१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पेट्रोल खोज्दा ज्वाला जाला !

ज्योति कटुवाल

(दैलेख) — खोला छेउमा वर्षौंदेखि ठाउँ–ठाउँ फुरुरु आगाको ज्वाला बलिरहन्थे । धार्मिक महत्त्वको पञ्चकोसी क्षेत्रमा स्थानीयले त्यसलाई भगवान्को लीला नै सम्झिए । आस्था राख्दै पुज्दै आएका थिए । उक्त ज्वाला निरन्तर बलिरहनुको वैज्ञानिक कारण जमिनमुनि पेट्रोलियम पदार्थ हुन सक्ने भन्दै खोजी सुरु भएपछि भने स्थानीयलाई चिन्ता छ– खोजीका कारण ज्वाला त निभ्दैन । 

पेट्रोल खोज्दा ज्वाला जाला !

नेपाल सरकारका लागि चिनियाँ पेट्रोलियम अन्वेषण टोली उक्त क्षेत्रमा पुगेको छ । कता–कता उत्खनन गरे पेट्रोलियम पदार्थको स्रोत फेला पर्छ भन्दै नापनक्साको काम भइरहेको छ । यस्तो खोजी थालिएपछि प्राचीनकालदेखि बलिरहेको ज्वालाबारे स्थानीयस्तरमा चिन्ता भएको हो । उक्त क्षेत्रका पण्डित तिलकप्रसाद रिजाल वैज्ञानिक विधिले खोजी गरिनु मुलुककै लागि हितकर भए पनि ज्वाला जोगाउनुपर्ने बताउँछन् । पञ्चकोसी क्षेत्र करिब ३ हजार वर्ष (१८७३ साल) देखि धार्मिक तथा पुरातात्त्विक महत्त्वको स्थलका रूपमा छ । ‘खोलामा निरन्तर बलिरहने ज्वाला यो ठाउँको प्रमुख आकर्षण हो,’ उनी भन्छन्, ‘जमिन मुन्तिर पेट्रोलियम पो छ कि भनेर खोज्नु ठीक हो तर ज्वालालाई कसरी जोगाउने भन्नेबारे पनि सोचिनुपर्छ ।’


ज्वालालाई जोगाइराख्न श्रीस्थान, नाभिस्थान र पादुका क्षेत्रबाट कम्तीमा ५ कोस टाढा अन्वेषणको काम गरिनुपर्ने उनले बताए ।


खोजीमा खटिएको टोलीले ज्वालादेखि ५ मिटर नजिकै काम थाल्ने तयारी गरेको छ । यसका लागि जमिनमा निकै मुनिसम्म ‘ड्रिल’ गरेर हेर्ने तयारी भइरहेको छ । ‘यस्तो देखेपछि ज्वाला जोगिनुपर्छ भनेर हामी पटकपटक प्रशासनमा डेलिगेसन गइसक्यौं,’ श्रीस्थान व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष केशव थापाले भने, ‘सुनुवाइ भएजस्तो लागेको छैन ।’ श्रीस्थानलगायत करिब १४ किमि क्षेत्रमा पेट्रोलियम फैलिएको अनुमान प्राविधिक टोलीको छ । स्थान छनोट गरी ‘ड्रिलिङ’ गर्ने तयारी छ । ‘ज्वालानजिकै अन्वेषण गर्दा भाइब्रेसन (कम्पन) ले ज्वाला नै जोखिममा नपर्ला भन्न सकिन्न,’ थापाले भने, ‘ज्वाला निभ्नु भनेको हाम्रो महत्त्वपूर्ण सम्पदा हराउनु हो ।’ २०७२ वैशाख १२ को भूकम्पले ज्वाला क्षेत्रमा पनि प्रभाव पारेको श्रीस्थानका मुख्य महन्त गोकर्णनाथ योगी बताउँछन् ।


खोलामा यत्रतत्र बल्ने ज्वाला भूकम्पपछि निकै कम ठाउँमा मात्र बल्न थालेको उनको भनाइ छ । ‘पेट्रोलियम पदार्थ खोजी गर्दा ध्यान दिइएन भने ज्वाला नै हराउन सक्छ,’ उनले भने । पेट्रोलियम अन्वेषण प्रवर्द्धन परियोजनाका वरिष्ठ भूगर्भविद् गणेशनाथ त्रिपाठीले अहिले सर्भेको काम मात्र थालिएको बताएका छन् । उत्खननको ठेगान नभएकाले अहिल्यै चिन्ता लिन नपर्ने उनले बताए । अन्वेषण गर्दा भत्काउने र बिगार्नेजस्ता काम नगरिने उनको भनाइ छ । ‘चिनियाँ विशेषज्ञको पटक–पटकको अन्वेषणले पञ्चकोसी क्षेत्रको कुनै न कुनै स्थानमा पेट्रोलियम भण्डारण अवश्य छ भन्ने देखाएको छ,’ उनले भने, ‘हामीले धार्मिक, पुरातात्त्विक र पर्यावरणीय पक्षलाई ख्याल गरेरै अन्वेषण गर्नेछौं ।’


अहिले २२ जनाले प्रारम्भिक व्यवस्थापनको काम गरिरहेको र १ सय ९७ सदस्यीय चिनियाँ अन्वेषण टोली एक सातामा दैलेख आइपुग्ने उनले बताए । असार २६ मा पेट्रोलियम पदार्थको स्रोत अन्वेषण गर्ने कामको औपचारिक उद्घाटनसँगै काम सुरु भइसकेको छ । चिनियाँ टोलीले त्यसअघि र पछि पनि अनौपचारिक रूपमा खोजीको प्राविधिक काम गरेको थियो । अब भने कुन प्रकारको पेट्रोलियम पदार्थ, कति मात्रामा आउने भन्नेबारे निष्कर्ष निस्कने र सोहीअनुसार काम अघि बढ्ने त्रिपाठीले बताए ।


स्थानीयको समन्वय र सहयोगमै अन्वेषणका काम अघि बढ्ने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल बताउँछन् । अन्वेषण टोली सम्बन्धित क्षेत्रको विज्ञ भएकाले ज्वाला निभ्छ कि भनेर चिन्ता नलिन उनले सरोकारवालालाई आग्रह गरे ।


प्रकाशित : कार्तिक ७, २०७६ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?