२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

गोल्डेन अवार्ड पाउने काम गरेका छौँ : प्रधानमन्त्री

दिनेश रेग्मी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधान जारी भएपछि अन्तर्राष्ट्रिय जगतबाट नेपालले सिल्भर अवार्ड (रजत सम्मान) मात्र नभएर गोल्डेन अवार्ड (स्वर्ण सम्मान) पाउने काम गरेको बताएका छन् । 

गोल्डेन अवार्ड पाउने काम गरेका छौँ : प्रधानमन्त्री

सर्बियाको राजधानी बेलग्रेडमा हालै आयोजित अन्तर–व्यवस्थापिका संघ (आइपीयू) को सम्मेलनमा नेपालले पाएको सिल्भर अवार्ड प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार ग्रहण गर्दै ओलीले उक्त कुरा बताएका हुन् ।


‘समानुपातिक सहभागिता, महिला सशक्तिकरण र सहभागिताको सामाजिकीकरणको क्षेत्रमा सिल्भरमात्र होइन गोल्डेन अवार्ड पाउने काम गरेको छौं’ उनले भने, ‘तर हामीले अझै विश्वको ध्यान खिच्न भने सकेका छैनौं ।’ आइपीयूको १ सय ४१ औं सम्मेलनको अवसरमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्धन्द्ध व्यवस्थापन, युवा सहभागिता र अधिकार तथा विभेद अन्त्यको सुनिश्चिता लगायतमा हासिल गरेको सफलताको लागि ‘फ्युचर पोलिसी सिल्भर अवार्ड’ प्रदान गरिएको थियो ।


प्रधानमन्त्री ओलीले नेपाल आकार प्रकारमा सानो देखिएपनि विश्वको ध्यानाकर्षण हुन थालेको छ भन्दै छिट्टै विश्वको तीव्र आर्थिक वृद्धि दर भएको देश बनाउने दाबी गरे । चालू आर्थिक वर्षमा सरकारले साढे ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । गत आवमा ७ प्रतिशत आर्थिक वृद्धि हुने केन्द्रीय तथ्याङ्ग विभाको प्रारम्भिक अनुमान छ । ‘हामी छिट्टै विश्वको तीव्र आर्थिक वृद्धि भएको देश बनाउँछौं’ उनले भने, ‘प्रसस्त सम्भावना छ र हामी चौतर्फी प्रगति गर्दैछौं ।’


ओलीले युवा परिषद गठन, त्यसको कार्ययोजना र कार्यक्रम गरेर सम्मान पाएको भन्दै यसलाई संघर्षको उपलब्धिको रुपमा लिनुपर्ने बताए । ‘ यो सम्मान शान्ति, समानता र विकासको पक्षमा भएको संघर्षको यो उपलब्धि हो’ ओलीले भने । उनले दुनियाँका जनप्रतिनिधिको संस्था आइपीयूले सम्मानित गरेको नेपालको संविधानलाई कसैले पनि सानो चित्त नगरी कार्यान्वयन गर्न समेत आग्रह गरे । संविधान सभाले चार वर्ष अघि २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको थियो ।


५ दिने आइपीयू सम्मेलनमा नेपालको नेतृत्व गरेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त फ्युचर पोलिसी सिल्भर अवार्ड असोज २९ गते बेलग्रेडमा बुझेका थिए । सोही अवार्ड प्रधानमन्त्री ओलीलाई तिमिल्सिनाले हस्तान्तरण गरेका हुन् । बालुवाटारमा आयोजित हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल, अर्थमन्त्री युवराज खतिवडा लगायतको उपस्थिती थियो ।


जर्मनीको ह्याम्बर्गमा सन् २००७ मा स्थापित एउटा स्वतन्त्र निकाय ‘वर्ल्ड फ्यूचर काउन्सिल’ आइपीयू र राष्ट्र संघीय विकास नियोग (यूएनडीपी)सँगको सहकार्यमा विभिन्न विधामा नेपाल सहित ८ देशलाई सम्मान गरेको हो । जसमा रुवाण्डा र स्टोनियाले गोल्डेन अवार्ड (स्वर्ण सम्मान) पाएका थिए । नेपाल र संयुक्त अधिराज्यको स्कटल्याण्ड राज्यले सिल्भर अवार्ड, दक्षिण अफ्रिका र यूरोप काउन्सिलको यूवा क्षेत्र सह–व्यवस्थापकले ब्रोन्ज अवार्ड (कास्य सम्मान) र सेनेगल तथा लस एन्जल्सले फ्यूचर पोलिसी भिजन अवार्ड (सम्मान) पाएका थिए । आइपीयूमा नेपाल लगायत १ सय ७१ राष्ट्र सदस्य छन् ।

प्रकाशित : कार्तिक ६, २०७६ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?