कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिका भन्छ– ‘नेपालमा चिनियाँ प्रभाव बढ्दो’

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त राज्य अमेरिकाले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको टिप्पणी गरेको छ । दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री एलिस जी वेल्सले त्यहाँको एक संसदीय उपसमितिमा नेपालसम्बन्धी ब्रिफिङ गर्ने क्रममा उक्त टिप्पणी गरेकी हुन् ।

अमेरिका भन्छ– ‘नेपालमा चिनियाँ प्रभाव बढ्दो’

‘नेपालमा चिनियाँ प्रभाव बढ्दो छ, त्यसैले तिब्बती समुदायमाथि नेपाल सरकारको प्रतिबन्ध छ,’ उपसमितिमा मंगलबार उनले भनेकी छन्, ‘सरकारले तिब्बती बौद्धमार्गी समुदायलाई प्रतिबन्ध लगाउने क्रम बढेको छ । दलाई लामाको जन्मोत्सव मनाउने सार्वजनिक समारोहमा रोक लगाइएको छ ।’ चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेको १० दिनपछि अमेरिकी अधिकारीबाट यस्तो धारणा आएको हो ।


ब्रिफिङमा उनले नेपालमा जारी भएको फौजदारी अपराध संहिताले जबर्जस्ती धर्म परिवर्तनलाई अपराध मानेकाले धार्मिक अल्पसंख्यक समुदाय जोखिममा परेको पनि उल्लेख गरेकी छन् । नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धतामा धार्मिक स्वतन्त्रताको अधिकार सुनिश्चित गरिए पनि व्यवहारमा लागू हुन चुनौती रहेको उनको टिप्पणी छ ।


पछिल्लोपटक बन्न लागेका मिडिया कानुनबारे उनको टिप्पणी छ, ‘नेपालले प्रेस स्वतन्त्रता र लोकतन्त्रका सिद्धान्तहरूको रक्षा गरेको भए पनि अनलाइन मिडियाहरूसम्बन्धी हालैका नियम र निर्देशनहरूले प्रेस स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने आधार तय गरेको छ ।’


नागरिकहरूको राजनीतिक अधिकार र जीवनस्तरमा भने सुधार भइरहेको भन्दै उनले प्रशंसा गरेकी छन् । ‘सामाजिक–आर्थिक विकासले नेपालीको जीवनमा महत्त्वपूर्ण सुधार भएको छ,’ वेल्सको ब्रिफिङमा छ । उनले दक्षिण एसियाका भारत, पाकिस्तानलगायत सबै मुलुकबारे ब्रिफिङ गरेकी थिइन् ।


प्रकाशित : कार्तिक ६, २०७६ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?