३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सैन्य भर्ना अनियमिततामा २७ जनामाथि छानबिन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाले सैन्य भर्ना छनोट प्रक्रियामा अनियमितता गरेका ४ सैनिक र २३ गैरसैनिकमाथि अनुसन्धान अघि बढाएको छ । किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा उनीहरूलाई सैनिक निगरानीमा राखी अनुसन्धान सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सैन्य भर्ना अनियमिततामा २७ जनामाथि छानबिन

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा बुधबार जारी विज्ञप्तिअनुसार सेनाले ४० भर्ना केन्द्रबाट रिक्त ५ हजार ८ सय दरबन्दीमा सैन्य छनोट प्रक्रिया अघि बढाएको थियो । नेपाली सेनाको भर्ना केन्द्र श्री उत्तर–पश्चिम पृतना हेडक्वार्टर, सुर्खेतमा नक्कली परिचयपत्र बनाई किर्ते गरेकामा तीन सैनिक, श्री ५ नं. बाहिनी अड्डा भर्ना केन्द्र कैलालीमा आर्थिक लेनदेन गरेको आशंकामा एक सैनिकलाई निगरानीमा राखी अनुसन्धान अघि बढाइएको निर्देशनालयले उल्लेख गरेको छ ।


सुर्खेत भर्ना केन्द्रमा नक्कली परीक्षार्थीलाई परीक्षा दिन पठाउने ६ उम्मेदवार र ९ नक्कली परीक्षार्थीलाई जिल्ला प्रशासन कार्यालय, सुर्खेतले पक्राउ गरी अनुसन्धान अघि बढाएकोसमेत निर्देशनालयले जनाएको छ ।


सैन्य भर्ना केन्द्र श्री २४ नं. बाहिनी अड्डा, जुम्ला तथा श्री नं. ५ बाहिनी, कैलालीमा परीक्षा दिन आएका ४ नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको र वास्तविक परीक्षार्थीको खोजी भइरहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार अरू तीन भर्ना केन्द्रमा आर्थिक लेनदेनमा संलग्न ४ गैरसैनिकलाई नियन्त्रणमा लिइएको छ ।


प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको नेतृत्व सम्हालेदेखि भर्ना छनोट प्रक्रियालाई स्वच्छ, निष्पक्ष र स्वस्थ प्रतिस्पर्धात्मक बनाई संगठनमा योग्य व्यक्ति प्रवेश गराउन जोड दिँदै आएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार गत वर्षदेखि भर्ना छनोट प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन सबै भर्ना केन्द्रमा ‘प्रमाणीकरण कक्ष’ राखेर बायोमेट्रिक मेसिन प्रयोग गरी उम्मेदवारको प्रमाणीकरण तथा किर्ते नियन्त्रण गर्न थालिएको छ ।

प्रकाशित : कार्तिक ६, २०७६ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?