३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चन्द समूहद्वारा नेकपाका नेतामाथि कुटपिट 

भीमबहादुर सिंह

जाजरकोट — चन्द समूहले सत्तारुढ नेकपाका नेतामाथि आक्रमण गरेको छ । बुधबार बारेकोट गाउँपालिकामा पार्टीले आयोजना गरेको कार्यक्रममा जाँदै गर्दा उनीहरुलाई चन्द समूहले आक्रमण गरेको हो । 

बारेकोट–८ लैखमस्थित रापानी भीरमा नेकपाका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समिति सदस्य डम्बरबहादुर सिंहमाथि चन्द समूहका कार्यकर्ताले आक्रमण गरेको नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाले बताए ।


आक्रमणबाट उनीहरु घाइते भएका छन् । आक्रमणकारीले लाठीको प्रयोग गरेर नेताद्वयलाई कुटपिट गरेका थिए । उनीहरुको खुट्टामा चोट लागेको छ । हिँड्न नसक्ने भएपछि उनीहरु लिम्सामा आयोजित कार्यक्रममा सहभागी नभइ खलंगा फर्केका छन् ।


नेकपा जाजरकोटले तय गरेको बारेकोट गाउँपालिका कमिटीका पदाधिकारीलाई सपथग्रहण गराउने पूर्वनिर्धारित कार्यक्रममा नेताद्वय आचार्य र सिंह त्यसतर्फ जाने क्रममा चन्द समूहका ५ जना कार्यकर्ताले आक्रमण गरेको अध्यक्ष रानाले बताए ।


बुधबार नै नेकपाले जाजरकोटले एक विज्ञप्ति जारी गर्दै नेताहरुमा भएको आक्रमणको निन्दा गरेको छ । नेकपाले घटना निकै दुःखद भएको र आगामी दिन यस्ता अराजक घटना बन्द गर्न आग्रह गर्दै दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग राखेको छ ।


घटनामा संग्लग्नको व्यापक खोजी भइरहेको प्रहरी निरीक्षक केशर कार्कीले बताए ।

प्रकाशित : कार्तिक ६, २०७६ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?