कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

उम्मेदवार छनोटमा जुट्यो कांग्रेस

उपनिर्वाचन
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न छलफल सुरु गरेको छ । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बुधबार बसेको पदाधिकारी बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको मापदण्ड तथा आकांक्षीहरूका सबल र कमजोर पक्षका विषयमा छलफल भएको छ ।

उम्मेदवार छनोटमा जुट्यो कांग्रेस

स्थानीय तहका उम्मेदवारको हकमा भने तल्ला निकायले निर्णय गर्ने भएका छन् । मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन हुँदै छ ।


कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले उम्मेदवार छनोटको विषयमा छलफल सुरु भए पनि निर्णय भइनसकेको जानकारी दिए । प्रतिनिधिसभाका लागि कास्की क्षेत्र–२ बाट १६ जना आकांक्षीको सूची केन्द्रीय कार्यालयमा आइपुगेको छ ।


सम्बन्धित क्षेत्रीय कार्यसमितिले तीन जनाको नाम सिफारिस गर्नुपर्ने विधानमा उल्लेख भए पनि तल्ला तहबाट आकांक्षी सबैको सूची केन्द्रमा पठाइएको हो । प्रदेशसभा निर्वाचन क्षेत्रको रिक्त तीन स्थानका लागि भक्तपुर, बागलुङ र दाङमा पनि आकांक्षी धेरै छन् । भक्तपुरबाट १०, दाङबाट १३ र बागलुङबाट ४ जनाको सूची केन्द्रमा आइपुगेको छ । ‘तल्ला तहबाट तोकिएभन्दा बढी उम्मेदवारको सूची आएकाले केन्द्रमा केही समस्या भएको छ,’ महतले भने ।


उम्मेदवार छनोट गर्ने आधिकारिक निकाय संसदीय समिति गठन नभएकाले कांग्रेसले पदाधिकारी बैठकबाटै टुंगो लगाउने तयारी गरेको छ । विवादका कारण एक वर्षअघि विघटन भएको संसदीय समिति पुनः गठन नभएकाले केन्द्रीय कार्यसमितिबाट अधिकार प्रत्यायोजन गराई पदाधिकारी बैठकबाट उम्मेदवार छनोट गर्ने तयारी कांग्रेसले गरेको हो ।


त्यसका लागि केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्दै छ । ‘तिहारअघि नै उम्मेदवार छनोट गर्ने पक्षमा छौं,’ महतले भने, ‘केन्द्रीय कार्यसमितिले पदाधिकारीलाई अधिकार दिएपछि निर्णयमा पुग्छौं ।’


उनका अनुसार स्थानीय तहका उम्मेदवार अधिकांश छनोट भइसकेका छन् । ‘धरान उपमहानगरपालिकाबाट एक जनाको मात्रै सिफारिस भएकाले समस्या छैन, अन्य तहका उम्मेदवार धेरैजसो छनोट भइसकेका छन्’, उनले भने, ‘बाँकी पनि तिहारअघि सकिन्छ ।’

प्रकाशित : कार्तिक ६, २०७६ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?