एस्काभेटर आक्रमण : छानबिन समिति गठन

कान्तिपुर संवाददाता

बैतडी — दशरथ चन्द–९ ग्वाल्लेकमा सोमबार एस्काभेटरको बकेटले महिलालाई हिर्काइएको विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले समिति गठन गरेको छ ।

एस्काभेटर आक्रमण : छानबिन समिति गठन

सबै पक्षसँगको बैठकपछि घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीको संयोजकत्वमा बनेको समितिमा प्रहरी निरीक्षक, नगरपालिका र पूर्वाधार कार्यालयका इन्जिनियर तथा एक जना अनुसन्धान गर्ने निकायका प्रतिनिधि सदस्य रहेको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । समितिलाई प्रतिवेदन पेस गर्न २ दिनको म्याद दिइएको छ ।


ग्वाल्लेकमा सुन्नाखान–चिलाउने–पार्सा सडक खन्ने क्रममा एस्काभेटरले आक्रमण गर्दा सोमबार गौरी जोशी घाइते भएकी थिइन् । चिलाउने टोलबाट अगाडि अयरखाली टोलमा सडक खन्दै गर्दा स्थानीयले अवरोध गरेका थिए । विरोधमा उत्रिएकी गौरीलाई एस्काभेटरले हिर्काएपछि दुवै पक्षबीच झडप भएको थियो । त्यस क्रममा ७ जना घाइते भएका थिए ।


गाउँलेले गौरीलाई बेहोस अवस्थामै जिल्ला अस्पतालमा पु‍र्‍याएका थिए । घाइतेलाई त्यहाँबाट धनगढी रेफर गरिएको थियो । धनगढीबाट पनि उनलाई कोहलपुर पठाइएको हो । उनको बिहीबार अस्पतालबाट डिस्चार्ज हुने भएको छ । ‘एस्काभेटरले धकेल्दा बकेटको दाँत लागेको ठाउँको मासु दबिएको डाक्टरहरूले भनेका छन् ।


अरू अवस्था सामान्य छ भनेर १० दिनलाई औषधि दिएका छन्,’ गौरीका देवर सुरेन्द्रले भने । उनले आफू घरबाट ७ हजार रुपैयाँ लिएर उपचारका लागि हिँडेको र थप पैसा आफन्तसँग सरसापट मागेर काम चलाएको बताए । उनले उपचारका लागि अन्य कुनै निकायबाट सहयोग प्राप्त नगरेको पनि जानकारी दिए ।


कारबाही गर्न माग

महिलामाथि अमानवीय व्यवहारले एस्काभेटर प्रयोग गरेको घटना र सहमतिबिना सडक खनेको विषयमा स्थानीयवासी, राजनीतिक दल, जनप्रतिनिधिलगायत सबैले विरोध गरेका छन् । ज्यानको ख्यालै नगरी एस्काभेटर प्रयोग गर्नु गल्ती भएको दशरथ चन्द नगरपालिकाकी उपप्रमुख मीना चन्दले बताइन् । उनले भनिन्, ‘सहनै नसक्ने घटना भयो ।’


उनका अनुसार विवाद आएपछि नगरपालिकाले सडकको काम रोक्न भनेको थियो । ‘जबर्जस्ती सडक खन्नु गल्ती भयो,’ उनले भनिन् । ‘त्यसैमा महिलामाथि अमानवीय प्रहार भयो ।’

प्रकाशित : कार्तिक ६, २०७६ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?