरिएको छ । न्युरो अस्पताल पुर्याइएका शोभितको मंगलबार दिउँसो मृत्यु भएको नरेन्द्रले जानकारी दिए ।
निलुको मेरुदण्ड र हातमा समस्या छ । श्रीरामको खुट्टाको शल्यक्रिया गरिएको छ । सामान्य घाइते देवकुमार र दुई चालकलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ ।
एकै दिन बाबु–आमा गुमाएका देवकुमार दुवै शव लिएर काठमाडौंमा भएका आफन्तसँगै मंगलबारै सिरहा फर्किए । शोभित र गंगियादेवीको बुधबार सिरहाको कमला खोलामा अन्त्येष्टि गरिएको छ । उपचारका लागि गएका दम्पतीको मृत्युले सिमरा गाउँ शोकमा डुबेको छ ।
धुलिखेल अस्पतालमा उपचाररत निलुले चालकले मादक पदार्थ सेवन गरेकाले दुर्घटना भएको बताइन् । ‘मलाई असहज भएपछि गाडी रोकेर बान्ता गरें, गुरुजीहरू रेडबुल खाने भन्दै पछाडि गएका थिए,’ उनले भनिन्, ‘उनीहरू चढ्नेबित्तिकै कडा खालको गन्ध आएको थियो, श्रीमान्ले के खाएको भनेर गाली पनि गर्नुभयो । उनीहरूले जवाफ दिएनन् । बान्ता गरेकाले म निदाएछु, दुर्घटना भएपछि मात्रै ब्युँझिएँ ।’ उनले मादक पदार्थ सेवन गरेको शंका लागेपछि त्यो गाडीमा जाँदैनौं भनेर अडान लिन नसकेकामा पछुतो लागेको बताइन् ।
प्रहरीले भने चालकले मादक पदार्थ सेवन गरेको मेडिकल जाँचमा नदेखिएको जनाएको छ । ‘घटनालगत्तै मेथिनकोट अस्पतालमा परीक्षण गराउँदा मापसे गरेको भेटिएन,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्तासमेत रहेका डीएसपी दीपक गिरीले भने, ‘थप अनुसन्धानका लागि चालकलाई नियन्त्रणमा लिएका छौं ।’ चालक श्रेष्ठलाई प्रहरीले नियन्त्रण लिएको छ ।
सोभित र गंगियाका सिरहामा जेठा छोरा रामबाबु र बुहारी आशासँग बस्दै आएका थिए । कान्छा छोरा देवकुमार र बुहारी निलु काठमाडौंको सिफलमा बस्छन् । देवकुमार म्यानपावर कम्पनीमा काम गर्छन् । रामबाबु खेतीपाती गर्छन् ।
चालकले मादक पदार्थ पिए
– निलु साह, बुहारी
आमा स्वस्थ हुनुहुन्थ्यो, बरु म बिरामी परिरहन्थें । स्थानीय अस्पतालमा उपचार गर्दा मुटुसम्बन्धी समस्या देखिएपछि रातारात काठमाडौं ल्यायौं । म टोखा नगरपालिका–११ को सचिव हुँ । हामी काठमाडौंमै बस्छौं । गंगालाल अस्पतालले आमाको मृत्यु भएको घोषणा गरेपछि हामी सिरहा फर्किने निधो गर्यौं । म सिफल बस्छु । भान्जाले चाबहिल पुर्याइदिनुभयो । चाबहिलमा चिया खाएर हामी निस्क्यौं । गाडी ठिकै गतिमा थियो । मलाई चक्कर लागेर बान्ता हुन लागेपछि गाडी रोक्न भनें ।
काभ्रेभन्ज्याङको चेकपोस्ट कटेर ५ मिनेटजति पर गएपछि एम्बुलेन्स रोकियो । चालकहरू रेडबुल खान्छु भनेर निस्किएका थिए । उनीहरू छिर्नेबित्तिकै कडा खालको गन्ध आयो । मलाई असहज भयो । श्रीमान्ले के खाएर आयौ भनेर गाली गर्नुभयो तर उनीहरू बोलेनन् । त्यसपछि म निदाएछु । गाडी दुर्घटनामा परेपछि मात्रै निद्रा खुल्यो । हामी घाइते भयौं । बुबाको पनि मृत्यु भयो ।
अहिले पछुतो लाग्छ, चालकले मापसे गरेको शंका लागेपछि हामीले अगाडि नबढ्ने अडान लिएको भए आज यो दुर्घटना हुँदैनथ्यो जस्तो लाग्छ ।